02/03/2017
रवीन्द्रजी नमस्कार, एकदम अनौपचारिक कुरा लेखिरहेछु । यसलाई अनौपचारिक किसिमले नै बुझिदिनुहोला । तपाईँजत्तिको बौद्धिक, चिन्तनशील, जुझारु, समाजसेवी, कुशल पत्रकारले रोज्नुभएको राजनीतिक बाटो र आगामी गन्तव्य सुखद्, सार्थक र सिर्जनामुखी बन्न सकोस्, हार्दिक शुभेच्छा प्रकट गर्दछु । यो देशमा नीति चाहिएको हो, नेता चाहिएको होइन भनेर सामाजिक सञ्जालमा व्यापक टीका टिप्पणी भएको देखेपछि मैले यो पत्र लेखेको हुँ । मलाई लाग्छ, यो देशमा कोही पनि नेता हुन सकेनन्, भीडहरुका नाइके मात्रै भए, नेता भएनन् । तिनै नाइकेहरुले बनाएको अदूरदर्शी नीति र त्यसैको प्रत्यक्ष प्रभावका कारण हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक संरचना निर्माण हुन पुग्यो र मुलुकको भाग्य, भविष्य अँध्यारो खाडलतर्फ भासियो । नेपाली जनता वाक्कदिक्क हुनुका खास कारण यिनै हुन्, जसबारे तपाईँ पूर्ण जानकार हुनुहुन्छ । असल नेता कोही बन्न सकेमा असल नेताबाटै असल नीति बन्छ । र, असल नीतिले असल समाज र राष्ट्रको परिकल्पनालाई साकार पार्न सक्छ । यो सम्भावना मैले तपाईँमा देखेको छु । वि.सं. २००७ को प्रजातन्त्र प्राप्ति, ०३६ को जनमत संग्रह, ०४६ को जनआन्दोलन, ०६२÷०६३ को दोस्रो जनआन्दोलन, लोकतान्त्रिक गणतन्त्र र संविधान प्राप्ति कसैले पनि नेपाली जनताको जीवनस्तर माथि उकास्ने खासै पहल गर्न सकेको देखिँदैन । सयौँ राजनीतिक पार्टीहरुको पनि स्थापना भयो तर, अरु त परै जाओस्, डा. बाबुराम भट्टराईको नयाँ शक्तिबाट भए पनि नेपाली जनताले ठूलो आशा गरेका थिए । तर, ती सबैसबै केवल नेतृत्वकर्ताहरुको आफ्नै उन्नयनका लागि खोलिएको पार्टीको रुपमा देखियो । जनताको पक्षमा खोइ के भयो ? रवीन्द्रजी, मैले बुझेसम्म राजनीतिमा लागेर धेरै पैसा कमाऊँ, आफ्नै लागि केही गरौँ, आफैँ माथिल्लो ओहदामा पुगौँ भन्ने खालको सुखलिप्सा तपाईँमा छैन । तपाईँ स्वच्छ छवि भएको मान्छे, विशुद्ध सामाजिक सेवा गर्न चाहनुहुन्छ । तपाईँ देशमा आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन चाहनुहुन्छ । तपाईँले निःस्वार्थ भावनाले सामाजिक सेवा गरिरहनुभएको पनि छ । यसरी हेर्दा तपाईँको सोच महान् छ । म तपाईँको सोचलाई सलाम गर्छु । तर, सोच र संगठन फरकफरक कुरा हुन् । सोचले मात्रै संगठन चल्दैन । हुन त म कुनै भविष्यद्रष्टा वा योजनाकार होइन । तर, मेरो अध्ययनले यो भन्छ कि, देशको उन्नतिका लागि तपाईँजत्तिको मान्छेले नयाँ पार्टी खोलेर राष्ट्रिय राजनीतिको मूलधारमा नयाँ खम्बा गाड्नको निमित्त देशको समग्र पक्षको विकासका निम्ति युवावर्गलाई परिचालित गर्न सक्नुपर्छ । नत्र, तपाईँको यात्रा पनि दलदले सिमसारमा भासिन्छ । व्यक्तिसँग समाजको हार्दिकता, समाजसँग राष्ट्रको सान्निध्य र राष्ट्र–राष्ट्रको सामूहिक स्पन्दन हो– अन्तर्राष्ट्रिय उचाइ र अस्तित्व । गर्नु र गराउनु, हाँस्नु र हँसाउनु, हिँड्नु र हिँडाउनु अनि उन्नतिका प्रवाहहरुमा पौरख र पसिनाका नीला रङ बगाउँदै विजयको शिखरतर्फ उक्लनु स्वाभाविक