22/03/2026
“संसद् भवन किन समयमा बन्दैन? किन समय थपेको थप्यै गरिन्छ? कर्मचारीहरू किन अटेरी गर्छन्?” उनले भने, “जति भन्दा पनि नमानेपछि मैले डीजीलाई सरुवा गर्न खोज्दा सचिवज्यूले मान्नुभएन, उल्टै पछि मन्त्रीले ३ करोड घुस खाएर सरुवा गर्न लागेको भनेर हल्ला फिँजाइयो ।”
मन्त्री इङ्नामका अनुसार, निर्माण सम्झौताअनुसार ठेकेदारमाथि दैनिक जरिवाना लगाउन सकिने व्यवस्था भए पनि त्यसको प्रभावकारी प्रयोग हुन सकेन । कामको गति बढाउन उनले नियमित अनुगमन, प्रगति विवरण माग्ने र कामदार संख्या बढाउन निर्देशन दिएका थिए । तर कार्यान्वयनमा कमजोरी देखिएको उनले संकेत गरे ।
महानिर्देशक बोहराको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै उनले नेतृत्व परिवर्तन गर्न खोजेको बताए । “काम हुनुपर्यो भनेर भनेको हो, मेरो लागि होइन,” उनले भने, “पर्फर्मेन्स जिरो छ भने किन राख्ने? सिनियर मान्छे राख्नुस् भनेको हो, तर मान्नुभएन ।”
उनले सिनियारिटीलाई बेवास्ता गर्दै गरिएको नियुक्ति र भित्री ‘सेटिङ’ ले निर्णय कार्यान्वयन प्रभावित भएको धारणा राखे । वरिष्ठ सहसचिवहरूलाई पन्छ्याउँदै नवौँ वरियताका बोहरालाई महानिर्देशक बनाइएको र त्यसपछि काम झन् सुस्त भएको भन्दै उनले असन्तोष व्यक्त गरेका हुन् । यतिसम्म कि सम्बोधनको सुरुवातमै इङ्नामले आफूलाई “इतिहासकै असफल र नालायक मन्त्री” भन्दै आत्मालोचना गरे । “मैले केही पनि काम गर्न सकिनँ, मलाई त कालोमोसो दलेर निकाले पनि हुन्थ्यो,” उनले भने, “तीन वर्षअघि बजेट गएको आफ्नै विद्यालयको रकम समेत निकासा गराउन नसक्ने म कति नालायक मन्त्री रहेछु भन्ने लागेको छ ।”
मन्त्री इङ्नामले शहरी विकास मन्त्रालयलाई अत्यधिक भ्रष्टाचार हुने मन्त्रालयका रूपमा चित्रण गरे ।
“पहिला मलाई भूमि मन्त्रालय धेरै घुसिया लाग्थ्यो,” उनले भने, “तर यहाँ (शहरी) त प्राविधिक कुरामा खेलोफड्को गर्दा झन् सजिलो रहेछ ।” उनका अनुसार, ठेकेदारसँगको मिलेमतोदेखि कमिसन प्रतिशत र आर्थिक वर्षको अन्त्यतिर झोला बोकेर हिँड्ने प्रवृत्ति मन्त्रालयमा मौलाएको छ । “कसले कति पैसा ल्यायो, कहाँ राख्यो-त्यही हेर्ने काम हुँदो रहेछ,” उनले भने ।