Sidha News

Sidha News Believing that news is for everyone and all the people have an equal right to receive true and factual information at anytime, anywhere.

सहमति, सहकार्य र एकताको प्रतिबद्धतासहित सम्पन्न एनआरएनए अमेरिकाको १५औँ साधारणसभा अस्टिन (टेक्सस) । गैरआवासीय नेपाली संघ ...
20/07/2026

सहमति, सहकार्य र एकताको प्रतिबद्धतासहित सम्पन्न एनआरएनए अमेरिकाको १५औँ साधारणसभा

अस्टिन (टेक्सस) । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका विगत एक वर्षदेखि दुई फरक नेतृत्वमा विभाजित रहँदै आएको अवस्थामा टेक्ससको अस्टिन महानगर क्षेत्रअन्तर्गत पर्ने राउन्ड रकस्थित Holiday Inn Austin North–Round Rock मा आयोजित १५औँ वार्षिक साधारणसभा तथा नलेज कन्भेन्सन भव्य रूपमा सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले संस्थागत एकताको औपचारिक घोषणा गर्दै एनआरएनए अमेरिकाको इतिहासमा नयाँ अध्यायको सुरुवात गरेको छ।

अमेरिकाका विभिन्न राज्यबाट आएका प्रतिनिधि, पूर्व पदाधिकारी, समुदायका अगुवा, व्यवसायी, पत्रकार, युवा, महिला तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको सम्मेलनको शुभारम्भ राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि दुवै पक्षका अध्यक्ष सतेन्द्र साह र विकास उप्रेती ले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। लामो समयपछि एउटै मञ्चमा उभिएर संयुक्त रूपमा उद्घाटन गर्नु सम्मेलनको सबैभन्दा ऐतिहासिक र भावनात्मक क्षणका रूपमा हेरिएको थियो। उद्घाटन समारोहमा उपस्थित सहभागीहरूले लामो समयदेखि प्रतीक्षा गरिएको संस्थागत एकताको सन्देशलाई ताली बजाएर स्वागत गरेका थिए।

उद्घाटनअघि केही दिनदेखि दुवै पक्षबीच निरन्तर संवाद र छलफल चलेको थियो। सोही क्रममा १६ बुँदे सहमति भएपछि विकास उप्रेती नेतृत्वको कार्यसमितिले भर्चुअल बैठकमार्फत सहमतिलाई अनुमोदन गर्दै साधारणसभामा सहभागी हुने निर्णय गरेको थियो। शनिबार बिहान दुवै पक्षका पदाधिकारीहरूबीच जुममार्फत अन्तिम छलफलसमेत सम्पन्न भएको थियो।

भर्चुअल बैठकमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्मा लगायतका पदाधिकारीहरूले संस्थागत एकताको सफलताको शुभकामना व्यक्त गर्दै संस्थाको उद्देश्य प्राप्तिका लागि सबै पक्षबीच मन, विचार र व्यवहारमा एकता आवश्यक रहेको धारणा राखेका थिए।

उद्घाटन समारोहका प्रमुख अतिथि तथा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष अर्जुन बञ्जाडे ले संस्थाभित्र देखिएका असहमति र विवादलाई संवादमार्फत समाधान गर्दै साझा उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए। उनले साधारणसभाले विधानमा रहेका समस्याहरूलाई सहमतिका आधारमा सुधार गर्दै संस्थालाई अझ बलियो र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

विशिष्ट अतिथि सुनिल साह ले विश्वभर छरिएर रहेका करिब ८० लाख नेपालीको साझा संस्था एनआरएनएले प्रवासी नेपालीहरूको हकहितका साथै नेपालको आर्थिक, सामाजिक तथा बौद्धिक विकासमा अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे।

अध्यक्ष विकास उप्रेती ले संस्थाको प्रतिष्ठा, गरिमा र सदस्यहरूको भावनालाई सर्वोपरि राख्दै आवश्यक परे जुनसुकै त्याग गर्न आफू तयार रहेको उल्लेख गरे। उनले एकताको अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, पूर्व पदाधिकारी तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्प्रति आभार व्यक्त गरे।

