16/10/2026
पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्राकृतिक विपद्बाट प्रभावित नागरिकको शीघ्र पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै उनले यस वर्षको वर्षायाम नेपालीका लागि सुखद नरहेको बताए। भोटेकोशीमा आएको बाढी, अविरल वर्षा तथा दसैंको मुखमा आएको बुढीगण्डकीको बाढीले विभिन्न क्षेत्रका नागरिक प्रभावित भएको उल्लेख गर्दै उनले प्राकृतिक विपद्बाट उत्पन्न दुःख र पीडालाई न्यूनीकरण गर्न पूर्वतयारी तथा सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्। साथै, प्रकृतिको सन्तुलन र संरक्षणलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने र विपद्का कारण उत्पन्न हुने समस्यासँग जुध्न सही शक्ति र सद्बुद्धिको प्रयोग गर्दै शोकलाई शक्तिमा र निराशालाई आशामा बदलेर जीवनयात्रा अघि बढाउनुपर्ने उनको भनाइ छ।
जनताको पीडा नै सिंगो देश र राज्यको साझा पीडा भएको उल्लेख गर्दै पूर्वराजा शाहले विपद् प्रभावित नागरिकको शीघ्र पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। पुनर्निर्माणका क्रममा बाह्य सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्पराको संरक्षण हुने गरी कूटनीतिक चातुर्य अपनाउनुपर्नेमा उनले जोड दिएका छन्। नेपाल भूगोल मात्र नभई साझा इतिहास, आस्था, संस्कृति, परम्परा र पहिचानसमेत भएको उल्लेख गर्दै देश कठिन परिस्थितिमा रहेका बेला आपसी भाइचारा कायम राख्नुपर्ने उनले बताएका छन्। एक क्षेत्रका नागरिकको पीडामा अर्को क्षेत्रका नागरिकले साथ दिनु र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु नै साँचो देशभक्ति भएको उनको सन्देशमा उल्लेख छ।
शुभकामना सन्देशमा पूर्वराजा शाहले देशको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक तथा व्यावसायिक क्षेत्रमा देखिएको अन्योलप्रति पनि चिन्ता व्यक्त गरेका छन्। उनले राज्य प्रणालीलाई सही दिशामा अघि बढाउने, प्रजातान्त्रिक आधारलाई बलियो बनाउने र अर्थतन्त्रलाई उकास्ने विषयमा गम्भीर भएर सोच्नुपर्ने बताएका छन्। विद्यमान अन्योल अन्त्य गर्दै प्रजातान्त्रिक विधि र प्रक्रियालाई सुदृढ बनाउनुपर्ने उल्लेख गर्दै उनले बदलिँदो विश्व परिवेश र भूराजनीतिक परिस्थितिमा राष्ट्रियता तथा मौलिक मूल्यलाई दृढ बनाउन आवश्यक रहेको बताएका छन्। राज्य सञ्चालनमा अघि बढेको नयाँ पुस्ताले देशवासीको मुहारमा खुसी ल्याउने अपेक्षा व्यक्त गर्दै उनले नेपालीको मनमा करुणा, समाजमा सद्भाव र देशभक्तिको भावना अझ बलियो बनोस् भन्ने कामना गरेका छन्। साथै विभाजित नभइ एकताबद्ध, परनिर्भर नभइ आत्मनिर्भर तथा कमजोर नभई सबल र सक्षम नेपाल निर्माण गर्ने सोच सबैमा जागृत हुनुपर्ने उनको भनाइ छ।