Dindinai News

Dindinai  News दिनदिनै डट कम | सुक्ष्म विश्लेषण । दिनदिनै समाचार । डिजिटल जमानाको डिजिटल पत्रिका

शहीदको बलिदान बिर्सिएको भन्दै मधेशका नेतामाथि प्रश्न, नेतृत्व पुस्तान्तरणको मागजनकपुरधाम । मधेश आन्दोलनका वीर शहीदहरूको ...
11/09/2026

शहीदको बलिदान बिर्सिएको भन्दै मधेशका नेतामाथि प्रश्न, नेतृत्व पुस्तान्तरणको माग

जनकपुरधाम । मधेश आन्दोलनका वीर शहीदहरूको योगदान र बलिदानलाई राज्य तथा राजनीतिक नेतृत्वले बिर्सिँदै गएको भन्दै जनकपुरधाममा आयोजित एक कार्यक्रमका सहभागीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले मधेश आन्दोलनपछि शीर्ष नेताहरू सरकार र सत्तामा पुगे पनि शहीद तथा आन्दोलनको मूल मुद्दालाई प्राथमिकतामा नराखेको आरोप लगाएका छन्।
शहीद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबार जनकपुरधाममा शहीद संजय चौधरी, नितु यादव र दिलिप यादवको स्मृतिमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमअन्तर्गत बिहान शहीद गेटमा रहेका शहीदहरूको सालिकमा माल्यार्पण तथा सरसफाइ गरिएको थियो। त्यसपछि जनकपुरधामस्थित रौनियार धर्मशालामा दिउँसो १ बजेदेखि पुण्यतिथि तथा ‘मधेशको अबको बाटो’ विषयक संवाद कार्यक्रम आयोजना गरिएको थियो।
सो अवसरमा प्रतिष्ठानले धनुषा, महोत्तरी र सर्लाही जिल्लाका शहीद परिवारलाई सम्मान गरेको थियो। त्यस्तै, मधेश आन्दोलनमा सहभागी सामाजिक अभियन्ता, युवा तथा मधेशका स्थानीय नेताहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले मधेश आन्दोलनको उपलब्धि र त्यसपछि विकसित राजनीतिक परिस्थितिको निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिए। उनीहरूले आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका शहीदहरूको योगदानलाई राजनीतिक नेतृत्वले उचित सम्मान दिन नसकेको गुनासो गरे।
सहभागीहरूले मधेशका शीर्ष नेताहरू सच्चिनुपर्ने र आन्दोलनको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए। उनीहरूका अनुसार अबको मधेश आन्दोलन र राजनीतिक नेतृत्वमा पुस्तान्तरण अपरिहार्य भइसकेको छ।
वक्ताहरूले पछिल्ला निर्वाचनमा जनताले शीर्ष नेताहरूप्रति देखाएको असन्तुष्टिलाई समेत गम्भीर रूपमा लिनुपर्ने बताए। मधेशका प्रत्येक जिल्लामा यस्ता संवाद तथा समीक्षा कार्यक्रम निरन्तर सञ्चालन गर्दै आन्दोलनको उपलब्धि, कमजोरी र आगामी बाटोबारे गम्भीर बहस गर्नुपर्ने उनीहरूको भनाइ थियो।
मधेशको अधिकार, पहिचान र सम्मानका लागि जीवन बलिदान गरेका शहीदहरूको त्यागलाई सदैव स्मरण गर्नुपर्नेमा जोड दिँदै सहभागीहरूले शहीदहरूले देखाएको बाटोमा अघि बढ्नु नै उनीहरूप्रतिको सच्चा सम्मान हुने बताए।
कार्यक्रम शहीद संजय चौधरी स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा शहीद संजय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता संजय यादवले गरेका थिए।

डुलुवा’द्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ८६ हजार सहयोगपोखरा, २६ भदौपोखराका पर्यटनकर्मी युवाहरूको समूह ‘डुलुवा’ले प्र...
11/09/2026

डुलुवा’द्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ८६ हजार सहयोग
पोखरा, २६ भदौ
पोखराका पर्यटनकर्मी युवाहरूको समूह ‘डुलुवा’ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख ८६ हजार ७ सय २३ रूपैयाँ सहयोग गरेका छन् ।
विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले डुलुवा समूहले रकम प्रदान गरेको समूहका सचिव ठाकुरप्रसाद बरालले जानकारी दिए ।
राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म १२ अर्ब ६३ करोड ९९ लाख ५९७ रूपैयाँ मौज्दात रहेको छ ।
कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रूपैयाँ मौज्दात छ । त्यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको छ ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रूपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ ।
उनले विपत्तिको बेला सबै मिलेर सहयोग गरेमा सरकारलाई पनि सहयोग हुने बताए । यात्राका क्रममा सामाजिक काम गर्दै आएको डुलुवाका अध्यक्ष योगेश भट्टराईले जानकारी दिए । उनले यात्राका क्रममा विभिन्न विद्यालयहरूमा आवश्यक शैक्षिक सामग्री दिने गरेको उनको भनाइ छ ।
‘डुलुवा’ पोखराका पर्यटनकर्मी युवाहरूको समूह हो । सन् २००८ देखि प्याराग्लाइडिङ तथा पर्यटन व्यवसायमा आवद्ध युवाहरूले मिलेर नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण सुरु गरेका थिए । सोही समूहलाई सन् २०२० मा औपचारिक रूपमा ‘डुलुवा’ नामकरण गरिएको थियो ।
स्थापनाको १५ वर्षमा डुलुवा समूहले नेपालका ७२ जिल्ला भ्रमण गरिसकेको उनले बताए । समूहले भारतको कास्मिर हुँदै लद्दाख, त्यसै गरी कास्कीकोटबाट कन्याकुमारीसम्मको यात्रा गरिसकेको छ । पछिल्लो समय डुलुवा टोलीले ‘हुम्ला अन्तिम उपत्यका अभियान’ नाम दिएर यात्रा गरेको थियो ।
यात्राका क्रममा डुलुवा समूहले निर्माण गरेको ‘द नर्दर्न वाल’ भिडियोले ‘वि विल राइज फाउन्डेसन’ र नेपाल टेलिभिजनद्वारा आयोजित भिडियो प्रतियोगिताको उपाधि जितेको थियो । प्रतियोगितामा ‘मोस्ट एनर्जेटिक भिडियो मेकर’ अवार्ड पनि डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ भिडियोले प्राप्त गरेको छ । डुलुवाले नेपाल र पोखरा प्रमोसनका भिडियोहरू पनि निर्माण गर्दै आएको छ ।

गण्डकीमा गजलको इतिहासदेखि वर्तमानसम्म विमर्शपोखरा २७ भदाै । गण्डकी प्रदेशमा गजलको विकास, इतिहास र वर्तमान अवस्थाबारे पोख...
11/09/2026