सम्मेलनमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रविन बज्राचार्य, उपमहासचिव मोहमद मुक्तावा, सचिव देविका केसी, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष सीपी पौडेल, मेरिल्यान्ड राज्यसभाका डेमोक्र्याटिक उम्मेदवार सतीश चापागाईं, एनएसटीका अध्यक्ष विजय भूषाल, ग्रेटर अस्टिन नेपाली सोसाइटी (GANS) का अध्यक्ष पदम ठकुराठी, आदिवासी जनजाति महासंघका अध्यक्ष एपी शेर्पा लामा, न्यूयोर्क च्याप्टरका अध्यक्ष वासु लामिछाने, उपाध्यक्ष प्रदीप चौलागाईं र सुरेन्द्र लौडारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

त्यसैगरी नेपाल अमेरिका पत्रकार संघ (NEAJA) की कोषाध्यक्ष झरना अधिकारी ले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै प्रवासी नेपाली समुदायलाई जोड्ने अभियानमा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहने बताइन्। कार्यक्रमको सञ्चालन महासचिव मोहन न्यौपाने ले गरेका थिए।

दुई दिनसम्म सञ्चालन भएको साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, सदस्यता विस्तार, समुदाय सेवा, ज्ञान आदानप्रदान, युवा सहभागिता, उद्यमशीलता, संस्थागत सुदृढीकरण, विधान संशोधन तथा भावी कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले एनआरएनए अमेरिकालाई अझ समावेशी, पारदर्शी र प्रभावकारी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए।

सम्मेलनका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रेटर अस्टिन नेपाली सोसाइटी (GANS) ले सञ्चालन गरिरहेको समर स्कुलमा अध्ययनरत बालबालिकाको नेपाली भाषा तथा सांस्कृतिक शिक्षाका लागि १,५०० अमेरिकी डलर बराबरको सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो। आयोजकका अनुसार उक्त सहयोगले प्रवासमा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोड्ने अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

औपचारिक सत्रसँगै सम्मेलनमा विविध सांस्कृतिक कार्यक्रमले विशेष आकर्षण थपेका थिए। कार्यक्रमको सुरुवात नेपाली परम्पराअनुसार स्वागत (वेलकम) नृत्य बाट गरिएको थियो। त्यसपछि योग प्रदर्शन, रामकुमार महतो को नेतृत्वमा समर स्कुलमा अध्ययनरत बालबालिकाहरूले नेपाली भाषा, कला र संस्कृतिको झल्को दिने आकर्षक प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतिपछि आयोजकले सबै बालबालिकालाई ‘Token of Love’ प्रदान गर्दै थप हौसला प्रदान गरेको थियो।

गायिका देबिका केसी ले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकहरूको मन जितेकी थिइन् भने स्थानीय कलाकारहरूले बाजागाजासहित प्रस्तुत गरेको लोकदोहोरी तथा लोकगीत ले सम्मेलनलाई थप जीवन्त बनाएको थियो। त्यसैगरी चर्चित गायक हिमाल सागर ले आफ्नो चर्चित गीत “ए हो र माया” सहित अन्य लोकप्रिय गीतहरू प्रस्तुत गर्दै हलभरि उपस्थित सहभागीहरूलाई नाच्न र रमाउन सफल भएका थिए। उनको प्रस्तुतिमा सहभागीहरूले उत्साहपूर्वक साथ दिएका थिए

बाल्टिमोरमा गुञ्जियो नेपालीपन, ‘दोस्रो इनास किड्स ट्यालेन्ट शो २०२६’ भव्य सम्पन्नमेरिल्यान्डको बाल्टिमोरमा International...
03/06/2026

बाल्टिमोरमा गुञ्जियो नेपालीपन, ‘दोस्रो इनास किड्स ट्यालेन्ट शो २०२६’ भव्य सम्पन्न

मेरिल्यान्डको बाल्टिमोरमा International Nepali Artists Society (INAS) Maryland द्वारा आयोजित ‘दोस्रो इनास किड्स ट्यालेन्ट शो २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले प्रवासमा हुर्किरहेका नेपाली मूलका बालबालिकालाई नेपाली भाषा, कला, संस्कृति तथा पहिचानसँग जोड्ने उद्देश्य राखेको थियो।

