
02/06/2025
नेपाल-भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण-२०२५ को Flag In Ceremony सम्पन्न
नेपाली सेना र भारतीय सेनाको सहभागितामा सञ्चालन भएको नेपाल-भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण-२०२५ को आज मिति २०८२ ज्येष्ठ १९ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच Flag In Ceremony सम्पन्न भएको छ ।
कार्यक्रममा आरोहण दलका टिम लिडरहरूबाट कार्यक्रमका प्रमुख अतिथि माननीय रक्षा मन्त्री श्री मानवीर राई र बलाधिकृत रथी निर्मल थापा समक्ष आरोहणको झन्डा हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा माननीय रक्षा मन्त्री राईले मन्तव्य राख्नु हुँदै आरोहण दलका सदस्यहरूलाई बधाई ज्ञापन गर्नु भयो । युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा भारतीय सेनाका प्रतिनिधिमण्डलका प्रमुख Lt Gen Ajay Ram Dev ले समेत आरोहणदललाई बधाई दिनु भयो ।
नेपाली सेनाका १० र भारतीय सेनाका ५ गरी जम्मा १५ जना सहभागी संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण टोलीले मिति २०८२ ज्येष्ठ ०५ र ०६ गते कञ्चनजङ्घा हिमालको सफलतापूर्वक आरोहण गरेको थियो। उक्त अभियानको मिति २०८१ चैत्र २१ गते मित्रराष्ट्र भारतको नयाँ दिल्लीमा भारतीय रक्षा मन्त्रीको उपस्थितीमा Flag-Off Ceremony सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपालका लागि भारतीय महामहिम राजदूत, बलाध्यक्ष, रथीवृन्द, नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, संयुक्त कञ्चनजङ्घा हिमाल आरोहणका सदस्यहरू, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालका प्रतिनिधिहरू, अधिकृत तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।