प्रक्रिया हुन् । विश्वासको स्वच्छन्दताले व्यक्तित्व विकास, व्यक्तिव्यक्तिको कर्मशील अनुरागले समाजको विकास, सामाजिक रुपान्तरणको सुसेलीले राष्ट्रको विकास र राष्ट्रराष्ट्रको अन्तर्सम्बन्धित साथ, सहयोग र सहकार्यले विश्वको विकास नै बहुमान्य रेखागणितको धर्सा हो । मलाई लाग्छ, तपाईँको साझा पार्टीले यही साझा कुरालाई अवश्य हृदयंगम गरेको छ । पछिल्लो सर्वेक्षणको तथ्याङ्कलाई आधार मानेर हेर्दा देशको समग्र जनसङ्ख्याको उनन्चालीस प्रतिशत व्यक्तिहरु युवावर्गभित्र पर्दछन् । सङ्ख्यात्मक दृष्टिले मात्रै युवावर्गलाई महङ्खवपूर्ण मानिएको होइन । सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणका शक्ति एवं उन्नति–प्रगतिका लागि परिवर्तनको संवाहक शक्तिका रुपमा समेत युवावर्गलाई स्वीकार गरिएको पाइन्छ । अध्ययन, अनुभव, कामप्रतिको लगनशीलता, कर्तव्यनिष्ठ स्वभाव, दृढ अठोट, साहसिक सङ्कल्प, सिर्जनशील तथा आत्मविश्वासीपनले ओतप्रोत हुने हुँदा राज्यको उज्यालो मुहारको परिकल्पनाका खातिर युवावर्गलाई देशको मुटु मान्ने गरिएको हो । युवाहरुमा अन्तर्निहित जोस, जाँगर, कार्यशैलीलगायतका पक्षहरुलाई व्यवहारमा ल्याउने र राज्यलाई विकासको गतितर्फ मार्गप्रशस्त गर्ने उत्कट अभिलाषाले यो पार्टी खोल्नुभएको हो भने तपाईँको मात्रै होइन, सारा जनताको भविष्य म उज्ज्वल देख्दछु । राज्यको प्रमुख धरोहरकै रुपमा स्वीकार गरिएको युवावर्गका आधारभूत मूल्य–मान्यताको प्रवद्र्धन गर्नु तपाईँको पार्टीको दायित्व हुनुपर्दछ । राष्ट्रप्रतिको भक्तिपूर्ण समर्पण, राष्ट्रियताप्रतिको अथक, अविचलित र जिम्मेवारीपूर्ण लगनशीलताका साथै जनताप्रतिको इमानदारी र बफादारी भावना जागृत गराई युवावर्गलाई साँच्चिकै राष्ट्रको मूल धारमा समाहित गर्नु आजको टड्कारो आवश्यकता रहेको कुरा घामजत्तिकै छर्लङ्ङ छ । यसका लागि देशमा तपाईँको पार्टीले नयाँ युवा नीतिहरुको तर्जुमा गरेर यसलाई पूर्णतः कार्यान्वयन गर्न सके सुन्दर राष्ट्रको परिकल्पना अवश्य साकार हुनेछ । जाति, भाषा, सम्प्रदाय एवं प्राकृतिक तथा वातावरणीय संरक्षण, संवद्र्धन गर्दै सह–अस्तित्वको सुन्दर खम्बा निर्माण गर्न होस् या विश्वव्यापी मानवाधिकारको लहरोमा तरङ्गित भएर समानतामूलक वितरणलाई अङ्गीकार गर्दै संवैधानिक सर्वोच्चता, वैयक्तिक स्वतन्त्रता एवं लोकतान्त्रिक मूल्य–मान्यतालाई फुलाउन फलाउन होस्, जहीँतहीँबाट युवाशक्तिको परिचालनमा तपाईँको पार्टी अग्रसर हुनु जरुरी छ । युवाशक्ति भनेको बगिरहेको खोलाको भङ्गालो हो । जसलाई उचित तवरले सिँचाइ गरेर टारी, फाँट र गराहरुमा पु¥याउन सके सुनका बालाहरु झुल्छन् भने मूल प्रवाहमा ल्याउन नसके बगेर त्यत्तिकै खेर जान पनि सक्छन् । देशमा हुने गरेका विविध राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका सामूहिक आन्दोलनहरुमा युवावर्गको भूमिका अतुलनीय रहँदै आएको छ । भौगोलिक विकटता, क्षेत्रिय, वर्गीय, जातीय तथा लैङ्गिक आधारमा पछाडि परेका युवा जनशक्तिलाई राज्यको केन्द्रमा