इनास मेरिल्यान्डकी अध्यक्ष शान्ति भण्डारीको नेतृत्वमा सम्पन्न कार्यक्रममा बालबालिकाले गायन, नृत्य तथा नेपाली भाषा वक्तृत्वकलामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगितामा नृत्यतर्फ प्रतिष्ठा देवकोटा, गायनतर्फ आर्शिभ खनाल तथा नेपाली भाषा वक्तृत्वकलातर्फ कृपा ढकाल च्याम्पियन बने। कार्यक्रमकै अवसरमा ‘इनास कला केन्द्र’ स्थापना गर्ने घोषणा समेत गरिएको थियो।

प्रवासी नेपालीद्वारा विवादास्पद एनआरएन विधेयक फिर्ता लिन सरकारसँग मागअस्टिन, टेक्सास । अमेरिकास्थित प्रवास नेपाली सम्पर्...
05/05/2026

प्रवासी नेपालीद्वारा विवादास्पद एनआरएन विधेयक फिर्ता लिन सरकारसँग माग

अस्टिन, टेक्सास । अमेरिकास्थित प्रवास नेपाली सम्पर्क विभाग, अमेरिका (प्रवास नेपाली सम्पर्क विभाग, अमेरिका) ले प्रस्तावित ‘गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा समावेश केही प्रावधानप्रति गम्भीर असहमति जनाउँदै उक्त विधेयक तत्काल फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ। विभागले उक्त विधेयकले विश्वभर रहेका लाखौं प्रवासी नेपालीहरूको मातृभूमिप्रतिको सम्बन्ध, सपना, आकांक्षा र भविष्य योजनामाथि प्रत्यक्ष असर पार्ने जनाएको छ।

विभागले ज्ञापनपत्रमार्फत विदेशमा रहेका नेपालीहरूको “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने भावनात्मक सम्बन्धलाई राज्यले सम्मान गर्नुपर्ने उल्लेख गर्दै वंशजको नागरिकताको निरन्तरता सुनिश्चित हुने कानूनी व्यवस्था गर्न आग्रह गरेको छ। साथै, नेपाल नागरिकता ऐनका विद्यमान व्यवस्थाले विदेशमा रहेका नेपाली मूलका नागरिकहरूको अधिकार र पहिचानमा जटिलता सिर्जना गरेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराएको छ।

यसैक्रममा मे ४ मा Dallas स्थित नेपाली वाणिज्यदूत कार्यालयमा विभागको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको छ। केन्द्रीय सदस्य सागर रोकाय, आशिष मिश्र, केशव थपलिया लगायत टेक्सास च्याप्टरका अध्यक्ष डा. रबिन पाठकको नेतृत्वमा गएको टोलीले सरोकारवालाहरूको सुझाव समेटेर प्रवासी नेपालीहरूको आकांक्षाअनुरूप वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्ने मैत्रीपूर्ण विधेयक ल्याउन सरकारसँग आग्रह गरेको जनाएको छ।

ज्ञापनपत्रमा विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई गैरआवासीय नेपालीको सीमित परिभाषाभित्र मात्र नराखी उनीहरूको ऐतिहासिक, भावनात्मक र नागरिक अधिकारलाई सम्मान गर्दै व्यवहारिक र न्यायपूर्ण नीति ल्याउनुपर्नेमा जोड दिइएको छ।

देश नयाँ पुस्ताको हातमा: पीडाबाट परिवर्तनतर्फको नयाँ अध्यायनेपालको राजनीतिक परिदृश्य अहिले इतिहासकै महत्वपूर्ण मोडमा उभि...
27/03/2026

