02/09/2026
भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष मोन्लाम पाठ तथा दीप प्रज्वलन कार्यक्रमको झलक।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल बौद्ध महासंघले बौद्ध महाचैत्य परिसरमा मंगलबार विशेष मोन्लाम पाठ, दीप प्रज्वलन तथा पूजा कार्यक्रम सम्पन्न गरेको छ ।
गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीको पहिलो सप्ताहको पुण्यतिथिको अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बाढीमा परी अकालमै ज्यान गुमाएकाहरूको चित्त शान्ति, बेपत्ता भएकाहरूको सकुशल उद्धार र प्रभावित परिवारको उचित राहत एवम् पुनस्थापनाका लागि सामूहिक प्रार्थना गरियो ।
विभिन्न गोन्पाका रिन्पोछे, टुल्कु, खेन्पो, लोपोन, लामा, आनीका साथै बौद्ध संघ संस्थाका प्रतिनिधि तथा ठूलो संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा दिवङ्गत चित्तहरू भय, अन्योल र दुर्गतिबाट मुक्त भई सुखवती भूमिमा पुनर्जन्म प्राप्त गरून् भन्ने धार्मिक कामनासहित श्रद्धाञ्जलीस्वरूप दीप प्रज्वलन र मोन्लाम पाठ गरिएको महासंघले जनाएको छ ।
प्राकृतिक विपत्तिका कारण उत्पन्न दुःखद घडीमा सम्पूर्ण प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै महासंघले उद्धार, राहत र खोजी कार्यलाई अझ प्रभावकारी बनाउन सम्बद्ध निकायहरूसँग आग्रह समेत गरेको छ ।
Sherpa Times