केन्द्रिकृत गर्नु आवश्यक छ । त्यसै गरी जोखिममा परेका, अपाङ्गता भएका तथा द्वन्द्वपीडित युवाहरुलाई समेत समेटेर अगाडि बढ्न सके राज्यको चौतर्फी विकास हुने कुरामा दुई मत छैन । शैक्षिक धरातल टेकेर सिर्जनाका फूलहरु फुलाउँदै गरेका युवाहरुलाई तदनुरुपको शैक्षिक वातावरण मिलाइदिनेदेखि लिएर बेरोजगारी समस्याले भौतारिँदै गरेका युवाहरुलाई विविध सीपमूलक तालिमहरु दिई स्वदेशी उत्पादनको वृद्धिमा सक्रिय तुल्याउनुपर्ने तथ्यलाई पनि तपाईँको पार्टीले राष्ट्रिय दायित्वकै परिधिमा समेट्नुपर्ने देखिन्छ । त्यसो त कयौँ देशप्रेमी युवाहरु पहाडजत्रै गहु्रङ्गो सपनाको भारी बोकेर मुगलानका मरुभूमिहरुमा रगतसरी पसिना बगाउन बाध्य भएका छन् । यसरी युवाप्रतिभा पलायनको बाटोतर्फ जानु भनेको राज्यको सबभन्दा दुखद् पक्ष हो । सबै युवाहरुलाई स्वदेशकै आँगनमा जम्मा गर्न र स्वदेशी माटोको सुगन्धमा रमाउन सक्ने बनाउनको लागि पनि तपाईँको पार्टीले विशेष पहल गर्नुपर्ने देखिन्छ । सुन्दर कोपिलाबाट भर्खर फुल्न थालेका फूल, शीतका झुप्पाहरु टाँसेर परिपक्वता प्रदर्शन गर्दै ढकमक्क फुलेका फूल र बैँस तथा रङ बिस्तारै खुइलिएर शोभा पनि लगभग गुम्न खोजेका फूलका स्वभाव, कार्यशैली, जीवनबोध र सशक्तीकरणमा व्यापक अन्तर छ । भर्खर युवावस्थामा प्रवेश गरेकाहरुको सिर्जनशीलता र अग्रगामी सोच, उमेर, अध्ययन, अनुभव बढ्दै जाँदाको राष्ट्रप्रतिको जिम्मेवारी र पारिवारिक जन्जालमा जेलिएका युवाहरुको सोचाइ र व्यवहार पनि अवश्य फरकफरक हुन्छन् । सबै वर्गका युवाहरुको संवेदनशीलतालाई दृष्टिगत गरी कर्मशील, जुझारु र सकारात्मक सौन्दर्य चेतनाको अभिवृद्धि गराउँदै देशका विविध कार्य–शृङ्खलाहरुमा अतुलनीय योगदान दिन सक्ने गरी तपाईँको पार्टीले युवाशक्तिलाई अगाडि बढाउन सके यही माटोमा पसिनाका बालाहरु लहलह झुल्नेछन् । हिमालजस्तै अटल बन्नेछ देशको शिर । वसन्तका फूलहरुझैँ बास्नादार बन्नेछ देश । अनि, अरुहरुका लागि पनि प्रेरणाका स्रोत बन्नेछ हाम्रो देशको अस्तित्व । विकसित, अर्थपूर्ण र समृद्ध मुलुक बनाउन युवाशक्तिलाई शक्ति विकेन्द्रीकरणका माध्यमबाट परिचालन गराउने अभिभारा अब तपाईँको काँधमा आइपरेको छ । रवीन्द्रजी, तपाईँलाई थाहै छ, भौगोलिक दृष्टिले सानै भए पनि यस मुलुक विविध जातजाति, भाषाभाषी, धर्मसंस्कृति, मूल्यमान्यता, चालचलन, रीतिरिवाज र साम्प्रदायिक विविधताले भरिएको छ । यी विविधताहरुको सामूहिक मेल र अनुभूतिजन्य कम्पनहरुको जोडाइले राष्ट्रिय एकता र राष्ट्रिय संस्कृतिको विकास भएको छ । सुदूर पूर्वको चौतारोमा ढाकर बिसाएर पसिना पुछ्ने बटुवा हुन् या दोधारा, चाँदनीको किनारैकिनार हिँडेर महाकालीमा बल्छी थाप्ने सुदूर पश्चिमका अनिश्चित गन्तव्यतर्फ बढिरहेका युवाहरु ! यी सबैको उद्यमशीलता, सिर्जनशीलता र वैचारिक चेतलाई विकासको आधारभूत शक्तिका रुपमा अब तपाईँले प्रयोग गर्नुपर्दछ । आफ्ना निधारभरि फुल्ने पसिनाका फूलहरुमाथि विश्वास गर्न सक्ने युवा जनशक्ति निर्माणमा तपाईँको पार्टीको ध्यान आकृष्ट