03/12/2025
तोरीमा राम्रो बेथानचोक
बेथानचोक गैह्रीभञ्ज्याङ्का बारीका पाटा अचेल आकर्षक देखिएको छ।
तोरी फूलेर पहेँलपुर बनेको बेथानचोकले मानिस र मौरी दुबैलाई लोभ्याएको छ ।
कालो तोरीका बोट हुर्किंदै छन् । केही भागमा भने मिश्रित रुपमा आलुखेती समेत गरिएको स्थानीय हरिप्रिया सापकोटा खुसी हुँदै बताउँछन्।
गाउँलाई सुन्दर बनाउने मात्रै होइन, यहाँको उत्पादन राम्रो आम्दानीको स्रोत भएको सापकोटाको अनुभव छ ।
अर्का किसान कमल नेपाल खाद्यान्न बाली मकै भित्र्याएपछि नगदे बालीको रूपमा तोरीखेती गर्दै आएको र घरायसी प्रयोग र बिक्रीबाट आम्दानी पनि भइरहेको बताउँछन् ।
काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका पर्यटकीय हिसाबले प्रसिद्ध छ । यहाँको तोरीखेतीको दृश्यले स्वदेशी तथा विदेशी पर्यटकलाई थप आकर्षिक बनाएको नेपालले बताए ।
बेथानचोक गाउँपालिका कृषि शाखाका नायब प्राविधिक सहायक मधुसुदन दाहालका अनुसार, गाउँपालिकाको ४० देखि ४५ हेक्टर क्षेत्रफलमा तोरीखेती भइरहेको छ। यसबाट प्रतिहेक्टर क्षेत्रफलमा एक दशमलव दुई मेट्रिक टन तोरी उत्पादन हुँदै आएको छ।
गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाका अनुसार, सबैजसो वडामा तोरीखेतीको राम्रो उत्पादन हुँदै आएको छ।