10/07/2026
ब्रह्मनाल, मृत्युसंस्कार र प्राणोत्क्रमणको विवेचना
नेपाली समाजमा प्रचलित अन्त्येष्टिसंस्कारका विविध आयामहरूमध्ये ब्रह्मनाल अथवा अर्धजलमा मृतकलाई शयन गराउने परम्परा तान्त्रिक विश्वाससँग सम्बद्ध रहेको पाइन्छ । वर्तमान समयमा यस संस्कारको मूल तात्त्विक अभिप्राय क्रमशः विस्मृत हुँदै गएकोमा धेरै स्थानमा यो केवल मृतकको चरणप्रक्षालन तथा मुखमा जलार्पण गर्ने लौकिक संस्कारका रूपमा सीमित भएको देखिन्छ । यद्यपि तान्त्रिक दृष्टिकोणबाट विचार गर्दा ब्रह्मनालमा मृतकलाई शयन गराउने विधान सामाजिक परम्परा मात्र नभई प्राणोत्क्रमणलाई उत्कृष्ट गतितर्फ अभिमुख गराउने आध्यात्मिक उपक्रमका रूपमा विकसित गरिएको देखिन्छ ।
तन्त्रदर्शनले मानवजीवनलाई केवल स्थूलशरीरको अस्तित्वका रूपमा मात्र सिमित नराखी समग्रमा शरीर, प्राण, मन, चित्त, नाडी, चक्र तथा चैतन्यको समन्वित आध्यात्मिक संरचनाका रूपमा व्याख्या गर्दछ । यही कारण मृत्यु पनि तन्त्रमा जैविक अन्त्य मात्र नभई चेतनाको एक अवस्थाबाट अर्को अवस्थामा हुने संक्रमणका रूपमा परिगणित गरिएको छ । साधनाको चरम उद्देश्य अलौकिक चमत्कार, मन्त्रसिद्धि वा लौकिक विभूतिको प्राप्ति नभई आत्मस्वरूपको प्रत्यक्षानुभूति तथा शिवशक्ति सामरस्यमा प्रतिष्ठित हुनु हो । तन्त्रमार्गले यसै आत्मतत्त्वको अनुसन्धानलाई साधनाको परमलक्ष्य मानेको छ ।
कुलार्णवतन्त्रमा साधनाको स्वरूपबारे स्पष्ट उल्लेख गरिएको छ—
न योगेन न सांख्येन न दानेन न कर्मणा ।
आत्मतत्त्वावबोधेन मोक्षः सिद्ध्यति निश्चितम् ॥
अर्थात् केवल बाह्य कर्म, दान, योगाभ्यास वा तर्कदर्शनबाट होइन, आत्मतत्त्वको प्रत्यक्ष बोधद्वारा नै मोक्षको सिद्धि सम्भव हुन्छ । यसैले तन्त्रपरम्परामा साधना अन्तर्मुखी चेतनाको परिष्कार तथा प्राणशक्तिको उत्कर्षसँग अभिन्नरूपमा सम्बद्ध मानिएको छ ।
यस आध्यात्मिक मार्गमा प्रत्येक व्यक्ति समान अधिकारी हुँदैन । आगमिक परम्पराले अधिकारभेदलाई अत्यन्त महत्त्व दिएको छ । जसरी प्रज्वलित अग्निलाई सुरक्षित राख्न उपयुक्त पात्र आवश्यक हुन्छ, त्यसरी नै साधनाका लागि मानसिक परिपक्वता, गुरुदीक्षा, संयमता तथा अन्तःकरणको शुद्धि अपरिहार्य मानिन्छ । यस कारण तन्त्रशास्त्रले साधकलाई क्रमशः दीक्षा, अभ्यास, अनुभूति र सिद्धिको सोपानबाट उन्नत गराउने विधान प्रतिपादन गरेको पाइन्छ ।