हुनुपर्दछ । जाति, क्षण र पर्यावरणको सामाजिक सभ्यताले युवाहरुको शारीरिक, मानसिक, नैतिक, बौद्धिक एवम् वैचारिक पक्षमा अड्डा जमाएको छ । आफू आफ्नै ढङ्गबाट आफूअनुकूल मार्गमा हिँड्ने परिपाटी यत्रतत्र छ । ती विविध शृङ्खलाहरुमा छरिएका युवा मनहरु बटुलेर सिर्जनशील, सुसंस्कृत र कार्यशैलीप्रति दक्ष तुल्याउनु पनि अब तपाईँको पार्टीको दायित्व हो । डम्फू, मादल, विनयो, मुर्चुङ्गा, झ्याम्टा, झ्याली र थोरै तार तर धेरै झङ्कार प्रवाह गर्ने सारङ्गीहरु हाम्रा मौलिक पहिचान हुन् । सङ्गिनी, बालन, हाक्पारे, देउडा, मारुनी, घाटु, चण्डी, उधौली, उभौलीजस्ता सांस्कृतिक पक्षहरुले पनि हाम्रो देशको शिरलाई अरुभन्दा पृथक् र अटल तुल्याएको हो । यी र यस्ता सांस्कृतिक बिम्बहरुको संरक्षणमा तपाईँको पार्टीले तदारुकताका साथ कदम नचाले हाम्रो अस्तित्व एक दिन गुम्नेछ । अनि, आफ्नै सभ्यता, आफ्नै माटो, आफ्नै मुटु र आफ्नै वैचारिकताले हामीलाई धिक्कार्नेछ । त्यसको भागीदार तपाईँ पनि अवश्य हुनुहुनेछ । गर्ने र गराउनेको विचारमा परिवर्तन नआएसम्म कोही पनि परिवर्तनमुखी बन्न सक्तैन । पिछडिएका टोल, बस्ती, झुप्रा वा कटेराहरुमा विकासका पूर्वाधारहरुको पहुँच पुग्नुपर्दछ । दिगो विकासका विविध योजनाहरुले पहिले गाउँहरु झिलिमिली बनाउनुपर्दछ । किनकि, मुहानजति शुद्ध दोभान कहिल्यै पनि हुँदैन । ग्रामीण विकासलाई मूल मुद्दा बनाएर अघि बढ्न सके विकासका ढोकाहरु बिस्तारै खुल्दै जानेछन् । खानेपानी, स्वास्थ्य, शिक्षा, सञ्चार र यातायातले विश्वलाई साँघुरो बनाइसक्दा पनि कतिपय गाउँहरु यस्ता सुविधाहरुबाट कयौँ कोस पर छन् । देशका विविध पक्षको रुपान्तरणमा युवा जनशक्तिलाई नै उपयोग गरेर अधिकार र कर्तव्यको बोध गराउनेतर्फ तपाईँको पार्टीले ठोस नीति लिएर अघि बढ्नु जरुरी छ । त्यसो त युवाहरु पनि हातमा हात र काँधमा काँध मिलाएर देशको ज्यादातर विकासको लागि कम्मर कसेर लाग्नुपर्दछ । यसो गर्न सके सफलता र उन्नतिको मगमगाउँदो फूल आफ्नै पोल्टामा पर्ने कुरामा दुई मत छैन । समाजमा सञ्चालन गरिने विभिन्न क्रियाकलापमा युवावर्गले रचनात्मक शक्ति प्रदर्शन गरेर नयाँ जोस, नयाँ उमङ्ग र नयाँ विचारका माध्यमबाट सकारात्मक धारणाको वीजारोपण गर्न तथा गराउन सक्ने हुनाले नयाँनयाँ विचार र मान्यतालाई समयसापेक्ष साँचोमा ढाल्न सकिन्छ । जसले गर्दा सिङ्गै देश आधुनिकीकरणको बाटो हुँदै छिटोभन्दा छिटो शिखरमा आफ्नो शिर खडा गर्न पुग्दछ । यसका साथै विश्वमा हुने गरेका अन्तर्राष्ट्रिय गतिविधि र तिनको आपसी अन्तर्सम्बन्धको बारेमा युवावर्गलाई नै अभ्यस्त गराउन सके समाजप्रति उत्तरदायित्व बहन गर्ने तथा लोकतान्त्रिक परिपाटी र पद्धतिप्रति प्रतिबद्ध रहने भावनात्मक र क्रियाशील मनहरुको वृद्धि–विकासमा टेवा पुग्नेछ । अनुशासित र मर्यादित ढङ्गबाट निश्चित दायरामा रही स्वतन्त्रतापूर्वक कार्य गर्न सक्ने वातावरणको सिर्जना भएमा श्रम र पसिनाको रङप्रति सदैव सबैले सम्मानको फूल चढाउनेछन् । यी कुराहरुलाई पनि तपाईँको