गण्डकीमा गजलको इतिहासदेखि वर्तमानसम्म विमर्श

पोखरा २७ भदाै । गण्डकी प्रदेशमा गजलको विकास, इतिहास र वर्तमान अवस्थाबारे पोखरामा विमर्श गरिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानले मोती जयन्तीको अवसर पारेर शुक्रबार ‘गण्डकी प्रदेशमा गजल : विगत र वर्तमान’ विषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा प्राज्ञ अनुराग अधिकारी र साहित्यकार रुपिन्द्र प्रभावीले संयुक्त रूपमा तयार पारेको गोष्ठीपत्र प्रस्तुत गरिएको थियो। गोष्ठीपत्र प्रस्तुत गर्दै साहित्यकार प्रभावीले गण्डकी प्रदेशमा गजलको इतिहास, यस क्षेत्रमा भएका साहित्यिक गतिविधि, गजल कृति प्रकाशन गरेका स्रष्टा, सक्रिय संघसंस्था तथा गजल क्षेत्रले भोग्दै आएका विभिन्न उतारचढावका विषयमा प्रकाश पारे। गोष्ठीपत्रमाथि सहभागी साहित्यकार तथा स्रष्टाहरूले विभिन्न सुझावसमेत दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वमन्त्री गोविन्दबहादुर नेपालीले गण्डकीमा गजलको अवस्था समेटेर गोष्ठीपत्र तयार पार्न गरिएको मेहनतको प्रशंसा गरे। सहभागीबाट प्राप्त सुझावलाई समेटेर गोष्ठीपत्रलाई पूर्णता दिन आग्रह गर्दै उनले यो सामग्री आगामी दिनमा गण्डकी प्रदेशको गजल विधासम्बन्धी महत्वपूर्ण दस्तावेज बन्न सक्ने बताए।

पछिल्लो समय प्रविधिको तीव्र विकासले साहित्य क्षेत्रमा समेत प्रभाव पारिरहेको उल्लेख गर्दै नेपालीले कृत्रिम बौद्धिकता ९एआई० ले मानव अस्तित्वमै चुनौती थपिरहेको धारणा राखे। यस्तो अवस्थामा साहित्यको औचित्य र महत्व स्थापित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। नयाँ पुस्तामा साहित्यिक इतिहास र सिर्जनाको हस्तान्तरण हुन नसके त्यो इतिहास नै हराउने अवस्था आउन सक्ने भन्दै उनले यसतर्फ ध्यान दिन आग्रह गरे।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेले प्राज्ञिक र परिणाममुखी कार्यक्रम गर्ने योजनाअनुसार गोष्ठी आयोजना गरिएको बताए। कार्यक्रमले प्रतिष्ठानले सञ्चालन गरिरहेका साहित्यिक अभियानलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।

स्थानीय स्रष्टाले कृति तयार पार्दा विभिन्न झन्झट र समस्या भोग्नुपरेको उल्लेख गर्दै कुलपति न्यौपानेले स्रष्टालाई सहज वातावरण निर्माण गर्न प्रतिष्ठानले पहल गरिरहेको जानकारी दिए। प्रतिष्ठानले लेखकले तयार पारेका कृतिको विमोचन गरिदिने सोच बनाएको भन्दै उनले त्यसका लागि कृति विमोचन हुनुभन्दा कम्तीमा १० दिनअघि प्रतिष्ठानमा उपलब्ध गराउनुपर्ने बताए। अध्ययनका क्रममा त्रुटि नभेटिएमा मात्र विमोचन गरेर सहयोग गरिने उनको भनाइ थियो। उनले प्रतिष्ठानमा विभिन्न विषयमा गोष्ठीपत्र प्रस्तुत गर्ने कार्यक्रमलाई निरन्तरता दिइने जानकारीसमेत दिए।

कार्यक्रममा साहित्यकारहरू शिव त्रिपाठी, दिलीप दोषी र रुपिन्द्र प्रभावी तथा प्राज्ञहरू कमल पौडेल ‘अथक’, इन्द्रमान खत्री, शान्ता बास्तोला र अनुराग अधिकारीसहित पूर्वमन्त्री नेपालीले गजल वाचन गरेका थिए।

कार्यक्रमको औचित्यमाथि प्रतिष्ठानका सदस्य–सचिव मनकुमार श्रेष्ठले प्रकाश पारे । उनले प्रतिष्ठानले सम्पन्न गरेका तथा आगामी दिनमा सञ्चालन गर्ने विभिन्न कार्यक्रमबारे जानकारी दिए। उपकुलपति शंकरविरही गुरुङले स्वागत गरेको कार्यक्रम कार्यक्रम संयोजकसमेत रहेका प्राज्ञ अनुराग अधिकारीले सञ्चालन गरेका थिए।

भोटेकोशी बाढी प्रभावित किसानको क्षति विवरण सार्वजनिक गरी क्षतिपूर्ति दिन फोर एच नेपालको मागकाठमाडौं । भोटेकोशी नदीमा आएक...
11/09/2026

