
04/09/2024
चूपचाप दिनहुँ ५० मान्छे मारिरहेको क्षयरोग
------------------------------------------------------------------
सन् २०५० सम्म विश्वबाटै क्षयरोग उन्मूलन गर्ने लक्ष्य राखिए झैं नेपालको पनि २०३५ सालसम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य छ।
तर जसरी यो रोग फैलिरहेको छ, त्यसले सरकारले तोकेको समयसीमाभित्र निमिट्यान्न हुनेमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक प्रज्वल श्रेष्ठ नै विश्वस्त छैनन्। “समाजमा जसरी यो रोग फैलिइरहेको देखिन्छ, क्षयरोग ‘माइक्रोब्याक्ट्रेरियम ट्यूबरक्लोसिस ब्याक्टेरिया’ द्वारा फैलिने संक्रामक रोग हो, जसले मुख्यतः मान्छेको फोक्सोमा असर पार्छ। तर यो रोगले मिर्गौला, मेरुदण्ड, मस्तिष्क जस्ता अन्य अंगमाथि पनि आक्रमण गर्छ। यो खोकी, हाच्छिँउ र कुरा गर्दा श्वासप्रश्वासबाट सर्ने गर्छ। यो दुई प्रकारको हुन्छ- डिस टीबी अर्थात् सामान्य टीबी र डिआर टीबी अर्थात् जटिल खालको टीबी
यी टीबी सर्ने र नसर्ने दुवै खालका हुन्छन्। सरुवा- यसले रोगको लक्षण देखाउँछ र संक्रामक पनि हुन्छ। सक्रिय क्षयरोगका लक्षण भएका व्यक्तिलाई लामो समयसम्म खोकी लाग्छ। छाती दुख्छ, तौल घट्छ, ज्वरो आउँछ, रातमा पसिना बहन्छ र थकान महसूस हुन्छ। कहिलेकाहीं रगत मिसिएको खकार निस्कन्छ। क्षयरोगको समयमा उपचार नगराए यो प्राणघातक हुन सक्छ।
क्षयरोगलाई गरीबको रोग पनि भनिन्छ। आर्थिक अभावका कारण उचित खुराकको कमीले प्रतिरोधक क्षमतामा ह्रास आउने र क्षयरोग लाग्ने हुनाले यस्तो भनिएको हो। नेपाल जीवनस्तर सर्वेक्षण, २०७९/८० अनुसार नेपालमा गरीबीको रेखामुनि रहेका जनसंख्या करीब साढे ५८ लाख छ। गरीबी सँगसँगै जनघनत्व बढी हुने स्थानमा यो रोग फैलिइरहेको छ। जस्तै- मधेशमा २२.५३ प्रतिशत नागरिक गरीबीको रेखामुनि छन् भने जनसंख्याको घनत्व पनि बढी भएकाले क्षयरोगको असर बढी देखिन्छ।राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार, २०८० सालमा क्षयरोगीको संख्या ३७ हजार ४४७ देखिएको थियो, जसमध्ये जनघनत्व बढी हुने मधेशमा नौ हजार १६१, बागमतीमा आठ हजार ८४९ र लुम्बिनीमा सात हजार ७०६ जनामा क्षयरोग संक्रमण देखियो। यी तीन वटा प्रदेशमा मात्र ६८ प्रतिशत बिरामी छन्। केन्द्रले मधेशका आठ वटै जिल्लाका स्थानीय तहमा गई अध्ययन गरेको थियो। श्रेष्ठ भन्छन्, “गरीबी निवारण नभएसम्म क्षयरोग न्यूनीकरण गर्न सकिने अवस्था छैन।”
मधेशमा गरीबी मात्र छैन, अशिक्षा पनि निकै छ। मधेशमा सबैभन्दा कम साक्षरता दर (६३.५५ प्रतिशत) छ। त्यसैले क्षयरोग सम्बन्धी जनचेतना यी जिल्लामा कम रहेको निर्देशक श्रेष्ठ बताउँछन्। त्यसमाथि भारतसँगको बाक्लो सामाजिक सम्पर्कका कारण पनि उतैबाट संक्रमण फैलिएको पनि केन्द्रको आकलन छ।