पार्टीले राम्रै हेक्का राखोस् । देशको प्रगतिमा तगारो बन्ने महत्त्वपूर्ण सामाजिक घटकहरुमा गरिबी, कुप्रथा, जातीय छुवाछुत, लैङ्गिक भेदभाव, अशिक्षा प्रमुख हुन् । यस्ता सामाजिक समस्याहरुको उन्मूलनका लागि देशकै मेरुदण्ड मानिने युवाशक्तिको प्रयोग गरिएमा निकट भविष्यमै देशले नयाँ काँचुली फेर्नेछ । यसका लागि विविध जनचेतनामूलक कार्यक्रम, व्यावसायिक शिक्षा तथा औद्योगिक क्षेत्रको विस्तृतीकरणमा तपाईँको पार्टीले ठूलै आर्थिक तथा वैचारिक क्रान्ति गर्नुपर्ने बेला आएको छ । साहित्य, सङ्गीत, संस्कृति, कला एवं भाषा पहिचान र अस्तित्वको रेखा हो । विश्वमै साहित्यका प्रभावले ठूल्ठूला वैचारिक परिवर्तनहरु भएका छन् । भनिन्छ– जसले साहित्यको रङमा आफूलाई घोल्दैन, उसले जीवन र जगत्को आधा हिस्सा बुझ्नै सक्दैन । अन्योलग्रस्त र भयग्रस्त मानसिकताको सिकार बनेर उसको जिन्दगी तलाउमा परेको जूनझैँ हल्लिरहन्छ । तसर्थ, देशका युवाहरुलाई साहित्यको जस्केलो हुँदै महलभित्र प्रवेश गराउन सके अनि पुस्तक नीति बनाएर गुणस्तरीयताको छनोट गर्दै प्रकाशकीय अभिभारा देशको सम्बन्धित पक्षले लिने र आवश्यकतानुसार अनुवादको शृङ्खलालाई पनि अगाडि बढाउने हो भने नेपाली साहित्यले पनि जरुर विश्वस्तरीय साहित्यसँग प्रतिस्पर्धा गर्न सक्नेछ । अनि, देशको महिमा र गरिमालाई उच्च तुल्याउनेछ । अन्तर्राष्ट्रिय प्रभाव र परसंस्कृतिग्रहणले हाम्रा मौलिक गीत–सङ्गीत र संस्कृति लोपोन्मुख हुँदै गएका छन् । यसको संरक्षण, संवद्र्धन र विकास–विस्तारका लागि पनि तपाईँको पार्टीले ठोस कदम चाल्नुपर्ने तथ्यको आँकलन गर्न सकिन्छ । यसका साथै कलाको श्रीवृद्धिका लागि चलचित्र, म्युजिक भिडियो, सडक नाटक तथा चित्रकलाका बारे विज्ञ व्यक्तित्वहरुबाट सहज र समयानुकूल प्रशिक्षणको व्यवस्था हुनुका साथै सिर्जनात्मक क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तिहरुलाई राष्ट्रिय स्तरबाट सम्मान गरी सिर्जनाका फूलहरुलाई अझै फक्रने र फुल्ने अवसर प्रदान गरिनुपर्दछ । यसै गरी नेपाली भाषा र सम्प्रदायपिच्छे बोलिने अन्य भाषाहरुको अस्तित्वरक्षा पनि आजको आवश्यकता हो । व्याकरणको सुधार तथा शब्दभण्डारको वृद्धिले मात्रै यी भाषाहरुको पहिचान जीवन्त रहने हुनाले कार्यशाला÷गोष्ठी एवम् सार्वजनिक बहस तथा सुनुवाइका कार्यक्रमहरुमा लोपोन्मुख शब्दहरुको अधिक प्रयोग गरिनुका साथै भाषाप्रति मोह जगाउने खालका रचनात्मक कार्यक्रमहरु गरिनुपर्दछ । नेपाल कृषिप्रधान देश हो । तर, दुःखको कुरा औसतमा ७० रुपियाँ किलो चामल र १०० रुपियाँ किलो प्याज खरिद गर्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको छ । त्यसमा पनि सक्कली किसानहरुको पसिनाको मूल्य छैन । खेतीयोग्य जमिनमा घर बनाउनु, भीरपाखामा खेती गर्नु, उपयुक्त सिँचाइको वातावरण नहुनु, कम्पोष्ट र गोबरखादको सट्टा अत्यधिक युरिया मलको प्रयोग गर्नु, जनचेतनाको कमी हुनु यसका प्रमुख कारण हुन् । यस्ता समस्याहरुको अन्त्य गरी उत्पादनमा वृद्धि ल्याउन पनि