भोटेकोशी बाढी प्रभावित किसानको क्षति विवरण सार्वजनिक गरी क्षतिपूर्ति दिन फोर एच नेपालको माग
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोर एच नेपालले सरकारसँग माग गरेको छ । फोर एच नेपालका संस्थापक अध्यक्ष लोकराज अवस्थीले जारी गरिएको वक्तव्यमा यहीं भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोको दुई हप्ता बितिसक्दा पनि प्रभावित किसान, कृषि उत्पादन, पशुधन तथा कृषि संरचनामा भएको क्षतिको विस्तृत विवरण नआएको जनाईएको छ ।
बाढीपहिरोका कारण रसुवा, नुवाकोट तथा धादिङका विभिन्न क्षेत्रमा किसान तथा कृषि उद्यमीहरूले खेतीयोग्य जमिन, बाली, पशुचौपाया, कृषि सामग्री तथा कृषि पूर्वाधारमा ठूलो क्षति व्यहोर्नुपरेको वक्तव्यमा जनाइएको छ । तर, प्रभावित किसानको वास्तविक संख्या, क्षतिग्रस्त खेतबारी, पशुधन तथा कृषि उत्पादनको स्पष्ट विवरण सार्वजनिक नभएको र राहत तथा क्षतिपूर्तिको व्यवस्था पनि प्रभावकारी रूपमा अघि बढ्न नसकेको फोर एच नेपालले जनाएको छ ।
फोर नेपालले भोटेकोशी बाढीबाट प्रभावित किसानको संख्या, खेतबारीमा भएको क्षति, पशुचौपायाको विवरण तथा बाढीबाट बगाइएका वा क्षतिग्रस्त दुग्ध तथा तरकारी संकलन केन्द्र, हाटबजारलगायत कृषि संरचनाको तथ्यांक तत्काल सार्वजनिक गर्न नेपाल सरकार तथा सम्बन्धित स्थानीय तहसँग माग गरेको छ ।
अवस्थीद्धारा जारी वक्तव्यमा प्रभावित किसान तथा कृषि उद्यमीलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, क्षति भएको कृषि उत्पादन, पशुधन, सामग्री तथा पूर्वाधारको मूल्यांकन गरी हानीनोक्सानीका आधारमा क्षतिपूर्ति दिन तथा प्रभावित परिवारका लागि वैकल्पिक आयआर्जनको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
यसैगरी, बाढीपहिरोका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा पुल, सडक तथा आवतजावतका मार्ग क्षतिग्रस्त वा बगाइएका कारण उक्त क्षेत्रका किसानले उत्पादन गरेका तरकारी, फलफूल, दूधलगायत कृषि उपज बजारसम्म पु¥याउन कठिनाइ भइरहेको फोर एचले नेपालले जनाएको छ। यातायात तथा बजार पहुँचको अभावमा कृषि उत्पादन खेर जाने अवस्था बढ्दै जाँदा किसान थप आर्थिक संकटमा परेको संस्थाको भनाइ रहेकोछ ।
जारी वक्तव्यमा कृषि उपजको वैकल्पिक ढुवानी तथा बजारीकरणको तत्काल व्यवस्था गर्न, अस्थायी कृषि संकलन केन्द्र स्थापना गर्न तथा प्रभावित किसानको उत्पादनलाई सहज रूपमा बजारसम्म पु¥याउने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तह तथा नेपाल सरकारसँग आग्रह गरेको छ ।
साथै, प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना तथा दीर्घकालीन व्यवस्थापनका लागि लागि नेपाल सरकार, दातृ निकाय, सामाजिक संघसंस्था तथा अन्य सरोकारवाला निकायलाई सहकार्य र सहयोगका लागि फोर एच नेपालले अपिल गरेकोछ ।

बाको मुख हेर्ने दिन : आफ्नै संस्कारमा उहाँको दर्शन  बा खुसी हुनुहुन्छ ?अच्युतकृष्ण शरणआज बाको मुख हेर्ने दिन .... धेरै स...
11/09/2026

बाको मुख हेर्ने दिन : आफ्नै संस्कारमा उहाँको दर्शन बा खुसी हुनुहुन्छ ?

