07/09/2026
मलेसियाको पेराक राज्यस्थित तेलुक इन्तानमा गैरकानुनी रूपमा ऋण लगानी गरेको आरोपमा दुई नेपाली नागरिक पक्राउ परेका छन्।
स्थानीय प्रहरीले सञ्चालन गरेको ‘अपरेशन भल्चर’ अन्तर्गत सेप्टेम्बर ४ मा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूमाथि चर्को ब्याजमा ऋण दिने तथा ऋणीको बैंक एटीएम कार्ड आफ्नो नियन्त्रणमा राख्ने गरेको आरोप छ।
हिलिर पेराकका प्रहरी प्रमुख एसीपी चुआ कोक लियनका अनुसार कमर्सियल क्राइम इन्भेस्टिगेशन डिभिजनले सुरुमा एक जनालाई तेलुक इन्तानस्थित बैंकको एटीएमबाट रकम निकालिरहेको अवस्थामा पक्राउ गरेको थियो। उनको साथबाट अरू व्यक्तिका दुईवटा एटीएम कार्ड र ३०० मलेसियन रिंगेट नगद बरामद भएको थियो।
उनकै सूचनाका आधारमा प्रहरीले जालान आ चेङस्थित ऋण कारोबार हुने भनिएको एक स्थानमा छापा मारेको थियो। त्यसक्रममा थप एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त स्थानबाट थप तीनवटा एटीएम कार्ड तथा सुनका गहना बरामद गरेको छ। बरामद सामग्रीको कुल मूल्य करिब २ हजार ५० रिंगेट रहेको बताइएको छ।
पक्राउ परेका दुवै जनालाई हिलिर पेराक जिल्ला प्रहरी मुख्यालयमा राखेर अनुसन्धान अघि बढाइएको थियो। उनीहरूविरुद्ध मलेसियाको दण्ड संहिताको धारा ४२० र ४२४ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले बैंक खाता वा एटीएम कार्ड अरूलाई प्रयोग गर्न नदिन सर्वसाधारणलाई आग्रह गरेको छ। आर्थिक लाभ वा अन्य प्रलोभनमा परेर आफ्नो बैंक खाता तथा एटीएम कार्ड अरूलाई उपलब्ध गराउँदा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा कानुनी कारबाही हुन सक्ने प्रहरीले चेतावनी दिएको छ।