19/01/2026
सोनाम ल्होछारको शुभकामना दिँदै सामाजिक अभियान्ता आशिका तामाङले आफ्नो दु:खद अतीत व्यक्त गरेकी छिन् । उनी लेख्छिन् - "
सानै छँदा बुबा भोटे काइला मलेखुमा हलि भएर पसिना बगाइरहनुहुन्थ्यो। घरमा पैसाको अभाव थियो, नयाँ लुगा किन्ने हैसियत थिएन। तर बुबाको एउटै वाक्य आज पनि कानमा घन्किन्छ “यो हाम्रो तामाङ समुदायको महान पर्व सोनाम ल्होछार हो, लोसार धुमधामसँग मनाउनै पर्छ।”
नयाँ लुगा नहुँदा पनि मागेर ल्याएको, च्यातिएको पुरानै कपडा सिलाएर लोसार मनाएको ती दिनहरू दुख, अभाव र आत्मसम्मानले भरिएका सम्झनाहरू आज पनि ताजै छन्।
आज मसँग सबैथोक छ। तर बुबा हुनुहुन्न।
मलेखुको पसिनासँग मिसिएको मेरो बुबाको माया, मेरो प्यारो भोटे काइला अब सम्झनामा मात्र हुनुहुन्छ। ल्होसार आउँदा खुसीसँगै आँखा रसाउँछन्, किनकि यो पर्व केवल उत्सव होइन, हाम्रो पीडा, संघर्ष, र अस्तित्वको गाथा हो।
तामाङ समुदायले पुस्तौँदेखि भोगेको उपेक्षा, अभाव र संघर्षका बाबजुद पनि संस्कार, संस्कृति र पहिचान जोगाइराख्ने शक्ति अमूल्य छ। यही शक्ति नै हामीलाई उठाइरहेको छ। यस पावन सोनाम ल्होछारले
सबै तामाङ दाजुभाइ दिदीबहिनीमा आशा, सम्मान, न्याय र आत्मगौरवको उज्यालो ल्याओस्।
सम्पूर्ण नेपाली मनमा एकता र समभाव मजबुत बनाओस्,
र नेपाल आमालाई शान्ति, समृद्धि र न्यायपूर्ण भविष्य प्रदान गरोस्।