30/08/2026
बाढीपछि प्रधानमन्त्री बालेनको अपडेट : ९ हजार ४३५ जनाको उद्धार, ७८१ शव फेला
काठमाडौं । बाढी प्रभावित क्षेत्रमा सरकारले खोजी, उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।
प्रधानमन्त्री बालेनले आफ्नो स्टाटसमार्फत हालसम्म प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको उद्धार गरिएको जानकारी दिएका छन्। उद्धार तथा राहतका लागि ३९४ उडान भइसकेका छन् भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २० हजार ६१८ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित छन्।
उनका अनुसार बाढीबाट प्रभावित २६७ जना घाइतेको उद्धार गरी उपचार भइरहेको छ। तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
बाढीका कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको बालेनले बताएका छन्। पहिचान भएका शव आफन्तलाई बुझाउने र पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम भइरहेको छ।
रसुवा र नुवाकोटमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। आइतबार मात्रै ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।
प्रधानमन्त्री बालेनले विपद्को यो कठिन घडीमा प्रभावित प्रत्येक नागरिकसम्म राहत पुर्याउने तथा पुनःस्थापना र पुनर्निर्माणको काम पूर्ण नतिजा नआएसम्म जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।