03/10/2026
लहानबाट भुमिगत सिँचाइ कार्यालय सारिँदै, स्थानीय आक्रोशित
लहानमा वर्षौंदेखि सञ्चालन हुँदै आएको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अब सिरहा सदरमुकाम सार्ने तयारी भएपछि लहानवासी असन्तुष्ट बनेका छन्।
लहान नगरपालिका–१० स्थित ग्रामीण घरेलु कार्यालयको ठीक पूर्वपट्टि रहेको उक्त कार्यालयको आफ्नै भवन तथा आवश्यक भौतिक संरचना पर्याप्त हुँदाहुँदै कार्यालय सिरहा सार्ने निर्णय किन गरियो भन्ने प्रश्न स्थानीयले उठाएका छन्।
स्थानीयका अनुसार लहानमै पर्याप्त भवन, कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार र सेवाग्राहीको पहुँच हुँदाहुँदै कार्यालयलाई जिल्ला सदरमुकाम सार्नु उचित देखिँदैन।
विशेषगरी सिँचाइ, जलस्रोत तथा विकाससम्बन्धी सेवा लिन लहान र आसपासका नागरिकलाई सहज भइरहेको अवस्थामा कार्यालय नै सारिएपछि सेवाग्राहीलाई थप समस्या हुने स्थानीयको भनाइ छ।
कार्यालय मर्ज तथा स्थानान्तरणको निर्णय प्रदेश सरकारबाट भएको भए, त्यसको पुनर्विचार गर्नुपर्ने माग स्थानीयको छ।
लहानमा संरचना हुँदाहुँदै कार्यालय सार्ने निर्णयले लहानवासीमा असन्तुष्टि बढेको छ।
त्यसैले, लहानमा रहेका सरकारी कार्यालयको संरक्षण र स्थानीयमै सेवा प्रवाह सुनिश्चित गर्न लहानवासीले आवाज उठाउनुपर्ने आवश्यकता देखिएको छ।
लहानमै कार्यालय रहिरहोस् भन्ने मागसहित सम्बन्धित निकायलाई निर्णय पुनर्विचार गर्न स्थानीयले आग्रह गरेका छन्।