22/08/2025
मातृ देवो भव। पितृ देवो भव। गुरु देवो भव।
हाम्रो संस्कृति अनुसार, बुबाको मुख हेर्ने औंसीलाई विशेष महत्व दिइन्छ—यसलाई ‘कुशे औंसी’ पनि भनिन्छ। आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरिन्छ, र गुरु पूर्णिमामा गुरुको सम्मान तथा आशीर्वादको स्मरण गरिन्छ।
आजको दिन पिताको सम्मान, सम्झना, र विशेष समर्पणको दिन हो। संसारमा हरेक बिहान बिस्तारै साँझमा रूपान्तरित हुन्छ। सूर्यको उदय र अस्ताउने क्रमसँगै जीवन पनि अघि बढ्दछ। यही क्रमसँगै हामी कहिले बुबाको, कहिले छोरा, कहिले आमाको, कहिले छोरीको भूमिका निर्वाह गर्दै अगाडि बढिरहेका हुन्छौं।
जीवनको यो यात्रा—समर्पण, श्रद्धा, र सम्मानको यात्रा—सधैं हामीलाई हाम्रो आस्थामा डोर्याउँछ।
चाहे जुनसुकै धर्म वा सम्प्रदायका भए पनि हामीमध्ये धेरैले बुबाको हात समातेर तोते बोली बोल्दै, लरबराएका पाइला चाल्न सिकेका छौं। हामीले पहिलोपटक हिँड्दा, हरेक सानो कदममा बुबाको धैर्य र माया महसुस गरेका छौं। तिनै बुबा, जो दिन–रात एक गरेर हाम्रो जीवन सजाउन, हरेक कठिनाइबाट बचाउन, अनि सुरक्षित भविष्यको लागि अहोरात्र खटिरहनुहुन्थ्यो, उहाँको माया र बलिदान शब्दले कहिल्यै पूरै व्याख्या गर्न सक्दैन।
हामीले जति मेहनत गरे पनि, उहाँले हामीलाई दिएको शिक्षा, संस्कार, अनुशासन र जीवनको मूल्य कहिल्यै भुल्न सक्दैनौं। आज उहाँहरूको बुढेसकालमा, हामीमध्ये धेरैले तिनै बुबाहरूको बलियो लाठी बन्ने, उहाँलाई सम्मान, स्नेह र सुरक्षाको अनुभव गराउने जिम्मेवारी उठाएका छौं।
आमा–बुबा नै यस संसारमा देख्न सकिने सबैभन्दा महान भगवान् हुन्। उहाँहरूको माया, त्याग र धैर्य हाम्रो जीवनको आधार हो। त्यसैले आज, पृथ्वी लोकका सम्पूर्ण पिताहरूलाई हामी मनदेखि, हृदयदेखि, कोटी–कोटी नमन गरौं। उहाँहरूका शिक्षाले हामीलाई मार्गदर्शन दिन्छन्, उहाँहरूको माया हाम्रो जीवन उज्यालो बनाउँछ।
हामी जसरी बुढेसकालमा पाउँछौं, त्यति नै स्नेह, आदर र कृतज्ञता उहाँहरूलाई फिर्ता दिन प्रयास गरौं। जीवनको प्रत्येक पाइलामा उहाँहरूको योगदान सम्झिँदै, हामीले उहाँहरूको सम्मान गर्ने, रक्षा गर्ने र जीवन सजाउने प्रण गरौं।