18/07/2026
‘घन्टी माननीय’को सचिवालयमा सालोदेखि विवादास्पद व्यक्तिसम्म !
उर्लाबारी — निर्वाचन क्षेत्रको पूर्वाधार विकासमा ठोस बजेट ल्याउन नसकेका मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य यज्ञमणि न्यौपानेले गठन गरेको सचिवालय तीव्र विवादमा तानिएको छ । ‘आफ्नो क्षेत्रका समस्याहरुको समाधानका लागि’ भन्दै सांसद न्यौपानेले सामाजिक सञ्जालमार्फत शुक्रबार सार्वजनिक गरेको १६ सदस्यीय जम्बो टोलीमा आफ्नै नातेदारदेखि विवादित व्यक्तिहरु परेपछि स्थानीय स्तरमा यसको चर्को आलोचना सुरु भएको हो ।
सचिवालय गठनको यो कदमलाई लिएर स्थानीय मतदाता र राजनीतिक वृत्तमा ‘नमच्चिने पिङका सय झट्का’ भन्दै व्यङ्ग्य गर्न थालिएको छ । निर्वाचन क्षेत्रका मुख्य विकास योजना र पूर्वाधारका लागि केन्द्रीय बजेट विनियोजन गराउन सांसद पूर्णतः असफल भएको तर कार्यकर्ता र निकटस्थ व्यवस्थापनका लागि ठूलो संरचना खडा गरेको प्रतिक्रियाहरु व्यक्त भएका छन् । सांसद न्यौपानेले घोषणा गरेको सचिवालयको प्रमुखमा कुमार दाहाललाई चयन गरिएको छ । कुल १६ सदस्यीय यस टोलीमा सांसदले नातामा सालो पर्ने व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन् । वैकल्पिक राजनीतिको नारा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएका सांसदले नै सचिवालयमा नातावादलाई प्रश्रय दिएपछि सामाजिक सञ्जालमा समर्थकहरुसमेत असन्तुष्ट देखिएका छन् । सचिवालय सार्वजनिक भएलगत्तै यसमा समावेश गरिएका कतिपय सदस्यहरुको पृष्ठभूमिमाथि गम्भीर प्रश्न उठेका छन् । टोलीमा वैदेशिक रोजगारीको क्षेत्रमा ठगी र बदनामी कमाएका मेनपावर व्यवसायी तथा समाजमा अभद्र व्यवहारको मुद्दा खेपिसकेका विवादित छवि भएका व्यक्तिहरुलाई समेटिएको खुलेको छ । जनसरोकारका मुद्दा सुल्झाउन भन्दै बनाइएको समितिमा यसरी विवादित र कानुनी कठघरामा पुगेका व्यक्तिहरुलाई स्थान दिँदा सांसदको कार्यशैली र नियतमाथि नै गम्भीर नैतिक संकट खडा भएको स्थानीयको टिप्पणी छ । यता, सांसद न्यौपानेले भने आफ्नो क्षेत्रका नागरिकका दैनिक प्रशासनिक समस्या, गुनासा सुनुवाइ र विकास निर्माणमा सहजीकरण गर्नकै लागि यो टोली आवश्यक परेको दाबी गर्दै आएका छन् । यद्यपि, सुशासन र पारदर्शिताको एजेन्डा बोकेका सांसदको यो सचिवालय विवादले मोरङ १ मा नयाँ राजनीतिक तरंग पैदा गरेको छ ।