11/09/2026
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको नवग्रह धाममा तीन दिनसम्म विशेष धार्मिक अनुष्ठान हुने भएको छ । देशकै पहिलो नवग्रह मन्दिरका रूपमा चिनिँदै आएको धाममा भाद्र २७, २८ र २९ गते क्षमा पूजा तथा अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प महाअनुष्ठानको तयारी गरिएको हो ।
भोटेकोशीमा आएको बाढीपहिरोमा परी ज्यान गुमाएका तथा सम्पर्कविहीन नागरिकको शान्तिको कामना गर्दै क्षमा पूजा तथा मानव जीवनमा देखिने ग्रहदोष शान्ति र सर्वसिद्धिका लागि महाअनुष्ठान गर्न लागिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।
‘ग्रह शान्त भए जीवन शान्त हुन्छ’ भन्ने मूल भावनाका साथ आयोजना हुने अनुष्ठान सामान्य पूजा वा हवनमा मात्र सीमित नरहने आयोजकको दाबी छ । कृष्ण यजुर्वेद र अथर्ववेदको ‘नक्षत्र कल्प’मा उल्लेखित विधानअनुसार महाअनुष्ठान गरिने अध्यक्ष तिवारीले बताए ।
उनका अनुसार कलियुगको शास्त्रोक्त विधानअनुसार पाँच लाख ४४ हजारभन्दा बढी मन्त्रको लक्षजप गरिनेछ । वैदिक ब्राह्मणद्वारा सूर्यका लागि सात हजार, चन्द्रका लागि ११ हजार, मङ्गलका लागि १० हजार, बुधका लागि नौ हजार, गुरुका लागि १९ हजार, शुक्रका लागि १६ हजार, शनिका लागि २३ हजार, राहुका लागि १८ हजार र केतुका लागि १७ हजार मन्त्रजप गरिनेछ । त्यसपछि निर्धारित विधिअनुसार त्यसको चार गुणा जप पूरा गरिने आयोजकले जनाएको छ ।
जपपछि नवग्रहका लागि तोकिएका वनस्पति तथा समिधाबाट हवन गरिनेछ । सूर्यका लागि आँक, चन्द्रका लागि पलाश, मङ्गलका लागि खदिर र शनिका लागि शमीसहित ग्रहअनुसारका सामग्री प्रयोग गरिने नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताए ।
हवनकुण्डमा नौ प्रकारका अन्न, शुद्ध घिउ, तिल, जौ, मह तथा जडीबुटीयुक्त नवधान्य र अन्य द्रव्यको आहुति दिने तयारी छ । नवग्रहसँग सम्बन्धित अधिदेवता र प्रत्यधिदेवताका लागि पनि विशेष तर्पण तथा आहुति गरिने आयोजकले जनाएको छ । सूर्यका लागि शिव, चन्द्रका लागि पार्वती र बुधका लागि विष्णुसहित सम्बन्धित देवताको पूजा गरिनेछ ।