05/06/2026
यी दुई "सृजनाका भोगी र जिन्दगीका जोगी" बारे कविता लेखेको झण्डै डेढ वर्षपछि बल्लबल्ल कफी पिउने अवसर जुर्यो। तर यति मिठोसँग समय गुज्रियो कि घण्टौँ वितेको पत्तै भएन। यिनबाट मैले सिक्नु पर्ने कुरा धेरै छ!
"कवि विप्लव प्रतीक र कुमार नगरकोटी"
मैले विप्लव प्रतिक र कुमार नगरकोटीलाई
आक्कल-झुक्कल भेटेको छु – बोलेको छु
एकोहोरो प्रेममा परेको किशोरजस्तै
मनको कुरा नखोली आफ्नै बाटो हिनेको छु
मलाई एक्लै-एक्लै होइन
यी दुई अजीवसा प्राणीसँग
एकैपटक भेट्न मन छ
उज्याsssलो कफिशपमा बसेर
यी दुईलाई पालैपालो सूक्ष्म आँखाले
अक्षुण्णरूपमा पढ्न मन छ
विप्लवको त्यो वैजन्ती आवाज
आफैँमा मुलायाम कविता हो
उनको सेताम्य दारी-जुङ्गा र कपाल
उनका कविताको शृङ्गार हो
शीरमा लगाएको त्यो छड्के ह्याटले
उनमा अनुवादको हरीतगृह निर्माण गरेको छ
उनका ती निख्खर रौँका रेसा-रेसामा
कहिले नझर्ने, कहिले नमर्ने
कवितै कविता फुलको छ
दारी-जुङ्गाको झ्याङमा
अकथित प्रेमका कथा लुकेको छ
अनि कुमारलाई उनका अनगिन्ती प्रेमी बाहेक
कहिल्यै कसैले घोरिएर हेरेको छ?
उनका तीsssखा आँखामा विचरण गरेर
उनको निष्पट कालो वस्त्रभित्र लुकेको
गुलावी मुटु कहिल्यै कसैले देखेको छ?
त्यो गुलावी मुटुबाट अङ्कुरीत
उनको घाँटीमा सजिएका बहुरूपी माला
लाग्छ, उनका बहुमूल्य कविता हुन्
उनले हरेक पटक दारी मुसार्दा
लाग्छ, उनी अर्को रचना कोरि-रहेका छन्
उनका औँला सलबलाउँदा लाग्छ
उनी शब्द-शब्दमा संगीत भरिरहेका छन्
उनी आफ्नै संगीतको अनुप्रासमा डुबि-रहेका छन्
विप्लवलाई लाग्छ
उनी “भएको कसैलाई थाहै नहोस्’
उनी ‘गएको पनि कसैलाई थाहै नहोस्”
विचरा विप्लव के गरून्?
उनको व्यक्तित्वको ओज यति भारी छ कि
उनलाई कविताको “ऐंठन” हुँदा गाऊँमा पैह्रो जान्छ
उनको “प्रतीक”को प्रयोग यति बलवान छ कि
उनमा कविताको बाढी आउँदा
साहित्यको शहरमा सृजनाको कम्पन हुन्छ
उनी भएको नि सबैलाई थाह हुन्छ
उनी गएको नि सबैलाई थाह हुन्छ
कुमारलाई लाग्छ
उनी “यादहरूको वर्णविन्यास हुन्
यादहरूको अलिखित उपन्यास हुन्”
निश्चय नै उनी त्यस्तै हुन्
तर अलिखित होइन, लिखित हुन्
उनी प्रेमील उपन्यासको जीवित पात्र हुन्
उनी प्रात-, साया-, रात्री-कालीन संभोग हुन्
उनी गल्लीगल्लीका ऐला र छोइला हुन्
उनी घाटे जोगीका सुल्फा हुन्
आर्यघाटका धुवाँ हुन् – धुवाँमा फुरेका दर्शन हुन्
हो, उनको शीरदेखि पाउसम्म यादैयादका डोब छन्
उनका नरम, कोमल औँलाहरूमा
अहिले पनि प्रेमील सुवास छन्
विप्लव ‘सेता’ छन्; कुमार ‘काला’ छन्
यी सृजनाका भोगी हुन् र जिन्दगीका जोगी हुन्
यीसँग बसेर मलाई मीsssठो कफी पिउन मन छ
त्यो सेताम्यता र कालाम्यताको रहस्य खोज्न मन छ
यिनलाई सूक्ष्म आँखाले अक्षुण्णरूपमा
अझ गहिरीएर पढ्न मन छ।
०२ मंसिर २०८१ (17 Nov 2024)