देश नयाँ पुस्ताको हातमा: पीडाबाट परिवर्तनतर्फको नयाँ अध्याय

नेपालको राजनीतिक परिदृश्य अहिले इतिहासकै महत्वपूर्ण मोडमा उभिएको छ। लामो समयदेखि पुराना संरचना, परम्परागत सोच र कमजोर शासन प्रणालीले निर्देशित हुँदै आएको देश अब क्रमशः नयाँ पुस्ताको जिम्मेवारीतर्फ हस्तान्तरण हुँदैछ। यो परिवर्तन केवल नेतृत्वको परिवर्तन मात्र होइन, सोच, कार्यशैली र भविष्यप्रतिको दृष्टिकोणमा आएको गहिरो रूपान्तरण हो।

दशकौँसम्म नेपालले राजनीतिक अस्थिरता, भ्रष्टाचार, ढिलासुस्ती र परिणामविहीन शासनको सामना गर्‍यो। विकासका सम्भावनाहरू हुँदाहुँदै पनि देश अपेक्षित गतिमा अघि बढ्न सकेन। आर्थिक रूपमा कमजोर बन्दै गएको अवस्था, रोजगारीको अभाव र अवसरको कमीका कारण लाखौँ युवाहरू बाध्य भएर विदेशिनु पर्‍यो। आफ्नै देशमा सम्भावना नदेखेर विदेशिनु परेको पीडा आज पनि हरेक नेपाली परिवारको साझा अनुभव बनेको छ।

विगतका दिनहरूमा भएका आन्दोलनहरू, जनताको आवाज दबाइएका घटनाहरू र निर्दोष नागरिकमाथि भएका दमनले राज्यप्रति जनताको विश्वास कमजोर बनायो। कतिपय निर्णयहरू सत्ताको संरक्षणका लागि लिइए, जसको मूल्य जनताले आफ्नै जीवन गुमाएर तिर्नुपर्‍यो। जेनजी आन्दोलन जस्ता घटनाहरूले यो यथार्थलाई अझ स्पष्ट रूपमा उजागर गरे। युवाहरूको नेतृत्वमा उठेको आवाजले सुशासन, पारदर्शिता र उत्तरदायित्वको माग गर्‍यो, तर त्यस क्रममा भएका हिंसात्मक घटनाहरू र ज्यान गुमाएका निर्दोष नागरिकहरूले राष्ट्रलाई गहिरो पीडामा छोडेका छन्।

यति मात्रै होइन, देशका दुर्गम क्षेत्रहरूमा वर्षौंदेखि देखिँदै आएको पीडा झन् फरक स्वरूपमा प्रकट भएको छ। हुम्ला, जुम्ला, कालिकोट जस्ता विकट जिल्लाहरूमा सामान्य सिटामोल नपाएर ज्यान गुमाउनुपरेका घटनाहरू हामीले बारम्बार सुनेका छौँ। बिहान स्कूल जान निस्केका बालबालिका, घाँस काट्न, गोठालो जान, खेतबारीमा काम गर्न वा पानी लिन गएका आमा–बुवा पहिरोले पुरिएका, खोलाले बगाएका वा दुर्घटनामा परेर ज्यान गुमाएका खबरहरू नयाँ होइनन्। यस्ता घटनाहरूले देखाउँछ कि देशको विकास र राज्यको पहुँच अझै पनि सबै ठाउँमा समान रूपमा पुगेको छैन।

नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोण एउटै हुनुपर्छ भन्ने कुरा यहीँबाट झन् स्पष्ट हुन्छ। चाहे सहर होस् वा गाउँ, पहुँच भएको ठाउँ होस् वा विकट क्षेत्र — राज्यको सेवा, सुरक्षा र संवेदनशीलता सबै नागरिकप्रति समान हुनुपर्छ।

तर यिनै पीडादायी अनुभवहरूले परिवर्तनको आधार तयार पारेका छन्। आज देश नयाँ दिशातर्फ अघि बढ्ने अवसरमा उभिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा, गृहमन्त्री सुदन गुरुङ लगायत नयाँ पुस्ताका नेतृत्वकर्ताहरूले देशको बागडोर सम्हालेका छन्। यो नेतृत्व ऊर्जा, स्पष्ट दृष्टिकोण र परिणाममुखी कार्यशैलीको प्रतिनिधित्व गर्दछ।

