30/08/2026
अहिले धेरै व्यापारीहरू, जो हिजोसम्म TikTok बनायर वा LIVE मा बसेर आफ्ना सामान बेचिरहनुहुन्थ्यो, उहाँहरू पनि काममा फर्किन डराइरहनुभएको छ। अहिले सामान बेच्यो भनेर फेरि गाली गर्छन् कि? भन्ने डर छ किनकि अहिले TikTok आफ्ना सामानहरू देखाइरहनु भएकोहरुको कमेन्टमा “देश यस्तो अवस्थामा छ, अझै सामान बेच्ने?” भनेर गाली आयको देखिन्छ। कलाकारहरूको अवस्था पनि त्यस्तै छ। विदेशबाट कार्यक्रमका लागि बोलाइएका कलाकारहरू आयोजकसँग पहिल्यै कमिटमेन्ट गरेर गयका हुन्छन्। टिकट बिक्री भइसकेको हुन्छ, लाखौँको खर्च भइसकेको हुन्छ। नेपालमै पनि कतिपय कार्यक्रम, गायक, डान्सरहरू आफ्नो काम गर्न डराइरहनुभएको छ नाच्यो, गायो भनेर गाली खानुपर्ला कि? भनेर। घटना भएको त्यही दिन वा भोलिपल्टै सामान्य कार्यक्रम गर्ने, नाचगान गर्ने, रमाइलोका सामग्रीहरू पोस्ट गर्ने कुरा अलि संवेदनशील नदेखिन सक्छ भन्ने कुरामा म पनि सहमत छु तर दुःख सधैँ त्यही क्षणमा रोकिँदैन, जीवन पनि रोकिँदैन। केही दिनपछि बाँचेकाहरूले फेरि आफ्नो घर, परिवार र देशका लागि उठ्नैपर्छ।
गायकको कर्म गाउनु हो, डान्सरको कर्म नाच्नु हो, कलाकारको कर्म कला हो, व्यापारीको कर्म व्यापार हो। कसैको LIVE मा सामान बेच्नु पनि उसको कर्म हो। कर्म नगरी घर चल्दैन, अर्थतन्त्र चल्दैन, अनि देश पनि चल्दैन।कसैले आफ्नो काम सुरु गर्दा, भिडियो पोस्ट गर्दा, LIVE बस्दा वा कार्यक्रम गर्दा कमेन्टमा गएर , यस्तो अवस्थामा पनि? भनेर गाली नगरौ। उहाँहरूलाई पनि आफ्नो जीवन चलाउनुपर्ने छ, परिवार पाल्नुपर्ने छ, स्टाफको जिम्मेवारी छ, कमिटमेन्टहरू छन्। दुःखी हुनु र काम नगर्नु एउटै कुरा होइन। मन दुःखी भएर पनि मान्छे कर्म गर्न सक्छ।
हामीले पीडितलाई सहयोग गर्नुपर्छ। जसरी सक्छौँ, जहाँ सक्छौँ, जति बेला सक्छौँ सहयोग गरौँ। तर आफ्नो कर्ममा फर्किन खोजिरहेको मान्छेलाई गाली गरेर अर्को पीडा नदिऔँ। नेपाल आमाले पनि आफ्ना सन्तानलाई दुःख पर्यो, अब सबैजना रोएर बस भन्नुहुन्न । अन्तत: मान्छे काममा फर्कियो भन्दैमा उसको मनबाट पीडा हराएको हुँदैन। कसैले आँसु देखाएर पीडा व्यक्त गर्छ, कसैले आफ्नो कर्म गरेर। पीडामा पनि कर्म गर्नेलाई हौसला दिऔँ, गाली होइन। Let them work. Let them rebuild.किनकि हामी सबैले काम नगरी यो फेरि देश कसरि उठ्छ? 🇳🇵🙏
✍️Dipa Simkhada