02/11/2025
बालेनजीलाई बुझ्ने प्रयास 🍁
प्रिय बालेनजी,
तपाईंको पछिल्लो स्टाटस पढ्दा मलाई कुनै आक्रोश आएन, बरु गहिरो चिन्ता भयो। किनकि ती शब्दहरूमा मैले घमण्ड होइन, थकान र पीडा देखें , एउटा यस्तो व्यक्ति देखें जसले देशका लागि हृदय दिएका छन्, तर कहिलेकाहीँ त्यसै हृदयले चोट पाउँछन्।
हामीले प्राय नेताहरूलाई केवल पद र शक्तिका रूपमा हेर्छौं, तर तपाईंको शब्दहरूमा मैले मानवता देखें , एउटा थकित आत्मा, जसले साँचो परिवर्तन ल्याउने सपना बोकेको छ।
राजनीति सजिलो यात्रा होइन। त्यहाँ सत्य बोल्नेहरूलाई प्राय गलत बुझिन्छ, र इमानदार बन्नेहरूलाई प्रणालीले नै पीडा दिन्छ। तर बालेनजी, तपाईंले जतिसुकै कठिनाइ बेहोर्नु परे पनि, तपाईंको आवाजले हजारौँ युवाहरूलाई सोच्न, प्रश्न गर्न र नडराउन सिकाएको छ।
त्यो स्टाटस क्रोध होइन , एक पीडाको विस्फोट थियो। त्यो क्षण, जहाँ तपाईंको अन्तर्मनले भन्यो “enough , this is too much, धेरै भयो!! “ .. तर त्यसपछि तपाईंले त्यसलाई हटाउनुभयो त्यो आत्मनियन्त्रण हो, आफ्ना भावनालाई बुझ्ने परिपक्वता हो।जसले देखाउँछ कि तपाईं केवल दृढ नेता होइन, स्वयंलाई सुधार्न सक्ने संवेदनशील व्यक्ति पनि हुनुहुन्छ।
बालेनजी, तपाईंको आत्मा अझै बलियो छ, तर बलियो रहनका लागि शान्त मन, आफ्नै समय, र आत्मिक विश्राम पनि आवश्यक छ। देशको जिम्मेवारी ठूलो छ, तर तपाईंको मानसिक शान्ति, सन्तुलन र स्वास्थ्य अझ ठूलो हो। कृपया, आफूलाई सहज रूपमा लिनुहोस् किनकि जब तपाईंको मन शान्त हुन्छ, तब तपाईंको नेतृत्व अझ उज्यालो बन्छ।
र हामी सबैका लागि पनि :
मानसिक स्वास्थ्य केवल नेताहरूको होइन, हाम्रा सबैका लागि अत्यावश्यक कुरा हो। हामी सबै कहिलेकाहीँ थाक्छौं, गल्छौं, र बिर्सन्छौं कि हामी पनि मानव हौं। त्यसैले, एकअर्कालाई बुझ्न, बोल्न, र सुन्न सिकौँ। सामाजिक सञ्जालमा कसैलाई पनि बिना सहानुभूति, बिना बुझाइ, वा अरूको ठाउँमा आफूलाई राखी नहेरी आक्रमण नगरौँ🌻
साँचो र गुणी नेता दुर्लभ हुन्छन्। जब हामीले यस्ता नेता भेट्छौं, उनीहरूलाई कमजोर पार्नु होइन, सिँच्नु र हौसला दिनु हाम्रो जिम्मेवारी हो। किनभने जब एक साँचो नेता थकित हुन्छ र हामी उनलाई मानसिक रूपमा मजाक बनाउँछौं, सामाजिक मिडियामा अपमान गर्छौं, त्यसो हुँदा केवल एउटा व्यक्ति मात्र होइन, एउटा सम्भावना, एउटा आशा हराउँछ।
बालेनजी, बलियो रहनुहोस्, तर कोमलता पनि जोगाउनुहोस्, आफ्नो लागि, आफ्नै लागि। तपाईंको यात्रा केवल तपाईंको होइन, हामी सबैको आत्मविश्वासको कथा हो।
सम्मान, माया र विश्वास सहित,
जसले अझै पनि तपाईंभित्रको मानवीय शक्ति र सत्यतालाई विश्वास गर्छ🍁