अबको लक्ष्य देशलाई कुनै अन्य राष्ट्रको प्रतिलिपि बनाउने होइन, नेपाललाई आफ्नै पहिचान, आफ्नै सम्भावना र आफ्नै क्षमताअनुसार विकसित बनाउने हो। प्राकृतिक रूपमा सुन्दर, सांस्कृतिक रूपमा समृद्ध र जनशक्तिका हिसाबले सक्षम नेपाललाई सही नीति, सही नेतृत्व र प्रभावकारी कार्यान्वयनले विश्वमै उदाहरणीय राष्ट्र बनाउन सकिन्छ।

अब शासन प्रणालीमा वास्तविक परिवर्तन देखिनुपर्छ। सेवा प्रवाह छिटो, सरल र पारदर्शी हुनुपर्छ। भ्रष्टाचारका हरेक रूपमाथि कडा कारबाही हुनुपर्छ। बलात्कार, हत्या र हिंसा जस्ता जघन्य अपराधमा कुनै पनि सहनशीलता हुनुहुँदैन। दोषी जोसुकै भए पनि कानुनको दायरामा ल्याई कडा सजाय दिनुपर्छ। न्याय, सुरक्षा र समानता बिना कुनै पनि समाज समृद्ध हुन सक्दैन।

उद्योग, व्यापार, कृषि र उद्यमशीलताको विकासमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ, ताकि विदेशिन बाध्य भएका नेपालीहरूलाई आफ्नै देश फर्किने वातावरण निर्माण होस्। गाउँदेखि शहरसम्म जनताको वास्तविक समस्या बुझेर समाधान गर्ने शासन प्रणाली विकास गर्नु आजको आवश्यकता हो। नेता अब केवल पदमा बस्ने व्यक्ति होइन, जनताको सेवा गर्ने सच्चा प्रतिनिधि बन्नुपर्छ।

हामीले विगतमा धेरै गुमाएका छौँ — समय, अवसर र विश्वास। तर अहिले फेरि एउटा महत्वपूर्ण अवसर आएको छ, देशलाई सही दिशामा लैजाने। जनताले दिएको विश्वास, मत र आशा अब परीक्षणको चरणमा छ। नयाँ पुस्ताको नेतृत्वले अब काम गरेर देखाउनुपर्छ, परिणाम दिनुपर्छ र जनताको भरोसा जित्नुपर्छ।

अब देश कसैको प्रभावमा होइन, आफ्नै पहिचानमा अघि बढ्नुपर्छ। नेपाललाई अरू देशसँग तुलना गरेर होइन, आफ्नै मौलिकता, आफ्नै शक्ति र आफ्नै सम्भावनाका आधारमा अगाडि बढाउनुपर्छ।

अन्ततः, देश अब नयाँ पुस्ताको हातमा मात्र होइन, उनीहरूको पूर्ण जिम्मेवारीमा पुगेको छ। यही जिम्मेवारीले नेपालको भविष्य निर्धारण गर्नेछ। यदि यो अवसरलाई सही रूपमा प्रयोग गर्न सकियो भने, नेपाल केवल परिवर्तनको कथा मात्र होइन, सफलताको उदाहरण बन्न सक्छ।

परिवर्तनको घण्टी’ बजाउँदै प्रणाली सुधारको एजेन्डा अघि सार्दै मानबहादुर शाहीरुकुम पश्चिम — आगामी आम निर्वाचन २०८२ नजिकिँद...
02/03/2026

परिवर्तनको घण्टी’ बजाउँदै प्रणाली सुधारको एजेन्डा अघि सार्दै मानबहादुर शाही

रुकुम पश्चिम — आगामी आम निर्वाचन २०८२ नजिकिँदै गर्दा मान बहादुर शाही ले ‘परिवर्तनको घण्टी’ शीर्षकमा सार्वजनिक सन्देशमार्फत प्रणाली सुधार र सुशासनलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सार्नुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति तथा रुकुम पश्चिमका संघीय सांसद उम्मेदवार शाहीले यो निर्वाचनलाई सामान्य राजनीतिक प्रतिस्पर्धा नभई “राजनीतिक संस्कार सुधार्ने दुर्लभ अवसर”का रूपमा व्याख्या गर्नुभएको छ।

