31/07/2026
मेरो हुर्काई , पढाई सर्लाहिमा भयो । 62/63 आन्दोलनताका म उतै थिए
मैले 12 कक्षा सम्म उतै पढे । मैले भोगेको मधेश र तराईप्रतिको दृष्टिकोण अलि फरक छ, किनभने म तराईको गाउँमा हुर्किएको मधेशको मान्छे हुँ ।
मेरो बाल्यकालदेखि नै मधेसी, तामाङ, मुस्लिम , मगर , डोम, चमार, पासवान लगायत विभिन्न जात, भाषा र समुदायका मानिसहरूसँगै बसेर, खेलेर र हुर्किएँ।
त्यतिबेला हामीबीच विभाजनभन्दा पनि आत्मीयता र सहअस्तित्वको भावना बढी थियो।
जुनबेला मधेस आन्दोलन भयो, त्यसबेला म धेरै कुरा बुझ्ने उमेरमा पनि थिईन होला ।
तर आन्दोलन किन भयो, त्यसका कारण के थिए, त्यसबाट के–के सकारात्मक परिवर्तन भए र कहाँ–कहाँ कमजोरी भए भन्ने विषयमा म आज पनि गम्भीर रूपमा सोच्ने गर्छु। इतिहासलाई बुझ्नु आवश्यक छ, किनकि त्यसबाट हामीले सिक्न सक्छौँ।
आज फेरि धर्म, जात वा पहिचानका विषयलाई लिएर समाजमा तनाव सिर्जना हुने घटनाहरू देख्दा दुःख लाग्छ। यस्तो अवस्था कसरी बन्छ, कसले बनाउँछ र किन बनाउँछ भन्ने विषयमा हामी सबैले जिम्मेवारीका साथ सोच्नुपर्छ। यदि हामीले फरक विचार, फरक धर्म वा फरक समुदायलाई समाप्त गर्नुपर्ने मानसिकता विकास गर्यौँ भने, त्यसको नकारात्मक असर अन्ततः हामी सबैमाथि नै पर्छ।
त्यसैले आजको आवश्यकता विभाजन होइन, सामाजिक सद्भाव हो। हामीले एकअर्कालाई सम्मान गरौँ, सकारात्मक रूपमा बुझौँ, सहयोग गरौँ। सबै धर्म, सबै जात, सबै भाषा, सबै वर्ण र सबै पेशाका मानिसप्रति समान सम्मान राखौँ। यही नै हाम्रो समाजको वास्तविक शक्ति हो।
अहिले पनि हाम्रो घरमा मैथिली भाषा पनि बोलिन्छ , म पनि जान्दछु । विभिन्न समुदायसँगको सहअस्तित्वलाई मैले नजिकबाट देखेको र अनुभव गरेको छु। त्यसैले मेरो विश्वास छ- आजको समय विभाजनको होइन, मानवताको समय हो। हामी सबैभन्दा पहिले मान्छे हौँ।
नीति र नेतृत्व समयअनुसार परिवर्तन हुन्छन्। तर देश, समाज र हाम्रो साझा पहिचान स्थायी हुन्छ। त्यसैले राजनीतिक मत वा विचारभन्दा माथि उठेर हामीले राष्ट्रिय एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई प्राथमिकता दिनुपर्छ। यही बाटोले हाम्रो वर्तमानलाई शान्त र भविष्यलाई अझ बलियो बनाउन सक्छ।