मानवशरीरमा स्थूल इन्द्रियहरूका अतिरिक्त सूक्ष्म नाडीचक्रहरूको विस्तृत तन्त्र विद्यमान हुन्छ । मूलाधारदेखि सहस्रारसम्म अवस्थित षट्चक्र तथा सहस्रारचक्र सम्पूर्ण योगमार्गको आध्यात्मिक मेरुदण्ड मानिन्छ । सहस्रारचक्रको केन्द्रमा अवस्थित ब्रह्मरन्ध्रलाई जीवात्माको परममार्ग, अमृतबिन्दुको अधिष्ठान तथा शिवचैतन्यसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने सूक्ष्म द्वारका रूपमा वर्णन गरिएको पाइन्छ । जन्मसमयमा नवजात शिशुको शिरको मध्यभागमा अवस्थित कोमल स्थानलाई यही ब्रह्मरन्ध्रको स्थूल अभिव्यक्ति मानिन्छ । शारीरिक विकाससँगै उक्त स्थान अस्थिबद्ध भए तापनि योगशास्त्र तथा तन्त्रदर्शनले त्यस सूक्ष्म द्वारलाई चेतनाको सर्वोच्च केन्द्रका रूपमा निरन्तर स्वीकार गरेकै छ ।
हठयोगप्रदीपिकामा सहस्रारको स्वरूप यस प्रकार निरूपित गरिएको छ—
ब्रह्मरन्ध्रे महापद्मं सहस्रदलसंयुतम् ।
तत्र कुण्डलिनी शक्तिर्नित्यं शिवसमाश्रिता ॥
यस श्लोकले ब्रह्मरन्ध्रलाई सहस्रदल कमलको केन्द्र तथा शिव–शक्तिको परमसंयोगस्थलका रूपमा प्रतिष्ठित गरेको छ ।
तान्त्रिक मतानुसार जीवितावस्थामा प्राणशक्ति दश प्रमुख द्वारहरूसँग सम्बद्ध रहन्छ । दुई नेत्र, दुई कर्ण, दुई नासिका, मुख, नाभि, गुदा तथा उपस्थ गरी दश द्वारलाई स्थूल इन्द्रियमार्ग मानिएको छ । यद्यपि उपनिषद् तथा योगतन्त्रले सहस्रारस्थित ब्रह्मरन्ध्रलाई ‘एकादशद्वार’ अथवा ‘परमद्वार’का रूपमा पनि व्याख्या गरेका छन् । प्राणोत्क्रमणको क्षणमा जीवको संस्कार, चित्तवृत्ति, कर्माशय तथा साधनाको स्तरअनुसार प्राण विभिन्न मार्गबाट निर्गत हुने तान्त्रिक विश्वास रहिआएको छ । सामान्य जीवको प्राण अधोमुखी वा मध्यगत द्वारबाट निर्गत हुन्छ भने योगाभ्यासद्वारा चैतन्यपरिष्कृत साधकको प्राण सुषुम्णानाडीमार्ग हुँदै ब्रह्मरन्ध्रबाट उत्क्रमण गरी शिवसायुज्य हुने विश्वास व्यक्त गरिएको पाइन्छ ।
भगवद्गीतामा पनि योगीको प्राणोत्क्रमणसम्बन्धी उल्लेख दृष्टव्य छ—
सर्वद्वाराणि संयम्य मनो हृदि निरुध्य च ।
मूर्ध्न्याधायात्मनः प्राणमास्थितो योगधारणाम् ॥ (गीता ८।१२)
अर्थात् सम्पूर्ण इन्द्रियद्वारलाई संयम गरी, मनलाई हृदयमा स्थिर राखी तथा प्राणलाई मस्तकमा प्रतिष्ठित गरेर योगी परमगतिको अभिलाषा गर्दछ ।
यही दार्शनिक आधारमा नेपाली तन्त्रपरम्परामा मृतकलाई दाहसंस्कारपूर्व ब्रह्मनाल वा अर्धजलमा शयन गराउने विधान विकसित भएको देखिन्छ । परम्परानुसार मृतकको नाभिसम्म शरीर जलमा निमग्न गराइन्छ । तान्त्रिक व्याख्याअनुसार जलको स्वाभाविक दाबले अधोमुखी इन्द्रियद्वारहरूको सक्रियता न्यून भई प्राणलाई उर्ध्वगमनतर्फ प्रेरणा प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ । यसै क्रममा नेत्र बन्द गरिनु, नासिका तथा कर्णमा जलसिक्त कर्पास स्थापित गरिनु, मुखमा सुवर्णखण्ड वा तुलसीयुक्त जल अर्पण गरिनु तथा शिरभागमा आराध्यदेवको सान्निध्य स्थापना गरिनुका पछाडि पनि प्राणलाई ब्रह्ममार्गतर्फ उन्मुख गराउने सांकेतिक तथा आध्यात्मिक अभिप्राय निहित रहेको मानिन्छ ।