उहाँले तीन दशकदेखि दोहोरिँदै आएको अस्थिरता, कमजोर संस्था, महँगो निर्वाचन प्रणाली, पहुँच–प्रभावको राजनीति र उत्तरदायित्वको अभावले देशको सम्भावनालाई रोकिरहेको उल्लेख गर्नुभएको छ। अब सिटको गणितभन्दा पनि प्रणाली सुधार प्राथमिक हुनुपर्ने उहाँको धारणा छ।

शाहीले संस्थागत सुदृढीकरण, पारदर्शिता, जवाफदेहिता र मेरिट प्रणालीलाई स्थायी सुधारका आधारस्तम्भका रूपमा प्रस्तुत गर्नुभएको छ। “दलले दोहन गर्ने राज्य होइन, नागरिकको सेवा गर्ने राज्य हुनुपर्छ” भन्ने उल्लेख गर्दै उहाँले प्रशासनलाई पेशागत र उत्तरदायी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

आर्थिक दृष्टिले उहाँले उत्पादन र उत्पादकत्व वृद्धि, उद्यमशील युवालाई अवसर, साना व्यवसायलाई सहजीकरण, लगानी प्रवर्द्धन तथा आर्थिक अपराधमाथि कडाइ गर्ने नीति अघि सार्नुभएको छ। सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमार्फत परिश्रम गर्ने नागरिकलाई सम्मान र परिणाम दिने राज्य निर्माण गर्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ।

डिजिटल शासनलाई पनि प्राथमिकतामा राख्दै शाहीले “लाइनमा होइन, अनलाइनमा सेवा”को अवधारणा अघि सार्नुभएको छ। प्रविधिमार्फत पारदर्शिता, दक्षता र कम लागतमा सेवा प्रवाह गर्ने लक्ष्य उल्लेख गरिएको छ।

“यो चुनाव केवल सिटको गणित होइन; यसले भविष्यको दिशानिर्देश गर्नेछ,” भन्दै शाहीले कुशासनको निरन्तरता वा सार्थक परिवर्तनमध्ये एक रोज्ने समय आएको बताउनुभएको छ।

उहाँले आफूहरू पूर्ण नभए पनि प्रतिबद्ध रहेको उल्लेख गर्दै गल्ती भए सुधार्ने तर पुरानो भ्रष्ट संस्कार नदोहोर्‍याउने अठोट व्यक्त गर्नुभएको छ।

अस्टिनमा नबिन के. भट्टराई र द एट्रिप्टाको लाइभ कन्सर्ट भव्य रूपमा सम्पन्नअस्टिन, टेक्सास अस्टिनमा हिजो साँझ नेपाली संगीत...
29/01/2026

अस्टिनमा नबिन के. भट्टराई र द एट्रिप्टाको लाइभ कन्सर्ट भव्य रूपमा सम्पन्न

अस्टिन, टेक्सास
अस्टिनमा हिजो साँझ नेपाली संगीतका चर्चित कलाकार नबिन के. भट्टराई र द एट्रिप्टाको लाइभ कन्सर्ट भव्यताका साथ सफल रूपमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना नेप्लिकन इन्टरटेन्मेन्टले गरेको हो।

कार्यक्रम किङडम नाइट क्लब, १२३ मेन स्ट्रीट, अस्टिन, टेक्सासमा सम्पन्न भएको थियो। कार्यक्रमको संयोजन खुशबु उप्रेदी र समय उप्रेदीले गरेका थिए। साँझ ६ बजे ढोका खुलेको कार्यक्रममा मुख्य प्रस्तुति साँझ ७ बजेदेखि सुरु भएको थियो।

लामो समयपछि अस्टिनमा नेपाली दर्शकहरूको उल्लेख्य उपस्थिति देखिनुका साथै कार्यक्रम निकै दमदार बनेको थियो। नबिन के. भट्टराई र द एट्रिप्टाका लोकप्रिय गीतहरू आँखामा तिमीलाई, साँझ पाखा, रात बित्यो, तिमीले हेरदा, सायद तिमी नै, दोबाटोमा, खडाइ नभएको, तिमीलाई मन पार्छु लगायतका गीतहरूमा दर्शकहरू खुलेर नाचगान गर्दै झुमिरहेका देखिन्थे।

