31/08/2026
सयौँ नदी बोकेको देश। भूकम्पको धाँजामाथि उभिएको देश। जहाँ हरेक मनसुन एउटा सम्भावित शोक हो। यस्तो देशसँग आफ्नै स्थायी, तालिम पाएको र सुसज्जित उद्धार बल किन छैन। किनकि यो कहिल्यै हाम्रो माग बनेन। सुरुङ युगमा प्रवेश गर्यौँ भनेर छाती फुलायौँ, तर त्यही सुरुङभित्र मान्छे फसे भने निकाल्ने हात र हतियार छ कि छैन भनेर चासो राखेनौँ। आयोजनाको क्षमता मेगावाटमा गन्यौँ। भित्र काम गर्ने मजदुरको ज्यानको जोखिम कहिल्यै गनेनौँ। आज हामी सोधिरहेका छौँ, उद्धार किन ढिलो भयो। जोखिमको तयारीमा हामी किन यति फितलो छौँ भनेर बुधबारअघि हामीले मुख खोलेनौँ।
हाम्रै त्यो मौनताको मूल्य आज उद्धारकर्मीले चुकाइरहेका छन्। माथिल्लो त्रिशूली आयोजनाको सुरुङमा नेपाली सेनाको टोली मोबाइलको टर्च र सिट्टीको भरमा भित्र पस्यो। बाहिर सिपाहीहरू खाली हातले हिलो पन्छाइरहेका छन्। ढुंगा फोर्ने उपकरण देशमै नभएपछि भित्र फसेकाहरूले दिन गनेर बस्नुबाहेक विकल्प रहेन। पाँच देखि बीस किलो बोक्न सक्ने ड्रोन नेपालभर चार वा पाँचवटा मात्र छन्। उद्धारकर्मीको साहसमा कमी छैन। कमी हामीले तिनको हातमा थमाइदिएको सामानमा छ।
बुधबार बिहानदेखि भने हामी सबै विज्ञ भयौँ। कसैले हिमनदी फुट्ने विज्ञान बुझायो, कसैले सुरुङ उद्धारको प्रविधि सिकायो, कसैले उद्धार किन ढिलो भयो, त्यसको निचोड पाँच मिनेटमै निकाल्यो। नेपाल फ्याक्ट चेकले अलास्काको कोलम्बिया हिमनदीको पुरानो भिडियो रसुवाको भनेर फैलिरहेको भेट्टायो। प्रेस काउन्सिल नेपालले चार दिनमा ७२ वटा खातालाई अमानवीय सामग्री हटाउन निर्देशन दियो।
यही ऊर्जा हामीले पहिले लगाएको भए आजको कथा फरक हुने थियो। कहिल्यै सोधेनौँ, राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सुरुङ फोर्ने कतिवटा उपकरण छन्। कहिल्यै सोधेनौँ, जल तथा मौसम विज्ञान विभागले उच्च जोखिममा रहेका नदीहरूमा चौबीसै घण्टा चल्ने स्वचालित निगरानी र चेतावनी प्रणाली किन जडान गरेन। कहिल्यै सोधेनौँ, आफ्नै पालिकाले जोखिम तयारीको बजेट कहाँ खर्चियो। कुनै जनप्रतिनिधिलाई यो कुरा संसदमा उठाऊ भनेर हामीले दबाब दिएनौँ।
अनि आफ्नै व्यवहार हेरौँ। जोखिम नक्सामा रातो देखिएकै किनारमा घर उठायौँ। नदी छेउछाउ बाटो खन्यौँ। चेतावनी आउँदा त्यसलाई झन्झट ठान्यौँ, सरकारको बहाना ठान्यौँ, अरूका लागि मात्र हो ठान्यौँ। नियम आफ्नो स्वार्थमा बाधा पर्दा मात्र सम्झियौँ। यो सरकारको असफलता हुनुभन्दा पहिले हाम्रै असफलता हो।
अब हामीले तय गर्ने पालो हो, कस्तो नागरिक हुने। सबै सकिएपछि जाग्ने कि पहिले नै हिसाब माग्ने ? आफ्नै घर बग्दा मात्र चेतावनी पत्याउने कि हरेक चेतावनीलाई पहिलो पटकमै गम्भीरतासाथ लिने ? पीडा सेलाएपछि सबै बिर्सने कि यसपालि नबिर्सने ?
रसुवाले हामीलाई ऐना देखाएको छ। त्यो ऐनामा सरकारको अनुहार मात्र छैन, हाम्रो पनि छ।