28/05/2024
जय विद्रोही गणतन्त्र ।
संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गरेको भनेर प्रधानमन्त्री प्रचण्डले दलिल दिनु भयो । तर न्यायलयलाई उहाँले भनेकै शब्द अनुसार स्वतन्त्र हुनु दिनु भएको थियो ? मानव अधिकारको प्रचण्डजीको परिभाषा नै सर्वमान्य हो त ? स्वेच्छाचारी हत्या भन्नेले मानवअधिकारको दलिल दिँदा नागरिकले थपडी बजाउनु पर्ने ? मौलिक अधिकार पुरा गर्न सकेका छौ ? स्थानीय स्वायत्तता र स्वनिर्णयको अधिकारको दुहाई दिनेले काठमाडौं महानगरपालिकाको जननिर्वाचित मेयर बालेन्द्र साहलाई जेल हाल्ने प्रपञ्च गर्न लागेका थियौ त ? तसर्थ गणतन्त्र भन्ने संविधान र ऐन कानुनमा होला, तर व्यवहारमा लागु गर्न सकेको छैनौं । परिवारवाद, खाओवाद, सुनवाद, छेपारोवाद, उथलपुथलवाद, लात्तिवाद, स्वयच्छाचारी हत्यावाद, एन्टीसहकारीवाद, हिंसा हिमायतिवाद, लम्पसारवाद, अधिनायकवाद यीमध्ये कुन वाद प्रचण्डको कार्यशैलीले अंगालेको छ ? नागरिकलाई एक पटक सोधुम त ? के भन्दा रहेछन् ? समाजवादको सट्टामा सामुदायिक समाजवाद, आस्तिक समाजवादको कुरा उठी रहेको छ । प्रधानमन्त्रीले परिकल्पना गरेको समाजवाद भनेको कुन समाजवाद हो ? प्रचण्डले कल्पना गरेको समाजवादको लड्डू अब आउटडेटेड भइसकेको छ । शिसु गणतन्त्रलाई स्याहार्न सकेका छैनौं । अभिभावकले बालक गणतन्त्रको स्याहार नगर्दा टीनएजमा पुग्दा नपुग्दै गणतन्त्रका बाहरुसंग रुष्ट भइसकेको छ । यसरी नै जालिकुरा गरिरहनु भयो भने किशोर अवस्थामा गणतन्त्रलाई पुग्न त दिनुस यसले नै आफ्ना अभिभावकहरुलाई लात हान्नेछ । किशोर अवस्थामा पुगेपछि गणतन्त्रले आफ्नो बाटो नागरिकको इच्छा अनुसार चल्ने वातावरण प्राप्त गर्ने आशा गर्दै, गणतन्त्र रुपी बालकको मन भित्रको आक्रोशको सम्मान गर्दै आफ्नो अभिभावकसंग रिसाएको गणतन्त्रले किशोर अवस्था, यूवा अवस्थामा अभिभावकहरुलाई पाखा लगाउँदै भूइँमान्छेको चाहना अनुसार चल्ने अवसर पशुपतिनाथले उपलब्ध गराउन ।
जय विद्रोही गणतन्त्र ।