22/07/2026
रोल्पा अस्पतालको समस्या बोकेर रास्वपा सभापति थापा स्वास्थ्य मन्त्रालयमा
राष्ट्रिय स्वतन्त्र पार्टी रोल्पाका सभापति बालाराम थापा रोल्पा अस्पताल रेउघा रोल्पामा पछिल्लो सयम देखिएको केही समस्या समाधान गर्नको लागी आफु र आफ्नो पार्टी गम्भिर भएर लागेको बताउनु भएको छ ।
मंगलबार सभापति थापाले रोल्पा अस्पतालमा देखिएको समस्या समाधान गर्नको लागी आफुले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासँग भेट गरेर रोल्पा अस्पतालमा देखिएको समस्या राख्नुको साथै तत्काल समाधान गर्न आग्रह गरेको बताउनु भएको छ ।
सभापति थापाले फेसबुकमा लामो स्टाटस मार्फत सो कुरा सार्वजनिक गर्नु भएको हो ।
मन्त्रीसँगको भेट पछि सभापति बालाराम थापाले आफ्नो फेसबुकमा यस्तो कुरा उल्लेख गर्नु भएको छ । दुर्भाग्यवश, विगत लामो समयदेखि रोल्पा अस्पताल दक्ष चिकित्सक, विशेषज्ञ सेवा तथा आवश्यक स्वास्थ्य जनशक्तिको अभावमा सञ्चालन हुँदै आएको छ। करोडौं रुपैयाँको लागतमा आधुनिक भवन निर्माण भए पनि पर्याप्त चिकित्सक, विशेषज्ञ सेवा र आवश्यक उपकरणको अभावका कारण रोल्पावासी आज पनि सामान्यदेखि जटिल उपचारका लागि जिल्ला बाहिर जान बाध्य छन्। यो अवस्था परिवर्तन गर्नु आजको आवश्यकता मात्र होइन, राज्यको संवैधानिक दायित्व पनि हो।
यही गम्भीर विषयलाई प्राथमिकताका साथ उठाउँदै आज माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्रीमती निशा मेहताज्यूसँग विस्तृत छलफल गर्ने अवसर प्राप्त भयो। छलफलका क्रममा रोल्पा अस्पतालमा रहेका समस्या समाधान, आवश्यक चिकित्सक तथा जनशक्ति व्यवस्थापन, विशेषज्ञ सेवा विस्तार र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी स्वास्थ्य सेवामा सुधारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता उहाँबाट व्यक्त भएको छ ।
हामी केवल आश्वासनमा सीमित रहन चाहँदैनौं; प्रतिबद्धताको कार्यान्वयन र त्यसको परिणाम देख्न चाहन्छौं। रोल्पावासीले आफ्नै जिल्लामा सहज, गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा पाउने वातावरण निर्माण हुनु अत्यन्त आवश्यक छ ।
यस विषयमा हाम्रो भूमिका स्पष्ट छ—परिणाम देखिने गरी काम हुनुपर्छ। यदि अपेक्षित सुधार भएन भने हामी निरन्तर र जिम्मेवार रूपमा फलोअप गर्दै सम्बन्धित निकायलाई जवाफदेही बनाइरहनेछौं। नागरिकको स्वास्थ्यसँग जोडिएको विषयमा कुनै सम्झौता हुन सक्दैन ।
समय प्रदान गरी रोल्पाको स्वास्थ्य सेवाका विषयमा गम्भीरतापूर्वक छलफल गर्नुभएकोमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
रोल्पाको स्वास्थ्य सेवामा सुधार कुनै राजनीतिक एजेन्डा होइन, यो हजारौँ नागरिकको जीवन, स्वास्थ्य र भविष्यसँग जोडिएको साझा दायित्व हो ।
रोल्पा अस्पतालबाट हाल प्रबाह भैरहेको सेवालाई थप व्यवस्थित र प्रभाबकारी बनाई, आम रोल्पाली नागरिकले अपेक्षा गरेको बिशेषज्ञ सहितको स्वास्थ्य सुबिधा प्रदान गर्न तर्फ सरोकारवाला सबै पक्ष एक भएर लाग्नु पर्ने देखिन्छ ।