
06/07/2025
ससुरालीमा ४ जनाको सामूहिक हत्या गर्ने
राजेन्द्र राई गम्भीर घाइते अवस्थामा भेटिए
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका ४ जनाको हत्या भएको छ । छुरी प्रहार गरेर ससुरालीमा ४ जनाको हत्या गरेको अभियोग लागेका अन्दाजी ३० वर्षीय राजेन्द्र राई आफैं गम्भीर घाइते अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार राईको पेटमा २–३ ठाउँमा छुरी प्रहारको गरेको चोट देखिएको छ । उनलाई भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान रेफर गरिएको भोजपुर प्रहरीका निमित्त प्रमुख एवं इन्स्पेक्टर दीपक श्रेष्ठले बताए ।उनका अनुसार घटनाबारे प्रारम्भिक बयानमा राजेन्द्रले राति सुतिरहेको बेला सासूले आफूमाथि छुरी प्रहार गरेको र ब्युँझिएपछि छुरी खोसेर ससुरालीमा रहेकालाई आक्रमण गरेको बताएका छन् । ‘ममाथि छुरी प्रहार भएपछि ब्युँझिएँ । छुरी खोसेर सबैलाई हानेँ,’ उनले भनेका छन् ।
राजेन्द्रले छुरा प्रहार गर्दा ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, पत्नी १६ वर्षीया मनिषा गिरी र सालो ९ वर्षीय सपन गिरीको घटनास्थलमै मृत्यु भएको इन्स्पेक्टर श्रेष्ठले बताए । हत्या गरेपछि राजेन्द्रले हुर्बु भञ्ज्याङ पुगेर ‘मैले ४ जनालाई छुरी हानेर आएको छु, शायद मरिसके होलान्’ भन्दै प्रहरीलाई फोन गरेका थिए । त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो ।
इन्स्पेक्टर श्रेष्ठका अनुसार राजेन्द्रको मनिषासँग दोस्रो विवाह भएको थियो । पहिलो श्रीमतीले छाडेपछि केही महिनाअघि मनिषालाई भगाएर ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मनिषाको उमेर १६ वर्ष मात्र रहेकाले उनको माइती पक्षले विवाहमा असहमति जनाएको देखिन्छ ।मनिषा १ महिनाअघि माइती गएर बसेकी थिइन् । उनलाई लिन राजेन्द्र ४–५ दिनअघि ससुराली गएका थिए । तर, बालिकाको उमेर नपुगेको भन्दै ससुरा–सासूले उनलाई लैजान अनुमति दिएका थिएनन् ।
प्रहरीका अनुसार ससुराली पक्षबाटै भएको भनिएको आक्रमणपछि राजेन्द्रले आत्मरक्षाको नाममा हिंसात्मक घटना गराएको आशंका छ । यद्यपि, विस्तृत अनुसन्धान गरेर घटनाको कारण पत्ता लगाउने प्रयास प्रहरीले गरिरहेको छ ।
घटनास्थल पुगेको प्रहरीले कानुनी प्रक्रिया पूरा गर्दै चारै जनाको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर पठाएको छ । घटनाले स्थानीय त्रसित बनेका छन् ।गाउँमा आतंक फैलिएको छ । हत्याजस्तो जघन्य अपराध गरेर परिवारै सिध्याएको पाइएपछि गम्भीर ढंगबाट अनुसन्धान भइरहेको इन्स्पेक्टर श्रेष्ठले बताए ।राजेन्द्रको घर भोजपुर नगरपालिका–२ हेलौँछा हो ।