22/09/2025
EPS भाषा परिक्षा अब ट्याब्लेटमा मात्र, नक्कल रोक्न सरकारले कडाइ गर्ने 🇰🇷
आगामी वर्षदेखि विदेशी कामदारका लागि रोजगारी अनुमति प्रणाली (EPS) अन्तर्गतको कोरियन भाषा परीक्षा EPS-TOPIK पूर्णरूपमा ट्याब्लेट–आधारित हुने भएको छ। दक्षिण कोरियाको श्रम मन्त्रालयका अनुसार यो परिवर्तनले परीक्षामा हुने नक्कललाई रोक्ने र निष्पक्षता कायम गर्ने अपेक्षा गरिएको छ।
२०२१ देखि बिस्तारै लागू हुँदै आएको यो प्रणाली हालसम्म १७ मध्ये १४ देशमा प्रयोगमा आइसकेको छ, र सन् २०२६ सम्ममा सबै साझेदार राष्ट्रहरूमा पूर्ण रूपमा कार्यान्वयन गरिनेछ। श्रम मन्त्रालयले यसलाई सरकारको "परीक्षा पारदर्शिता" प्रयाससँग जोडेको छ।
श्रम मन्त्रालयका अधिकारीहरूले जनाएअनुसार, UBT (ubiquitous-based test) लागू भएपछि नक्कल गर्ने घटना प्रायः अन्त्य भएको छ। पहिले न्याय मन्त्रालयले भिसा प्रक्रिया क्रममा नक्कल गर्ने प्रयास पत्ता लगाउने गर्थ्यो, तर अहिलेबाट यस्तो रिपोर्ट आउने क्रम लगभग बन्द भएको छ। कारण, ट्याब्लेट–आधारित परीक्षा प्रणालीले नक्कल गर्नै नसक्ने बनाएको छ। उदाहरणका लागि, एउटै कोठामा रहेका परीक्षार्थीलाई फरक–फरक प्रश्न देखाइन्छ, जसले उत्तर नकल गर्ने सम्भावना हटाइदिन्छ। साथै, ट्याब्लेटमा परीक्षार्थीको गतिविधि अडियो–भिडियोसहित रेकर्ड हुन्छ, जसमा facial recognition र मोसन डिटेक्शन प्रविधि प्रयोग गरिन्छ। यसले नक्कल सामग्री प्रयोग गर्ने प्रयास तुरुन्तै पहिचान गर्ने सुविधा दिन्छ।
उल्लंघन गर्ने परीक्षार्थीलाई कडा सजाय तोकिएको छ। गम्भीर नक्कल, जस्तै अरूलाई परीक्षा दिन लगाउने वा जालसाजी कागजपत्र बुझाउने कार्यमा संलग्न भए ४ वर्षसम्म EPS-TOPIK दिन नपाउने र EPS अन्तर्गत काम गर्ने अधिकार गुम्ने हुन्छ। सामान्य उल्लंघन, जस्तै नक्कल गर्ने उद्देश्यबिनै इलेक्ट्रोनिक उपकरण राखेको अवस्थामा, २ वर्षसम्म परीक्षा दिन प्रतिबन्ध लाग्छ। यसबाहेक, श्रम मन्त्रालयले नक्कलविरुद्ध सचेतना बढाउन भिडियो, पोस्टर र अनलाइन रिपोर्टिङ प्रणाली सञ्चालन गरिरहेको छ।
मन्त्रालयका एक अधिकारीले भने, “कोरियन भाषा बुझ्ने क्षमता कामदारको सुरक्षा र दैनिकीसँग प्रत्यक्ष सम्बन्धित छ, त्यसैले वास्तविक सीप बिना नक्कल गरेर पास गर्नु खतरनाक हुन्छ।” सरकारका अनुसार प्रविधिको विकाससँगै भविष्यमा EPS-TOPIK जस्तै परीक्षामा नक्कल गर्ने सम्भावना लगभग असम्भव बन्नेछ।