अच्युतकृष्ण शरण
आज बाको मुख हेर्ने दिन .... धेरै सन्तानले आज बाबुको अनुहार हेर्लान्, मिठाई खुवाउलान्, नयाँ कपडा फेरिदेलान् र खुट्टा ढोगेर आशीर्वाद लेलान् । सामाजिक सञ्जालमा बाबुसँगको मुस्कुराउँदो तस्बिर पोस्ट गर्दै प्रेम, सम्मान र कृतज्ञताका शब्दहरू पनि पोखिएलान् । तर, यो पर्व मनाउँदै गर्दा आज हामीले आफैसँग एउटा असहज र गम्भीर प्रश्नको जवाफ माग्नुपर्ने समय आएको छ । हामीले बाको अनुहार मात्र हेरिरहेका छौँ ? कि उहाँको जीवन पनि पढिरहेका छौँ ? के हामीले उहाँका आँखामा कहिल्यै श्रद्धा र भावपुर्वक ध्यान दिएर हेरेका छौँ ? त्यहाँ हामीलाई पढाउन, बढाउन, हुर्काउन र हाम्रा सपना पूरा गराउन आफ्ना कयौँ सपना र इच्छाको तिलाञ्जली दिँदै बिताएका दशकौँको संघर्ष लुकेको छ । हाम्रो भविष्यका लागि उहाँले बगाएको रगत र पसिना, सहनुभएको अभाव र भोग्नुभएको पीडा छ । के हामीले कहिल्यै यसको महसुस गरेका छौँ ? हाम्रो सुख र सुरक्षित भविष्यका लागि वषर्षैँ श्रम गर्दा उहाँका हातमा उठेका ठेला र ती हातले बोकेको संघर्षको भार के हामीले कहिल्यै स्पर्श गरेका छौँ ? उहाँको अनुहारमा उम्रिएका प्रत्येक चाउरीलाई कहिल्यै पढेका छौँ ? आफ्ना सबै प्रयासका बाबजुद हाम्रा कतिपय इच्छा पूरा गर्न नसक्दा उहाँको मनभित्र खुम्चिएका पीडा र अधुरा रहन पुगेका सपनाहरू के हामीले कहिल्यै देखेका छौँ ? हो, बा धेरै कुरा भन्नुहुन्न ! तर उहाँको मौनताभित्र माया छ, चिन्ता छ, जिम्मेवारी छ, त्याग छ र सन्तानप्रतिको निसर्त समर्पण छ । के हामीले त्यो मौन भाषा बुझ्न सकेका छौँ ? सँगसँगै के हाम्रो व्यवहारले उहाँलाई सम्मान दिएको छ ? के हाम्रो संस्कारले उहाँको त्यागको मूल्य बुझेको छ ? के हाम्रो कर्तव्यले उहाँको ऋण सम्झिएको छ ? वा हामीले उहाँलाई केवल सम्पत्तिको स्रोत, आवश्यकताको सहारा र आफ्नो सुविधाअनुसार सम्झिने सम्बन्धमा सीमित गरिदिएका छौँ ? भन्ने प्रश्नको जवाफ पनि हामीले आज नै आफैसँग माग्नुपर्छ । र, हरेक उत्तरलाई इमान्दार भएर मन्थन गर्दै बा को मुख हेर्नु पर्छ । आज केवल कर्मकाण्डीरुपमा ‘बिरालो बाँधेर श्राद्ध’ गरेजसरी बा को अनुहार हेर्नु भन्दा पहिला हाम्रो कर्म, व्यवहार र संस्कार देखेर उहाँ साँच्चिकै खुसी हुनुहुन्छ ? कि हुनुहुँदैन ? भन्ने कुरा हेर्नु अत्यावश्यक छ । किनकि बाको मुख हेर्ने दिनमा उहाँको जीवनभरको त्याग, प्रेम, संघर्ष र मौन प्रार्थनालाई आफ्नै अन्तःकरणमा हेर्न सकेनौँ भने यसको तात्विक अर्थ रहँदैन् । किनकी मलाई लाग्छ, पक्कै पनि मिठाई, नयाँ कपडा वा सामाजिक सञ्जालका केही ‘लाइक’ र ‘कमेन्ट’ ले मात्र बा खुसी हुनुहुँदैन । जीवनको अन्तिम चरणमा पुग्दासम्म आफू आफ्ना सन्तानका लागि सर्वथा परम प्रिय, परम आदर्शको पात्र, सम्मानित, सुरक्षित र अत्यावश्यक छु भन्ने कुरा सन्तानको व्यवहारबाट अनुभूति गरेपछि मात्रै बा खुसी हुनुहुनेछ । बाल्यकालमा हामी बोल्न नसक्दा बाले हाम्रो भाषा बुझ्नुभयो । हामी हिँड्न नसक्दा हात समात्नुभयो । हामी डराउँदा साहस दिनुभयो । हामी लड्दा उठाउनुभयो । हामी बिरामी हुँदा रातभर जाग्नुभयो । हामी असफल हुँदा फेरि उठ्न सिकाउनुभयो । आज उहाँ वृद्ध हुनुहुन्छ । शरीर कमजोर हुँदैछ । आँखा धमिलिँदैछन् । कान कम सुन्न थालेका छन् । हिँडाइ सुस्त हुँदैछ । अब उहाँलाई संसारको सबै सुविधाको खासै अर्थ नहुन सक्छ । किनकी मनोविज्ञान अनुसार बृद्धावस्थामा उहाँलाई सन्तानको समय, संवाद, सम्मान, सुरक्षा, स्नेह, आफ्नोपन र सबैभन्दा ठूलो कुरा म आफ्ना सन्तानका लागि सदैव प्रिय छु भन्ने अनुभूति चाहिएको हुन्छ । तैत्तिरीय उपनिषद्को शिक्षामा भनिएको छ, ‘मातृदेवो भव । पितृदेवो भव ।’ मातापिता साक्षात् भगवान्का स्वरुप हुन् । पिता एउटा जीवित दर्शन हुन । इतिहास हुन्, संस्कार हुन्, संघर्ष हुन्, त्याग हुन् र उत्तरदायित्व हुन् । सन्तानको वर्तमान निर्माण गर्न आफ्नो वर्तमान होमिदिने जीवन हुन् । तसर्थ, बा जीवनका जीवित प्रतिमूर्ति हुन् । हाम्रा सनातन सभ्यताका हरेक पर्वहरू मानिसलाई आफ्नो मूल र अस्तित्वसँग पुनः जोड्ने सांस्कृतिक चेतना हुन । बाको मुख हेर्ने दिनु पनि केवल एउटा अनुहार नियाल्ने औपचारिक अवसरको दिन होइन । यो त आफ्नो सनातन जरा र उद्गम खोतल्ने दिन हो । हामी कहाँबाट आयौँ ? कसको श्रमको जगमा हाम्रो वर्तमान उभिएको छ ? हाम्रो रगत र शरीरमा कसको अंश छ ? हाम्रा चालचलन र संस्कारमा कसको अमिट छाप छ ? हाम्रो बाल्यकाललाई सुरक्षा दिन कसले आफ्नो सर्वश्व सुम्पियो ? र, हाम्रो उज्ज्वल भविष्य निर्माण गर्न कसले आफ्नो वर्तमान सहर्ष आहुति दियो ? यी प्रश्नहरूको गहिरो आत्मबोध र स्मरण नै यस पर्वको वास्तविक साधना हो । यदि पर्व बाह्य आडम्बर र औपचारिकतामै सीमित रह्यो भने, त्यो एउटा सामान्य दिनझैँ बितेर जान्छ । तर, यदि पर्वको यो मर्म मानिसको चेतनामित्र प्रवेश गर्नसक्यौँ भने मानिसभित्र एउटा रूपान्तरण सुरु हुन्छ । त्यसैले, आज बाको अनुहार नियाल्दा केवल एउटा मान्छेको रूप नहेरौँ । उहाँको अनुहारका हरेक रेखा र चाउरीमा आफ्नो अस्तित्वको सिङ्गो इतिहास पढौँ । आज हाम्रो समाज एउटा अनौठो र दर्दनाक विरोधाभासबाट गुज्रिरहेको छ । घर विशाल छ, आँगनमा गाडी छ, व्यापार व्यवसाय फस्टाएको छ, बैंक खाता भरिपूर्ण छ, आधुनिक सुविधाको कुनै कमी छैन । तर, त्यही भव्य महलको एउटा कुनामा बूढा बाआमाका लागि सन्तानको दुई पलको समय छैन । कतिपय सम्पन्न परिवारले बाबुआमाको हेरचाहका लागि सुसारे र नर्सहरू राखेका छन् । समयमै औषधि पुग्छ, मीठो