08/06/2026
गम्भीर ध्यानाकर्षण! 📢
विषय: आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको प्रयासप्रति ह्योल्मो सञ्चार समूहको घोर भर्त्सना।
नेपाल सरकारले लामो संघर्ष र बलिदानबाट स्थापित 'आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान' तथा 'बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति' खारेज गर्ने तयारी गरेको भन्ने समाचारप्रति ह्योल्मो मिडिया ग्रुपको गम्भीर ध्यानाकर्षण भएको छ। राज्यको यो विभेदकारी र पहिचानविरोधी कदमको हामी कडा शब्दमा घोर भर्त्सना गर्दछौं।
ह्योल्मो समुदायलगायत नेपालका सम्पूर्ण हिमाली तथा पहाडी आदिवासी जनजातिहरू र बौद्ध धर्मावलम्बीहरूको भाषा, लिपि, संस्कृति, परम्परागत ज्ञान र हजारौं गुम्बा/विहारहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने यी आधिकारिक निकायहरू खारेज गर्नु राज्यको चरम असंवेदनशीलता हो। नेपालको कुल जनसंख्याको एकतिहाइभन्दा बढी हिस्सा ओगट्ने आदिवासी जनजाति र बौद्ध समुदायमाथिको यो प्रहार संविधानले सुनिश्चित गरेको धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, समानुपातिक सहभागिता र बहुलवादको मर्मविपरीत छ।
कुनै पनि राष्ट्र आफ्नो विविधता, इतिहास र मौलिक पहिचानलाई सम्मान गरेर मात्र बलियो बन्छ। 'खर्च कटौती' वा 'कार्यबोझ'को बाहनामा समुदायको आस्थाको केन्द्र र पहिचानसँग जोडिएका विशिष्ट संस्थाहरूलाई मास्ने अधिकार सरकारलाई छैन।
हाम्रा जोडदार मागहरू:
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान तथा गुम्बा विकास समिति खारेज गर्ने त्रुटिपूर्ण र संविधानविपरीतको निर्णय तत्काल फिर्ता गरियोस्।
यी संस्थाहरूलाई खारेज गर्नुको सट्टा, स्पष्ट नीति निर्माण गरी अझ बढी अधिकारसम्पन्न, स्वायत्त र सुदृढ निकायका रूपमा विकास गरियोस्।
आदिवासी जनजाति र बौद्ध समुदायका सरोकारवालाहरूसँग तत्काल संवाद गरियोस्।
राज्यले पहिचानलाई सम्बोधन गर्ने संस्थाहरूलाई समाप्त गर्ने होइन, अझ सशक्त बनाउने दायित्व निर्वाह गर्नुपर्छ। यदि राज्यले हाम्रो शान्तिपूर्ण आवाज र भावनालाई लत्याएर यो निर्णय जबर्जस्ती कार्यान्वयन गर्न खोजेमा, आफ्नो पहिचान, गुम्बा, सम्पदा र अधिकारको रक्षाका लागि ह्योल्मो समुदायसहित सम्पूर्ण आदिवासी जनजाति र बौद्ध धर्मावलम्बीहरू सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी स्पष्ट पार्न चाहन्छौं।
हाम्रो इतिहास, संस्कृति र पहिचानमाथि हस्तक्षेप गर्ने कुनै पनि प्रयास हामीलाई स्वीकार्य छैन!
ह्योल्मो सञ्चार समूह