कार्यक्रम शान्त, सुरक्षित र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। उपस्थित दर्शकहरूले कार्यक्रमको खुलेर प्रशंसा गर्दै आयोजकप्रति खुशी व्यक्त गरेका थिए। धेरै समयपछि अस्टिनमा यसरी ठूलो सांगीतिक कार्यक्रम सफल रूपमा सम्पन्न हुँदा दर्शकहरूको मुहारमा स्पष्ट हर्ष र उत्साह देखिन्थ्यो।

आयोजक खुशबु उप्रेदीका अनुसार, अस्टिनमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो। उनले कार्यक्रममा साथ दिने सम्पूर्ण दर्शक, कलाकार तथा सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने बताइन्।

अस्टिनमा आज साँझ नबिन के. भट्टराई र द एट्रिप्टाको लाइभ कन्सर्टअस्टिन, टेक्सास – आज साँझ अस्टिनमा नेपाली संगीतका चर्चित क...
28/01/2026

अस्टिनमा आज साँझ नबिन के. भट्टराई र द एट्रिप्टाको लाइभ कन्सर्ट

अस्टिन, टेक्सास – आज साँझ अस्टिनमा नेपाली संगीतका चर्चित कलाकार नबिन के. भट्टराई र द एट्रिप्टा को लाइभ कन्सर्ट आयोजना हुँदैछ। कार्यक्रमको आयोजना नेप्लिकन इन्टरटेन्मेन्ट ले गरेको हो।

कार्यक्रम किङडम नाइट क्लब, १२३ मेन स्ट्रीट, अस्टिन, टेक्सास मा हुने छ। कार्यक्रमको संयोजन खुशबु उप्रेदी र समय उप्रेदी ले गरेका छन्। कार्यक्रमको ढोका साँझ ६ बजे खुल्नेछ, र मुख्य कार्यक्रम साँझ ७ बजे सुरु हुनेछ।

भौतिक टिकट सैलिको बुटिक र शुद्ध मार्ट बाट प्राप्त गर्न सकिन्छ। साथै, निम्तो नेपाली किचन ले खानाको व्यवस्था गरेको छ।

उपस्थित दर्शकहरूले नबिन के. भट्टराई र द एट्रिप्टा का केही चर्चित गीतहरूको प्रत्यक्ष मनोरञ्जन लिन सक्ने अवसर पाउनेछन्। दर्शकहरूले यी गीतहरू निकै रुचाएका थिए:

आँखामा तिमीलाई
साँझ पाखा
रात बित्यो
तिमीले हेरदा
सायद तिमी नै
दोबाटोमा
खडाइ नभएको
तिमीलाई मन पार्छु

आयोजक खुशबु उप्रेदी का अनुसार, अस्टिनमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई लक्षित गरी नेपाली सांगीतिक माहोलमा रमाइलो अनुभव दिलाउन सबै तयारी पूरा गरिएको छ। उनले सबै दर्शकहरूलाई कार्यक्रममा सहभागी भएर कार्यक्रम सफल बनाउन आग्रह गरेकी छन्।

डलासमा NEAJA कार्यक्रम: कन्सुलर सेवा र मिडियाबीच सहकार्यमा छलफलसमाना देवकोटा — नेपाल–अमेरिका पत्रकार संघ (NEAJA) का अध्य...
31/12/2025

डलासमा NEAJA कार्यक्रम: कन्सुलर सेवा र मिडियाबीच सहकार्यमा छलफल

समाना देवकोटा — नेपाल–अमेरिका पत्रकार संघ (NEAJA) का अध्यक्ष सुरज भण्डारी को अध्यक्षतामा डलासमा “Consular Service and the Role of Media” विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सोमबार, २९ डिसेम्बर २०२५ मा साँझ ६ बजे Dallas, TX मा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नेपाली समुदायका पत्रकारहरू, वाणिज्य तथा कन्सुलर सेवामा कार्यरत उच्च अधिकारीहरू र NEAJA का सदस्यहरूको उल्लेखनीय उपस्थिति रह्यो।