मसिनो खाना पुग्छ, कोठा सफा हुन्छ, उत्कृष्ट चिकित्सा सुविधा उपलब्ध हुन्छ । तर यहाँ प्रश्न भौतिक सुविधाको भन्दा आत्मीयताको हो । भाडाका मानिसले शरीरको स्याहार गर्न सक्छन्, तर सन्तानको न्यास्रो मेट्न सक्दैनन् । नर्सले समयमा औषधि खुवाउन सक्छिन्, तर बा, आज हजुरलाई कस्तो छ ? भनेर अंगालो मार्ने छोराछोरीको भावनात्मक स्थान लिन सक्दिनन् । सुविधा र प्रबन्ध त पैसाले किन्न सकिएला । तर सम्बन्धहरू प्रतिनिधि राखेर चलाउन सकिँदैन । यतिमात्रै होईन्, कतिपय अबस्थामा सन्तान आर्थिक रूपमा सम्पन्न छन्, आफ्नै विशाल घर छ, हेरचाह गर्ने सामथ्र्य छ । अझ बाबुआमालाई साथै राख्न सकिने सम्पूर्ण अनुकूलता छ तानिपनि केवल आफ्नो सहजता, व्यक्तिगत स्वतन्त्रता वा विलासी जीवनशैलीका कारण वृद्ध बाबुआमालाई वृद्धाश्रमको कोठामा लगेर राख्ने गरेको दृष्यहरु पनि प्रशस्तै देखिन्छ । साथै आज लाखौँ नेपाली रोजगारी, अध्ययन र अवसरका लागि विदेशमा छन् । परिवारको भविष्यका लागि परदेश पुगेर संघर्ष गर्नु सम्मानयोग्य कुरा हो । पैसा पठाउनु पनि जिम्मेवारीको एउटा रूप हो । तर बुढा भएका बाआमालाई पैसा पठाएर मात्रै खुसी दिएको छु भन्ने सोच्नु मुर्खता हुनसक्छ । दूरीलाई नियति नबनाऔँ । समय निकालौँ । नियमित कुरा गरौँ । उहाँको स्वास्थ्य सँगै मनको अवस्था पनि सोधौँ । किनकि तपाईँले पठाएको पैसा घर चलाउन सक्छ । मनको रित्तोपन भने पूरा गर्न सक्दैन् । भौगोलिक दूरीभन्दा कहिलेकाहीँ भावनात्मक दूरी धेरै पीडादायी हुन्छ । अहिलेको पारिवारिक अबस्था हेर्दा बा एउटा कोठामा छोरा अर्काे कोठामा, छोरी मोबाइलमा अनि नातिनातिना आफ्नै डिजिटल संसारमा व्यस्त हुन्छन् । भान्सा एउटै, छाना एउटै तर आपसी संवाद छैन । यस्तो परिवारमा दूरी कति किलोमिटर छ ? भौतिक रुपमा सायद शून्य हुनसक्छ तर मनबीचको दूरी अनन्त देखिन्छ । त्यसैले बाको मुख हेर्ने दिन विदेशमा भएका सन्तानका लागि मात्र होइन । बासँग एउटै घरमा बसेर पनि बासँग कुरा गर्न बिर्सिएका सन्तानका लागि पनि हो । हाम्रो पुस्ताका धेरै बाबुहरू आफ्ना भावनाबारे बोल्न सिकेका थिएनन् । उनीहरूले प्रेमलाई शब्दमा भन्दा जिम्मेवारीमा व्यक्त गरे । सायदै कुनै बाले सन्तानलाई म तिमीलाई माया गर्छु भनेनन् होला । तर बिहान हरदिन सबेरै उठेर सन्तानका निम्ती काम गरे । हुनसक्छ महँगो उपहार दिनसकेनन् होला, तर आफ्नो कयौँ आवश्यकतालाई रोक्दै सन्तानको आवश्यकता पूरा गरे । आफ्नो दुःख चुपचाप सहेर सधैँँ सन्तानको दुःख सुने । त्यसैले आज बाबुको प्रेमलाई केवल आधुनिक भाषाको अभिव्यक्तिबाट नाप्नु पनि उचित हुँदैन । कहिलेकाहीँ बाबुको मौनता नै प्रेमको सबैभन्दा लामो वाक्य हुन्छ । उहाँको कठोरता पछाडि सन्तान अनुशासनहीन हुने डर हुन सक्छ । उहाँको नियन्त्रण पछाडि सुरक्षा हुन सक्छ । उहाँको मौनताभित्र चिन्ता हुन सक्छ । वृद्ध बाबुआमाको थकित मनले माथिका जुनसुकै अबस्थामा रहँदा पनि दिनरात केवल मेरो छोरो मलाई भेट्न कहिले आउलान् ? मेरी छोराछोरी मसित दुई मिनेट मिठो बोल्दै कहिले बसिदेलान् ? भन्ने प्रश्नको जवाफ अनुभुतीबाट गर्न चाहान्छन् । जसको जवाफ सन्तानका संसारको कुनै पनि बैंक खाता वा भौतिक धनले दिन सक्दैन । हाम्रो समाजमा सबैभन्दा पीडादायी विकृति त्यतिबेला देखिन्छ जब सन्तानले बाबुलाई तपाईँले जीवनभर मलाई के दिनुभयो ? मेरा लागि के गर्नुभयो ? मेरो लागि कति धन जम्मा गर्दिनुभयो ? तपाईँको प्यारो अर्काे सन्तानलाई यति सम्पति, मलाई किन कम ? जग्गा कसको नाममा छ ? अंश कहिले दिने ? जस्ता प्रश्न गर्न थाल्छन् । जब कृतज्ञताको ठाउँमा अधिकार आउँछ । प्रेमको ठाउँमा अपेक्षा आउँछ । अपेक्षा विस्तारै आसक्तिमा बदलिन्छ । आसक्ति असन्तोषमा, असन्तोष विवादमा अनि अन्ततः यहाँ सम्बन्धको अर्थ नै सकिन्छ । र, सन्तानले आफ्नै बाबुलाई सम्पत्तिको कागजमा खोज्न थाल्छ । सम्पत्ति बाँडिन सक्छ, तर बाबुको जीवन कहिल्यै बाँड्न सकिँदैन । जग्गाको कित्ता छुट्याउन सकिन्छ, तर जन्मदाताको ऋणको कित्ता छुट्याउन सकिँदैन । घरको कोठा बाँड्न सकिन्छ, तर बाल्यकालमा बाबुले दिएको संरक्षणको मूल्य विभाजन गर्न सकिँदैन । त्यसैले सन्तानले सम्पत्तिलाई बाबुप्रतिको प्रेमको मापन बनाउनु संस्कारको पतन हो । पितृसम्मानको नाममा बाबुआमाका सबै व्यवहारलाई सही ठहर गर्न पनि मिल्दैन । अभिभावकत्वको अर्थ सन्तानलाई जन्म दिनु मात्र होइन । उसलाई स्वतन्त्र, जिम्मेवार र चरित्रवान् बनाउनु पनि हो । कतिपय बाबुआमाले सन्तानलाई सम्पत्तिको आश्वासन, डर वा लोभमा नियन्त्रण गरिरहन्छन् । कतिपय अबस्थामा अभिभावकमा पनि ‘तिमीले जसरी पनि मैले भनेको मान्नुपर्छ, मैले भनेकै मात्रै गर्नुपर्छ । नत्र तिमीलाई यो दिन्नँ, तिम्रा लागि यस्तो गर्दिन्नँ ।’ जस्ता कुरा गरेर नियन्त्रण गर्न खोज्ने प्रवृत्ति देखिन्छ । यस्तो अवस्थामा मातापिता प्रेमको माध्यम नभई नियन्त्रणको साधन बन्न सक्छन् । त्यसैले बाबुआमाले पनि सन्तानलाई सम्पत्तिभन्दा ठूलो विरासतका रुपमा असल चरित्र, संस्कार, विवेक, कर्तव्यबोध, आत्मविश्वास, आध्यात्मिक दृष्टि दिनुपर्छ । अनि मात्रै सन्तानमा पितृचिन्तन अत्यन्त गहिरो बन्दै जान्छ । सनातन परम्परा अनुसार हामी आज जुन व्यक्ति बनेका छौँ, त्यसमा केवल हाम्रो व्यक्तिगत प्रयत्न छैन । हाम्रो शरीरमा अघिल्लो पुस्ताको निरन्तरता छ । हाम्रो भाषामा उनीहरूको योगदान छ । हाम्रो संस्कारमा उनीहरूको छाप छ । हाम्रो सामाजिक अस्तित्वमा उनीहरूको श्रम छ । हामीले पाएको अवसरमा उनीहरूको त्याग छ भन्ने भावना आउँछ । म फेरि भन्छु, आज सबैले बाबुको अनुहारमा आफ्नो भविष्य हेरौँ । आज केही क्षण बाबुको अगाडि मौन बसौँ । शशरीर उहाँको नजिक नहुनेले ध्यानमा उहाँसँगै बसौँ । र उहाँको निधार हेरौँ, सायद त्यहाँ हाम्रो बाल्यकालको कथा छ । उहाँका हात हेरौँ, सायद त्यहाँ हाम्रो भविष्यका लागि गरिएको श्रम छ । उहाँका खुट्टा हेरौँ, सायद ती खुट्टाले हाम्रो जीवनका लागि हजारौँ पाइला हिँडेका छन् । उहाँका आँखा हेरौँ, सायद त्यहाँ हामीप्रतिको प्रेम अझै उस्तै छ । र त्यसपछि आफैँलाई सोधौँ, के म बाको योग्य सन्तान बन्न सकेँ ? मैले उहाँलाई धन दिएँ कि समय पनि ? मैले शरीरको हेरचाह गरेँ कि मनको पनि ? मैले उहाँको संस्कार ग्रहण गरेँ कि सम्पत्ति मात्र ? मैले उहाँसँग असहमति हुँदा पनि उहाँप्रतिको सम्मान जोगाएँ कि जोगाइनँ ? मैले उहाँलाई जीवित हुँदा कृतज्ञता दिएँ कि मृत्युको प्रतीक्षा गरिरहेको छु ? र अन्ततः बा, तपाईं खुसी हुनुहुन्छ ? यस प्रश्नको उत्तर बाको मुखबाट सुन्नुभन्दा पहिले आफ्नो अन्तरात्माबाट सुन्नुपर्छ । यदि बा आज तपाईंसँग हुनुहुन्छ भने आज ठूलो उपहार दिन नसके पनि हुन्छ । ठूलो भोज नगरे पनि हुन्छ । महँगो कपडा नकिने पनि हुन्छ । सामाजिक सञ्जालमा तस्बिर नराखे पनि हुन्छ । तर केही समय उहाँको छेउमा बस्नुहोस् । उहाँको हात समात्नुहोस् । उहाँको आँखामा हेर्नुहोस् । उहाँका पुराना कुरा सुन्नुहोस् । उहाँलाई सोध्नुहोस्, बा, तपाईंलाई अहिले के चाहिएको छ ? सायद केही छैन । मलाई के चाहिएको छ र ? तिमीहरु खुसी भएपुग्छ उत्तर यही हुनेछ । तर ख्याल गर्नुस्, त्यो केही चाहिएको छैन भित्र धेरै कुरा लुकेको हुन्छ । सायद उहाँलाई तपाईंको साथ चाहिएको छ । सायद केही बोल्न मन लागेको छ । सायद कुनै पुरानो दुःख सुनाउन चाहनुभएको छ । सायद केवल तपाईंलाई नजिक देखेर सन्तुष्ट हुन चाहनुभएको छ । त्यसैले उहाँको शब्द मात्र होइन, मौनता पनि सुन्नुहोस् । सबैको भाग्यमा सधैँ जीवित बाबुको मुख हेर्ने अवसर हुँदैन । यदि बा अब यस संसारमा हुनुहुन्न भने आज उहाँको स्मरण गरौँ । तर स्मरणलाई केवल आँसुमा सीमित नगरौँ । उहाँले दिएको राम्रो कुरा आफ्नो जीवनमा उतारौँ । उहाँका अधुरा सपना पूरा गर्न सकिने भए पूरा गरौँ । उहाँले गरेको राम्रो कर्मलाई निरन्तरता दिऔँ । उहाँबाट पाएको संस्कार आफ्ना सन्तानलाई दिऔँ । र मनमनै भनौँ, ‘बा, तपाईं शरीरमा हुनुहुन्न । तर तपाईंले दिएको जीवनदृष्टि मभित्र जीवित राख्नेछु ।’ सायद यही पितृस्मरणको सबैभन्दा अर्थपूर्ण रूप हो । बा बितेपछि ठूलो फोटो राखेर श्रद्धाञ्जली दिन सजिलो छ । तर बा जीवित हुँदा उहाँको छेउमा बस्नु ठूलो कुरा हो । मृत्यु भएपछि फूल चढाउनु सजिलो छ । तर जीवित हुँदा उहाँको मन नदुखाउनु कठिन छ । श्राद्ध गर्नु संस्कार हो । तर जीवनभर कृतज्ञ भएर बाँच्नु अझ गहिरो साधना हो । आज खुट्टा ढोग्नु सजिलो छ । तर उहाँले देखाएको सत्य, श्रम, अनुशासन, त्याग र जीवनमूल्यको बाटोमा हिँड्नु कठिन छ । तर यही कठिन बाटो नै वास्तविक सम्मान हो । त्यसैले आजको दिन केवल पर्व नबनोस् । आत्ममन्थनको अबसर बनोस् । आज हामी आधुनिकताको शिखरतिर उक्लिरहेका छौँ । प्रविधिले सिङ्गो संसारलाई हाम्रो हत्केलामा ल्याएर राखिदिएको छ । स्क्रिनको एउटा स्पर्शले हजारौँ माइलको दूरी क्षणभरमै मेटाइदिन्छ । कृत्रिम बुद्धिमत्ता एआईले मानव जीवनका जटिलताहरू सहज बनाइदिँदै छ । सूचनाको बाढी छ, सुविधाको चाङ छ र उपभोगका असीमित साधनहरू छन् । तर, यो भौतिक प्रगतिबिच के प्रविधिसँगै मानिसभित्रको मानवता पनि बढेको छ त ? भन्ने गम्भीर प्रश्न अनुत्तरित छ । हामीसँग हजारौँ डिजिटल साथीहरू छन्, तर मनको ढोका खोलेर दुःख सुख साट्ने साँचो सम्बन्धको अभाव छ । हामीसँग संसारभरका तथ्य र तथ्याङ्क छन्, तर आफ्नै जीवनको गन्तव्य र उद्देश्यबारे घोर अस्पष्टता छ । हामीसँग मनोरञ्जनका अनगिन्ती दृश्यहरू छन्, तर मनभित्रको आन्तरिक शान्ति र आनन्द भने हराउँदै छ । हामीसँग सम्पत्र् िजोड्ने अनेकौँ अवसर छन्, तर आफ्नै प्रियजनलाई दिने दुई पलको समय छैन । विडम्बना ! हामी डिजिटल पर्दामा प्रविधिसँग गहिरोसँग जोडिएका छौँ, तर आत्मिक र भावनात्मक रूपमा भने एकापसमा टाढिँदै छौँ । आजको मानिसको दैनिकी एउटा निरर्थक जस्तो बन्दै गएको छ । उठ्ने, दौडिने, पढ्ने, कमाउने, उपभोग गर्ने, स्क्रोल गर्ने, अनि सुत्ने अनि फेरि उही बिहानी, फेरि उस्तै दौडधुप यही नै आजका अधिकांश मानिसको सामान्यतया दिनचार्य हो । आखिर विश्व समाजमा यस्तो दुरावस्था कसरी आयो ? यो यान्त्रिक जस्तै जीवनको दौडमा हामीले वास्तवमै म आखिर केका लागि बाँचिरहेको छु ? भन्ने एउटा आधारभूत प्रश्न किन सोध्न बिर्सिएका छौँ । जब मानिसले जीवनको भित्री मर्म र उद्देश्य बिर्सन्छ, तब उसका सम्बन्धहरू पनि प्रेममा भन्दा उपयोगिताु को तराजुमा जोकिन थाल्छन् । त्यसपछि सम्बन्धहरूको न्यानोपन हराउँछ । र जीवनको फेद बनेर उभिएका बाबु पनि प्रेम र श्रद्धाका प्रतीक नरहेर केवल सम्पत्तिको स्रोत, सुविधाका प्रदायक, र आर्थिक सुरक्षाका आधार मात्र देखिन थाल्छन् । र, मानवीय संवेदनाको वास्तविक पतन यही बिन्दुबाट सुरु हुन्छ । मेरो हृदयमा कहिलेकाँही हाम्रा अघिल्ला पुस्ता अथवा बाहरुले आफ्ना सन्तानलाई सधैँ सफल हुनुपर्छ भनेर त बारम्बार सिकाउनु भयो तर किन कहिल्यै मनुष्य जीवन बुझ्न सिकाउनु भएन होला ? भन्ने प्रश्न पटकपटक आउने गर्छ । केही दशक अघिदेखि आजसम्मको विश्व समाजलाई नियाल्ने हो भने बाल्यकालदेखि नै प्रायः अभिभावकहरु आफ्ना सन्तानलाई ‘धेरै