नेपालमण्डलका विभिन्न ब्रह्मनालहरूमा विष्णुपादुका, शिवलिङ्ग, अनन्तनाग अथवा अन्य आराध्यदेवताका प्रतीकहरू प्रतिष्ठित हुनुको कारण पनि यही तान्त्रिक प्रतीकवाद हो । मृतकको शिरभागमा दिव्यचैतन्यको अधिष्ठान स्थापना गरेर प्राणलाई अधोगतिभन्दा उर्ध्वगतितर्फ प्रेरित गर्ने भाव यस संस्कारमा अन्तर्निहित रहेको बुझिन्छ ।
स्थानीय तान्त्रिक परम्परामा प्रचलित निम्न श्लोकले यही विश्वासलाई अभिव्यक्त गर्दछ—
ब्रह्मनाले विष्णुं मूर्ध्नि धारयन् यो विमुच्यते ।
स प्राप्नोत्युत्तमां गतिं मोक्षं चैव सनातनम् ॥
अर्थात् ब्रह्मनालमा शिरभागमा विष्णुको सान्निध्य प्राप्त गरी देहत्याग गर्ने जीवले उत्कृष्ट गति तथा सनातन मोक्ष प्राप्त गर्दछ भन्ने आगमिक मान्यता रहेको छ ।
यसै सन्दर्भमा पशुपति क्षेत्रको तारकेश्वर–तत्त्वलाई पनि तान्त्रिक परम्पराले विशेष महत्त्व दिएको पाइन्छ—
आर्यघाटस्थितो देवस्तारकेशपशुपतिः।
प्रेतानामुत्तमां गतिं दातुमधोमुखो विभुः॥
शिरसि गङ्गा तस्यास्ति पुण्यसलिलवाहिनी ।
तस्याः शीर्षे महाशक्तिर्राजराजेश्वरी स्थिता ॥
यस श्लोकअनुसार आर्यघाटस्थित तारकेश्वर पशुपतिनाथ मृतात्मालाई तारकब्रह्मविद्या प्रदान गर्ने अधिष्ठाता देवता मानिएका छन् । उहाँको शिरभागमा अवस्थित गङ्गा तथा त्यसमाथि अधिष्ठित राजराजेश्वरी शक्ति शिव–शक्ति–सामरस्यको परम प्रतीकका रूपमा व्याख्या गरिन्छ । फलतः पशुपति क्षेत्रको ब्रह्मनालमा सम्पन्न हुने अन्त्येष्टिसंस्कारलाई तारकविद्या, शक्तितत्त्व तथा मोक्षमार्गसँग सम्बद्ध तान्त्रिक साधनाको सांस्कृतिक अवशेषका रूपमा ग्रहण गर्न सकिन्छ ।
यस प्रकारसँगले ब्रह्मनाल अथवा अर्धजलको परम्परालाई केवल मृत्युसंस्कारको एक लौकिक विधि ठान्नु तान्त्रिक दृष्टिले पर्याप्त हुँदैन । यसको मूलाधार मानवशरीरको सूक्ष्म तत्त्वविज्ञान, प्राणोत्क्रमणको योगशास्त्रीय अवधारणा, ब्रह्मरन्ध्रको आध्यात्मिक महत्ता तथा मृतात्मालाई उर्ध्वगतिको कामना गर्ने आगमिक चिन्तनमा आधारित रहेको देखिन्छ । नेपाली तन्त्रसंस्कृतिमा यो परम्परा मृत्युको अन्तिम संस्कार मात्र नभई जीवचेतनालाई परमचैतन्यतर्फ उन्मुख गराउने गहन आध्यात्मिक प्रतीकका रूपमा आज पनि केही हदसम्म भएपनि जीवित रहेको छ ।
(यस लेखका लेखक सन्दीप सापकोटा हुनुहुन्छ भने फाेटाेहरू सामाजिक सञ्जालबाट लिइएका हुन् । )