युवावर्गलाई नै सचेत तुल्याउनु जरुरी छ । मौसमअनुसारको फलफूल, तरकारी र अन्नबालीहरु रोप्ने, कम्पोष्ट र गोबर मलको ज्यादा प्रयोग गर्ने, भीरपाखामा ठूल्ठूला रुख हुने फलफूल र डाले घाँसका बिरुवा सार्ने, माटोको प्रकृति जाँच गरी तदनुरुपका बालीनाली लगाउने गर्न सकियो भने हाल देखिएको समस्याको न्युनीकरण गर्न सकिन्छ । व्यक्तिको शारीरिक र मानसिक विकासका लागि अर्को महत्त्वपूर्ण पक्ष खेलकुद हो । यसले व्यक्तित्व विकास मात्र नगरेर राष्ट्रिय महिमालाई समेत उच्च बनाउँछ । तसर्थ, खेलकुदलाई व्यवसायकै रुपमा अगाडि बढाउनुपर्ने देखिन्छ । साथै यसलाई आधुनिकीकरण गर्दै राष्ट्रको विकासको एक महत्त्वपूर्ण अङ्गका रुपमा लिएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खेलाडीहरुलाई सक्षम बनाउने अभिभारा पनि तपाईँको पार्टीले लिन पछि नपरोस् । त्यसो त कतिपय युवाहरु अरुको लहैलहैमा लागेर लागुपदार्थको दुव्र्यसनमा फसेका छन् । त्यसरी दुव्र्यसनमा फसेका युवाहरुलाई यस्ता नकारात्मक कुलतबाट मुक्त गराई सामाजिक रुपान्तरणको पाटोमा ल्याउन सके विकासका फूलहरु फुलाउन धेरै समय कुर्नुपर्दैन । गाँस, बास र कपास सबैका आधारभूत आवश्यकताहरु हुन् । यसलाई सहज तुल्याउन शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरु सहज हुनु जरुरी छ । कुनै पनि किसिमको विभेद कहीँ, कतै र कसैबाट पनि हुन दिनुहुँदैन । स्वतन्त्रता र सामाजिक सुरक्षाको वातावरण सिर्जना भएमा मात्रै आआफ्नो तह र तप्काका जनशक्तिहरु माथि उठ्न सक्नेछन् । अनि, जूनजस्तै शितल र हिमालजस्तै अटल पहिचानको खम्बा गाडेर देशलाई प्रगतितर्फ लैजान सबै एकजुट हुनेछन् । शिक्षाको पारिलो घामले स्पर्श नगरेसम्म चिसा बस्तीहरुले आफ्नो ओस्याइलो काइ परेको सेपिलो मन सेकाउन सक्तैनन् । सुदूर गाउँ र बस्तीका कतिपय कलिला बालबालिकाहरुको हातमा हँसिया र नाम्लो छ । आफ्नै पिठिउँमा नअट्ने ठूल्ठूला डोका र थुन्सेहरु छन् । दिनभरि गाई चराएर वा खोलामा माछा मार्ने ढडिया थापेर साँझपख घर फर्किन्छन् उनीहरु । यी बालबालिकाहरुको गन्तव्य र सुदूर भाग्य–भविष्यका बारे कसले सोच्ने ? कसलाई सोध्ने ? यहीँनेर तपाईँको पार्टीको ध्यान केन्द्रित हुनुपर्दछ । शिक्षामाथि सर्वसुलभ पहुँच भएर मात्रै पुग्दैन । ती केटाकेटीहरुका अभिभावकहरुलाई सम्झाइबुझाइ गरेर बालबालिकाहरुलाई स्कुल पठाउन इच्छुक बनाउने भूमिका निर्वाह गर्ने काममा पनि तपाईँको पार्टीले युवावर्गको परिचालन गर्न सक्दछ । त्यसमा पनि नेपालको परम्परागत शिक्षा त्यति धेरै वैज्ञानिक, व्यावहारिक र वस्तुनिष्ठ छैन । तसर्थ, पाठ्यक्रमको आँकडा र रुपरेखामा आवश्यकतानुसार फेरबदल गरी व्यावहारिक र व्यवसायमूलक तथा सीपमूलक शिक्षालाई प्रश्रय दिनुपर्दछ । त्यसो त प्राविधिक शिक्षालयहरुमार्फत् प्राविधिक तवरको जनशक्ति उत्पादन गर्न सकिन्छ । यसो गर्दा नेपालको वनसम्पदा, कृषि, पशुपालन, पर्यटकीय स्थल, जलविद्युत्, आयुर्वेदिक औषधीहरुको वृद्धि र विकासमा विशेष टेवा पुग्दछ । असुरक्षित यौन सम्पर्क र निर्मलीकरण नगरेका सिरिन्जहरुको प्रयोग तथा ट्याटु भर्ने संस्कारले गर्दा कतिपय युवाहरु विश्वभरि महामारीको रुपमा फैलिएको एच.