पढ, ठूलो मान्छे बन्नुपर्छ, उच्च ओहोदाको जागिर खानुपर्छ, प्रशस्त पैसा कमाउनुपर्छ , ठूलो घर बनाउनुपर्छ, समाजमा सानदार नाम कमाउनुपर्छ’ जस्ता कुराहरु मात्रै बारम्बार सिकाउने गर्छन् । अभिभावका यी आकाङ्क्षाहरू आफैँमा गलत मान्नु हुँदैन । तर, जब यिनै भौतिक उपलब्धिहरूलाई मात्रै जीवनको सम्पूर्ण अर्थ र अन्तिम सत्य ठान्न थालिन्छ तब समाजमा भोगवाद र उपभोगवादको महामारी सुरु हुन्छ । जुन महामारीबाट अहिलेको विश्वसमाज ग्रसित छ । जुन महामारीको रोकथाम तथा उपचारका निम्ती आज हरेक अभिभावकले आफ्ना सन्तानलाई सबैभन्दा पहिले ‘एउटा असल चेतना जागृत भएको विवेकशील मानिस बन्नुपर्छ । आफ्नो अन्तरात्मालाई चिन्न सिक्नुपर्छ । सबैको अस्तित्वलाई सम्मान र निस्वार्थ प्रेम गर्न सक्नुपर्छ । हरेक विपत्ति र दुःखमा धैर्य धारणा गर्न सिक्नुपर्छ’ जस्ता शिक्षा वाल्यकालदेखि नै दिनुपर्छ । सनातन शास्त्रले ‘सा विद्या या विमुक्तये’ भन्छ । अर्थात् जसले मुक्त गराउँछ, त्यही नै वास्तविक विद्या हो । विद्या केवल अक्षर चिनाउने, डिग्री दिलाउने वा जीविकोपार्जनको साधन बनाउने ज्ञान मात्र होइन । मानिसलाई अज्ञान, अहंकार, लोभ, मोह, क्रोध, द्वेष, भय र आसक्तिको बन्धनबाट मुक्त गर्दै सत्यको बोध, न्यायको चेतना, करुणाको हृदय, दयाको भाव, क्षमाको सामथ्र्य र धर्मपूर्ण आचरण प्रदान गर्ने ज्ञान नै वास्तविक विद्या हो । जसले मानिसलाई केवल म कसरी सफल बनूँ ? भनेर सिकाउँछ, त्यो लौकिक शिक्षा हो । जसले म कसरी असल मानिस बनूँ ? भन्ने प्रश्नको उत्तर दिन्छ, त्यही ज्ञान जीवनविद्या हो । तर, आजको आधुनिक शिक्षाले केवल जीविका चलाउने क्षमता बढायो, तर कृतज्ञता, करुणा, आत्मसंयम र सम्बन्ध जोगाउने चेतना दिनसकेको छैन । किनकी शास्त्रीय, आध्यात्मिक, धार्मिक ज्ञान विना शिक्षा सदा अपूर्ण रहन्छ । जसका कारण आजका मानिसमा असल चरित्रको खडेरी देखिन्छ । आज हाम्रो समाज डिग्रीको गणना गर्ने हो भने उच्च शिक्षित छ । मानिसहरू विज्ञान बुझ्छन्, प्रविधि बुझ्छन्, अर्थशास्त्र र व्यवस्थापनका जटिल सिद्धान्तहरू बुझ्छन् । तर विडम्बना ! उनीहरू आफ्नै बाबुको मौनता र आमाको आँसु बुझ्न असमर्थ छन् । आजका युवालाई तनाव व्यवस्थापनको सैद्धान्तिक तालिम दिनसक्छन्, तर एकपल पनि बाबुको एक्लोपन महसुस गर्न सक्दैनन् । उनीहरूसँग कर्पाेरेट क्षेत्रमा नेतृत्व लिन सक्षम छ, तर घरमा वृद्ध आमाबाबुसँग प्रेमपूर्वक दुई शब्द संवाद गर्ने संस्कार छैन । उनीहरू सँग कसरी आर्थिक स्वतन्त्रता पाउने भन्ने टेक्निकल ज्ञान र सिप छ, तर पितृऋण र जीवनप्रतिको कृतज्ञताको मूल्य थाहाछैन् । त्यसैले, अब शिक्षाको परिभाषा पुनः लेखन गर्ने समय आएको छ । आजका पुस्ताले गणित, विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता सबै जान्नुपर्छ । तर, यो भन्दा पहिला बूढो हुँदै गएका बाबुका काँप्ने हातहरूले के भनिरहेका छन् ? आमाका आँखाहरूमा तैरिरहेको मौन पीडा कसरी पढ्ने ? भौतिक सम्पत्ति र आत्मीय सम्बन्ध बिचको भिन्नता के हो ? व्यक्तिगत अधिकार भन्दा नैतिक कर्तव्य किन महान् हुन्छ ? भन्ने कुरा जान्नुपर्ने समय आएको छ । र यो भन्दा संसारका सबै धन, पद, प्रतिष्ठा, ऐश्वर्य, वैभव, सुख र सुविधा भएर पनि मानिसको मनभित्र किन शान्ति छैन ? भन्ने कुराको जवाफ अत्यन्तै महत्वपूर्ण छ । तसर्थ, आज सबै अभिभावकले पनि हामी बालबालिकालाई भविष्यको यान्त्रिक कर्मचारी बनाउँदै छौँ ? कि एउटा चेतनशील मानिस ? भन्ने कुराको ख्याल गर्नुपर्ने समय आएको छ । तसर्थ, आज हरेक बाबुआमाले पनि सन्तानलाई केवल संसार जित्ने आर्शिवाद मात्रै नदिऊन् भन्ने मेरो प्राथना छ । आर्शिवादसँगै जीवन आफूलाई चिन्नका लागि हो । प्रेम गर्नका लागि हो । सेवा गर्नका लागि हो । सम्बन्ध जोगाउनका लागि हो । आफ्नो मूलसँग जोडिनका लागि हो । र अन्ततः आफूभित्र रहेको चेतनाको उज्यालोमा बाँच्नका लागि हो भन्ने ज्ञान पनि दिउन् । सन्तानले पनि आज बाको मुख सँगै उहाँको त्याग, संघर्ष, मौन प्रेम, संस्कार, आफ्नो मूल, इतिहास र आफ्नो भविष्य पनि हेरौँ । किनकी बा जीवनका एउटा सबैभन्दा उत्कृष्ट विश्वविद्यालय हुन् । बा वर्तमानको आधार सँगै भविष्यको ऐना पनि हुन् । त्यसैले आज बाबुको खुट्टामा शिर राख्दा केवल आशीर्वाद नलिऔँ । एउटा संकल्प पनि गरौँ, ‘बा, तपाईंले जीवनभर जे राम्रो दिनुभयो, म त्यसलाई केवल सम्झेर राख्ने छैन । आफ्नो जीवनमा बाँचेर देखाउनेछु ।’ सायद यही बाको मुख हेर्ने दिनको सबैभन्दा ठूलो पूजा हुनेछ । सायद यही पितृप्रतिको सबैभन्दा ठूलो तर्पण हुनेछ । सायद यही पितृऋणप्रतिको सच्चा कृतज्ञता हुनेछ । सायद यही हाम्रो हराउँदै गएको मूल पहिचानतर्फ फर्किने पहिलो कदम हुनेछ । र आज हामीले सबैभन्दा आफैसँग प्रश्न सोधौँ, ‘बा खुसी हुनुहुन्छ ?’ यदि उहाँको मन खुसी छ भने आजको पर्व सार्थक छ । यदि उहाँको आँखामा सन्तोष छ भने हाम्रो पूजा सफल छ । यदि उहाँलाई आफ्ना सन्तानको उपस्थितिमा अपनत्व मिलेको छ भने त्यो नै सबैभन्दा ठूलो उपहार हो । र यदि हामीले उहाँलाई खुसी बनाउन सकेनौँ भने मिठाइ, कपडा, फूल, माला र सामाजिक सञ्जालका शब्दहरूले हाम्रो कर्तव्य पूरा भएको प्रमाण दिँदैनन् । किनकि बाको सबैभन्दा ठूलो आवश्यकता सधैँ धन नहुन सक्छ । कहिलेकाहीँ उहाँलाई केवल आफ्ना सन्तानको प्रेम चाहिन्छ । कहिलेकाहीँ केही क्षणको साथ चाहिन्छ । कहिलेकाहीँ हात समातेर बा, म छु नि ! भन्ने एउटा वाक्य चाहिन्छ । बाको मुख हेर्ने शुभ अवसरमा सम्पूर्ण पिता तथा पितृशक्तिप्रति हार्दिक नमन ।

