14/09/2026
इन्डोर सुपर लिग सिजन २ को उपाधि पोखरा वारियर्सलाई, बुटवल १७ रनले पराजित 🏏
काठमाडौँ, भदौ २९ ।
कटिया हाउसको प्रस्तुति तथा एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित ‘इन्डोर सुपर लिग सिजन २’ को उपाधि पोखरा वारियर्सले जितेको छ।
काठमाडौँस्थित भेलोसिटी एरिनामा सम्पन्न फाइनल भिडन्तमा बुटवल एम्पायरलाई १७ रनले पराजित गर्दै पोखराले उपाधिमाथि कब्जा जमाएको हो।
नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन कुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको पोखरा वारियर्सले पहिलो इनिङ्समा ७९ रनको योगफल तयार पारेको थियो।
सुरुवाती ब्याटिङ धरासायी बनेको अवस्थामा पोखराका अमित श्रेष्ठले शानदार ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ उकासेका थिए।
जवाफमा ८० रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रिएको बुटवल एम्पायरका ब्याटरहरूले भने निराशाजनक प्रदर्शन गरे। पोखराका अमित श्रेष्ठले ब्याटिङपछि बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएपछि बुटवल एम्पायर लक्ष्यभन्दा १७ रनले पछि पर्दै उपविजेतामा चित्त बुझाउन बाध्य भयो।
कुल १० टोलीको सहभागिता रहेको उक्त प्रतियोगिता ७ दिनसम्म सञ्चालन भएको थियो। प्रतियोगिताभर कुल ४९ वटा खेलहरू खेलिएका थिए।
उपाधि विजेता पोखरा वारियर्सले नगद रु ५ लाख, ट्रफी तथा पदक प्राप्त गरेको छ भने उपविजेता बुटवल एम्पायरले नगद रु २ लाख र पदकमा चित्त बुझाएको छ।