आइ.भी.÷एड्सजस्तो प्राणघातक रोगको सिकार भएका छन् । त्यस्ता व्यक्तिहरुलाई समाजले पनि घृणा÷तिरस्कारको दृष्टिले हेर्ने गरेको हुँदा उनीहरुको मनोबल त गिरेकै छ, त्यसमाथि पनि अझै उनीहरु आक्रामक बनेर अरुहरुलाई पनि रोग सार्दै हिँड्ने गरेको तथ्य यत्रतत्र छ । त्यस्ता सङ्क्रमित व्यक्तिहरुलाई सीपमूलक तालिमहरु दिई सामाजिक विभेदबाट मुक्त गराउनु पनि टड्कारो आवश्यकताको रुपमा रहेको छ । ‘स्वास्थ्य नै धन हो’ भन्ने अभिव्यक्तिलाई हृदयङ्गम गर्दै सबैलाई स्वस्थ र सुरक्षित रहन अभिप्रेरित गर्ने खालका कार्यक्रमहरु बस्तीबस्तीमा पु¥याउनुपर्दछ । पिछडिएका दुर्गम बस्तीका स्वास्थ्यचौकी एवं औषधालयहरुमा रहेका औषधीहरु र कर्मचारीहरुको कार्यशैलीको जाँचबुझ तथा निरीक्षण पटकपटक हुनुपर्दछ । स्वस्थ नभई कुनै पनि कार्य सहजताका साथ सम्पन्न गर्न नसकिने हुनाले जनताको स्वास्थ्य अधिकारको सुरक्षा र सुनिश्चित भविष्यका लागि स्वास्थ्य बिमाको व्यवस्था गरिनुपर्दछ । यी कुराहरुमा पनि विशेष ध्यान पु¥याइयोस् । नदीकिनारमा नदी–सभ्यता सिकेर गिटी र बालुवासँगै जिन्दगीको पसिनाविन्दु चाल्ने दिदीहरु अनि खुर्पा, खुर्पेटो र नाम्लो बोकेर घोचा, भाटा र एक भारी सोत्तरका लागि वनबेँसीमा हेलिएका दाइहरुको लगाव र परिश्रमी हातहरुलाई एकताको सूत्रमा केन्द्रिकृत गर्नुपर्दछ । अनि मात्र वैचारिक अभ्यासको आग्रहले सामाजिक रुपान्तरण सम्भव छ । पार्टी खोलेर मात्रै रुपान्तरण सम्भव छैन । देशप्रति सदैव सम्मान गर्ने देशप्रेमी युवाहरुको सकारात्मक महत्त्वाकाङ्क्षालाई दृष्टिगत गरी आधारभूत सुविधाको व्यवस्था गर्दै उनीहरुलाई राज्यको चौतर्फी विकासका लागि विभिन्न तह र तप्काहरुमा प्रयोग गर्न सकिन्छ । सामूहिक कार्य र ऐक्यबद्धताबाट नै मुलुकको मुहारमा मुस्कान पोतिने हो । जलस्रोतको दृष्टिले एसिया महादेशकै पहिलो र विश्वकै दोस्रो धनी देशका रुपमा चिनिने हाम्रो मुलुकमा प्रशस्त खोलाहरु छन् । धाराहरु पनि छन् । तर, धाराबाट पानी नियमित झर्दैनन् । विद्युत् कटौतीको चापले हामी अँध्यारोभित्रै रुमलिएर उज्यालो भविष्यको कामना गरिरहेका छौँ । खोलाहरुमा बगेर खेर गएको पानीलाई उचित ढङ्गले सदुपयोग गर्न सके देश झिलिमिली भएर आत्मनिर्भर हुनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रसम्म बिजुली आपूर्ति गरेर देशले नाम र दाम दुवै कमाउँदै विकासको शिखर चुम्न सक्दछ । तसर्थ, तपाईँको पार्टीले तत्काल सम्भाव्य ठाउँहरुमा लघु जलविद्युत योजनाको कार्य प्रारम्भ गरोस् । हाम्रो देशलाई मन्दिरहरुको देश भनेर पनि चिनिन्छ । यहाँका ऐतिहासिक मन्दिर र मूर्तिहरु, काष्ठकला र धातुकलाहरु हाम्रा मौलिक पहिचान हुन् । यी विविध वस्तुस्थितिहरुको संरक्षण र विकासविस्तारमा युवाशक्तिलाई परिचालन गर्न सकिएमा हाम्रा धरोहरहरुको अस्तित्व र मूल्य विश्वकै लागि चर्चा र चासोको विषय मात्र नबनेर प्रशंसनीय