कार्यक्रमको मुख्य उद्देश्य कन्सुलर सेवा र सञ्चार माध्यमबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने तथा आपसी समझदारी बलियो बनाउनु भएको महावाणिज्यदूत सुरेश अधिकारी ले बताउनुभयो। अनौपचारिक ढंगले सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले कन्सुलर सेवाको भूमिका, सञ्चार माध्यमको जिम्मेवारी र समुदायप्रतिको उत्तरदायित्वबारे खुला छलफल गरेका थिए।

कार्यक्रमका मुख्य आकर्षणहरूमा पत्रकार र कन्सुलर टोलीको परिचय, नेटवर्किङ, कन्सुलर सेवाको प्रस्तुतीकरण, “सञ्चार माध्यमले सेवा प्रवर्द्धनमा कस्तो भूमिका खेल्न सक्छन्, जनचेतना बढाउने विचार र सही जानकारी प्रवाह” सम्बन्धी छलफल, नयाँ वर्ष २०२६ का शुभकामना आदिको साथै डिनर र अनौपचारिक अन्तरक्रियासमेत रहेका थिए।

कार्यक्रममा NEAJA का वर्तमान अध्यक्ष सुरज भण्डारी, कोषाध्यक्ष झरना अधिकारी, पूर्व अध्यक्ष हरिहर विरही, साथै सहभागी पत्रकार र NEAJA का सदस्यहरू नारायण पुरी, नारायण भाब्दारी, डि.बी. रावत, ओम आचार्य, सुमन गैरे, सुरेश दर्पण, भिमन राज ढकाल, समाना देवकोटा लगायत अन्य पत्रकारहरूको सहभागिता उल्लेखनीय रह्यो।

कार्यक्रममा कन्सुलर अफिसका वरिष्ठ पदाधिकारीहरू विशेष सहभागीका रूपमा उपस्थित थिए, जसमा महावाणिज्यदूत सुरेश अधिकारी, उपमहावाणिज्यदूत तथा गुनासो सुन्ने अधिकारी धना कुमारी जोशी, वाणिज्यदूत तथा प्रवक्ता/सूचना अधिकारी प्रवीण भट्टराई, र उपवाणिज्यदूत हरिमाया अधिकारी रहेका थिए।

कार्यक्रममा कन्सुलर सेवाका प्रमुख उद्देश्यहरू पनि प्रस्तुत गरिएका थिए, विशेषगरी अमेरिकामा रहेका नेपाली नागरिकका लागि। यसमा नेपाली नागरिकलाई पासपोर्ट र अन्य कन्सुलर सेवा प्रदान गर्नु, नेपाल–अमेरिका बीच व्यापार, लगानी, पर्यटन, प्रविधि आदानप्रदान प्रवर्द्धन गर्नु, अमेरिकामा रहेका नेपालीहरूको हित र कल्याण प्रवर्द्धन गर्नु, नेपाल–अमेरिका बीच जनस्तरको सम्बन्ध प्रवर्द्धन गर्नु र नेपालको पहिचान तथा गरिमा बढाउनु समावेश छ।

कार्यक्रममा सहभागीहरूले यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले पत्रकार र कन्सुलर कार्यालयबीच समन्वय बढाउने, सूचना प्रवाह सहज बनाउने र अमेरिकी नेपाली समुदायलाई प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। महावाणिज्यदूत सुरेश अधिकारी का अनुसार, “हाम्रो प्राथमिकता स्थानीय नेपाली समुदायलाई उत्कृष्ट सेवा उपलब्ध गराउनु हो। सेवा लिन आएका कुनै पनि नागरिकलाई रित्तो हात फर्काइने छैन।”

अधिकारीक अनुसार, कन्सुलर टोली र उनीहरूको कार्यबारे थप जानकारीका लागि प्रवीण भट्टराईसँग सम्पर्क गर्न सकिने बताउनुभयो।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sidha News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share