24/07/2026
कपिलवस्तुमा ‘एकादशी विशेष युवा भजन साँझ–२०८३’ आयोजना हुँदै
कपिलवस्तु। धार्मिक सद्भाव, भक्ति, आध्यात्मिक चेतना तथा सनातन संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले कपिलवस्तु युवा भजन समूह ले ‘एकादशी विशेष युवा भजन साँझ–२०८३’ आयोजना गर्ने भएको छ।
श्रावण ९ गते शनिबार, साँझ ६ बजे देखि राति १० बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रम जीतपुर–४, चोक, तोलिहवा रोड, कपिलवस्तु मा आयोजना गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा भक्तिमय वातावरण सिर्जना गर्ने उद्देश्यसहित विभिन्न आकर्षक प्रस्तुति रहनेछन्। जसअन्तर्गत बटुकहरूमार्फत स्वस्तिक वाचन, राष्ट्रिय कलाकार दिवाकर भण्डारी समूहको भजन प्रस्तुति, शिव ताण्डव नृत्य, भव्य महाआरती तथा कपिलवस्तु युवा भजन समूहको विशेष भजन प्रस्तुति समावेश रहने जनाइएको छ।
आयोजकका अनुसार सम्पूर्ण श्रद्धालु भक्तजनलाई कार्यक्रममा उपस्थित भई धार्मिक तथा सांस्कृतिक अभियानलाई सफल बनाउन आग्रह गरिएको छ।
कार्यक्रमको आयोजना कपिलवस्तु युवा भजन समूह ले गरेको हो भने श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूह र हिमवत प्रतिष्ठान नेपाल, कपिलवस्तु सहयोगी संस्थाका रूपमा रहेका छन्।