पनि बनिरहनेछ । हाम्रो मुलुकको अर्को विकराल अवस्था भनेको मानव बेचबिखन हो । नेपालका कतिपय चेलीहरु षड्यन्त्रकारीहरुको ललाइफकाइमा परेर विदेशी भूमिमा बेचिन बाध्य भएका छन् । यस्ता समस्याहरुको उन्मूलनका लागि अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रहरुमा युवावर्गलाई सङ्गठित गर्नुपर्दछ । जसले गर्दा मानव ओसारपसार र बेचबिखनजस्तो जघन्य अपराधलाई क्रमशः मार्न सकिन्छ । रवीन्द्रजी, तपाईँलाई थाहै छ, व्यक्तिलाई मार्नुभन्दा व्यक्तिको नकारात्मक प्रवृत्तिलाई मार्नु ठूलो कुरा हो । विज्ञान र प्रविधिको आशातीत विकासले हिजोका चिठीचपेटाहरु आज टेलिफोन, मोवाइलफोन, इन्टरनेट र एसएमएसहरुमा रुपान्तरित भएका छन् । जसले गर्दा हाम्रो दैनिक जीवनमा आइपर्ने विविध समस्याहरुको छिटो, छरितो र सुगमताका साथ कार्य सम्पन्न हुन थालेको छ । सञ्चारको यस खालको पहुँच प्रत्येक आँगनसम्म पुगेर छेवैमा फुलिरहेको मखमलीको बास्नासँग मिल्न पाउनुपर्दछ । अलि अगाडिको तुलसीको मठबाट प्रवाहित सुगन्ध पनि हाम्रै काखको ल्यापटपको स्क्रिनमा आएर ठोकिनुपर्दछ । त्यसैले प्रविधिको विकासमा पनि तपाईँको पार्टी योजनाबद्ध भई अघि बढोस् । पर्यटन हाम्रो अर्थतन्त्रको महङ्खवपूर्ण हिस्सा हो । पर्यटकीय स्थलहरुको वृद्धि, बाटोघाटो र आवासको पर्याप्त सुविधा एवम् हाम्रा मौलिक पहिचानहरुको प्रदर्शनले धेरैभन्दा धेरै पर्यटकहरुलाई हामी हाम्रो देशमा ल्याउन सक्छौँ । जसले गर्दा देशले आर्थिक मुनाफा कमाउनुका साथै हाम्रा टोलबस्तीहरुमा लुकेर रहेका वस्तुस्थितिहरुको विश्वव्यापीकरणमा ठूलो टेवा पुग्न जान्छ । यस व्यवसायप्रति अत्यन्तै गम्भीर ढङ्गले प्रस्तुत हुनु हामी सबैको साझा दायित्व हो । सुन्दरताले भरिपूर्ण प्राकृतिक सम्पदामा क्रमशः ह्रास आउन थालेको छ । वास्तवमा भन्नुपर्दा सुन्दरतालाई विरुप बनाएर यहाँ केवल खोक्रो आडम्बरको प्रतिबिम्ब खडा भएका छन् । फुल्ने तरखरमा रहेका बेली र चमेलीहरु कोपिलामै अलप भएका छन् । अग्ला बोटवृक्ष जान्नेसुन्नेका खल्तीमा थन्किन पुगेका छन् । सोझा लुङ्गुराहरु घोचा र किला बनेर बाटोमा अनावश्यक रुपमा गाडिँदै छन् । कठबारहरु बनेका छन् । जङ्गल धमाधम फडानी हुँदै छन् । प्राकृतिक सम्पदामा आएको ह्रासलाई रोकेर यसको समुन्नत विकासका लागि तपाईँको पार्टीले युवावर्गलाई सचेत तुल्याई प्राकृतिक सम्पदाको संरक्षण र उन्नतितर्फ पाइला चाल्नु पनि आजको आवश्यकता हो । रवीन्द्रजी, म त एउटा सामान्य श्रमजीवी मान्छे । मैले तपाईँलाई यो पत्र लेख्न लामै समय लगाएको छु । तर, म तपाईँसँग यसको पारिश्रमिक लिन चाहन्नँ । तपाईँ केही गरौँ भनेर अघि बढ्नुभएको छ । म तपाईँलाई अघि बढ्नुहोस् भनेर हार्दिकताका साथ शुभकामना दिन्छु । धन्यवाद ।
http://www.ratonews.com/2017/03/5318/
रवीन्द्रजी नमस्कार, एकदम अनौपचारिक कुरा लेखिरहेछु । यसलाई अनौपचारिक किसिमले नै बुझिदिनुहोला । तपाईँजत्तिको बौद्धिक, चिन्तनशील, जुझारु, समाजसेवी, कुशल पत्रकारले रोज्नुभएको राजनीतिक बाटो र आगामी गन्त…