आईविवीकी ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरणनेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रा...
11/09/2026

आईविवीकी ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्ड आईविवी अष्ट्रेलिया (AIWIBI AUSTRALIA) का डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रा. लि. ले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ । शुभम् हेल्थ केयर प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आईविवीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्ये सहयोग जुटाएको हो । उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरिएको जनाइएको छ । चेक हस्तान्तरण गर्दै आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले विपद्को समयमा सहयोगी हात बन्न पाएकोमा गौरव महसुस भएको बताइन्। उनले आईविवीका उत्पादन खरिद गर्ने आम उपभोक्ता, रिटेलर तथा डिलरहरूको साथ र विश्वासकै कारण तीन दिनमै ५० लाख रुपैयाँ सहयोग गर्न सम्भव भएको बताइन् । “धन्यवाद प्रधानमन्त्री, धन्यवाद गृहमन्त्री, धन्यवाद अर्थमन्त्री, सेना, प्रहरी, राष्ट्रसेवक, स्वयंसेवक अनि आफ्नै मनले त्यही बाढीलाई चिर्दै उर्लिएको राहत रूपी हातहरू सबैलाई मेरो नमन,” उनले भनिन् । उनले उपभोक्तालाई सम्बोधन गर्दै भनिन्, “मामुहरू सबैलाई धेरै–धेरै धन्यवाद। तपाईँहरूको साथ सहयोगबिना आज हामी यो ५० लाखको नगद सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न सक्ने थिएनौँ ।” आईविवीका उत्पादन खरिद गरेर उपभोक्ताले दिएको साथबाट नै यो सहयोग सम्भव भएको स्पष्ट पारिन् । “हिजोका दिनमा आईविवीका उत्पादन किनिदिएर हामीलाई मुनाफा नभएको भए यो रकम डोनेसन गर्ने हिम्मत हुने थिएन । अहिले तपाईँहरूले नकिनिदिनुभएको भए तीन दिनमै ५० लाख जम्मा पनि हुने थिएन,” सर्राफले भनिन् । उनका अनुसार पछिल्ला तीन दिनमा उपभोक्ताले आईविवीका सामान खरिद गर्दा खर्च गरेको १०० प्रतिशत रकमलाई आधार बनाएर ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो । “यो डोनेसन आईविवीले होइन, तपाईँहरूले गर्नुभएको हो । यसमा मामुहरू सबैको हिस्सा छ, रिटेलरको मेहनत छ, डिलरको विश्वास छ। हामीले त्यही विश्वासलाई जोडेर यो सम्भव बनाएका हौँ,” उनले भनिन् । आईविवीले विपद्का समयमा प्रभावित परिवारलाई सहयोग गर्न आफ्ना उपभोक्ता, रिटेलर तथा डिलर नेटवर्कलाई समेत जोड्दै राहत अभियान सञ्चालन गरेको हो । सर्राफले आईविवीको तर्फबाट भएको सहयोग अभियानको सुत्रधार बन्न पाउँदा आफूलाई अत्यन्तै गर्व लागेको बताइन् । “यो सबै कुराको सुत्रधार बन्न पाउँदा मैले असाध्यै गर्व महसुस गरेकी छु,” उनले भनिन् ।

11/09/2026

प्रकृतिमा बिरालोको बच्चा हरु

11/09/2026

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा, २६ भदौ ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-७ मदरगाछ टोल बस्ने ३५ वर्षीय सन्त गणेशलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 3 सन्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Dindinai News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dindinai News:

Shortcuts

Share