10/07/2026
जीवनभरको मेहनतको कमाइ पनि बचाउन सकेन उनको ज्यान…
बंगलादेशको मेथिकान्डा रेलवे स्टेशनमा करिब २५ वर्षदेखि सरसफाइ गर्दै जीवन बिताएकी ७० वर्षीया बोबी (बुबी) बेगमको लुटपाटपछि भएको कुटपिटका कारण दुःखद निधन भएको छ।
बोल्न नसक्ने अवस्थाकी बुबीको आफ्नै भन्ने परिवार थिएन। रेलवे स्टेशन नै उनको घर थियो। दिनभर प्लेटफर्म सफा गरेर यात्रु, पसले र स्थानीयले दिएको सानो सहयोगबाट उनले जीवन धानेकी थिइन्। वर्षौंको दुःख, पसिना र इमानदारीबाट जोहो गरेको करिब ४० हजार टाका नै उनको एकमात्र सहारा थियो।
तर शनिबार राति केही लुटेराहरू पैसा लुट्ने उद्देश्यले उनको कोठामा पसे। पैसा दिन अस्वीकार गरेपछि उनीमाथि निर्मम कुटपिट गरिएको आरोप छ। लुटेराहरूले उनको जीवनभरको बचत लिएर फरार भए।
गम्भीर घाइते भएकी बुबीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा निधन भयो। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
जीवनभर अरूको बाटो सफा गर्ने ती वृद्ध आमाको अन्त्य भने यति पीडादायी रूपमा हुनु अत्यन्त दुःखद हो। दोषीमाथि कडा कारबाही होस्, र दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली। 🕊️💔