17/04/2023
एक छिन, एक छिन । 1 मिनट समय निकालेर पढ्न सकिन्छ कि?
पवित्रता र अपवित्रताको मापदण्ड
पृथ्वी समस्त जीवहरुको साझा घर हो । यहाँ ८४ लाख प्रकारका जीवहरु बसोवास गर्छन् । ती प्राणीहरु कयौँ प्रकारका छन् । ती मध्येका उपस्थित प्राणीहरु जस्तै चर वा अचर, स्थावर वा जंगम तथा मानवलाई नै उदाहरणमा ठड्याउने हो भने कोही पनि पवित्र तथा सुघर देखिदैनन । तार्किक स्तरले हेर्ने हो भने हरेक क्षण शरीरबाट पसिना, मल, मूत्र, रज तथा अन्य शारीरिक अपशिष्टहरु निष्कासन भइरहेकै हुन्छ । अब यदि यो तर्क मान्ने हो भने सबै जीव अपवित्र नै छन् ।
सनातन धर्मानुसार जाने हो भने, समस्त जीवमा भगवान परमात्मा स्वरुपमा विद्यमान भई हृदयमा वास गर्नुहुन्छ । भगवान पवित्र हुनुहुन्छ । त्यसो भए भगवान जसको हृदयमा वास गर्नुहुन्छ त्यो व्यक्ति पनि पवित्र हुन्छ । भनिन्छ कि भगवानको नाम मात्रले समस्त जीव पवित्र हुन्छन् र मोक्ष प्राप्त गर्दछन् ।
ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपिवा ।।
यः स्मरेत्पुण्डरीकाक्षं स बाह्यभ्यन्तरः शुचिः ।।
तर अधुनिक जगतको कुरा गर्ने हो भने, सामाजिक तथा शैक्षिक स्तर डुबेकै छ साथसाथै साँस्कृतिक, पारम्परिक र आध्यात्मिक ज्ञान पनि लोप हुनै आँटेको छ । अनुज र अग्रजहरु सँग कसरी बोल्नुपर्छ र कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा पनि नष्ट भएको दखिन्छ । यस प्रकारकै घटना हाल हाम्रै वरिपरिमा रहेको भगवान बुद्धको जन्मस्थलीमा दैनिक अवस्थामा घट्दै आएको छ । यहाँका सुरक्षाकर्मी तथा कर्मचारीहरुमा यस्तो प्रतिभा देखिन्छ कि वहाँहरुले अनुहार देखेरै को पवित्र र को अपवित्र छ भन्ने कुरा पत्त्याउन सक्नुहुन्छ ।
यस्तो अवस्थामा के निष्कर्ष देखिन्छ कि जो मुखांगले सेताम्य छ अथवा जो मेकप गरेर आउछ त्यो बढी पवित्र मानिएको र जो व्यक्ति गाँउ, देहात वा पारम्परिक भेषमा त्यस प्राङगणमा उपस्थित छ भने त्यो अपेक्षाकृत अधिक गँवार, धोती र निम्न पवित्र भएको मानिन्छ ।
यही बढी रहेको ढोंगलाई रोक्न भगवान बुद्धले राज्य त्यागेका थिए र अन्त्यमा यस ढोंग विरुद्ध सिद्धान्त नै प्रतिपादित गरे । पञ्चशीलको निर्माण गरे । तर हिजो आज भगवान बुद्धले दिएको सिद्धान्त माथि बौद्धका केही व्यक्तिहरु पैताला राखेर पञ्चशीलको अवहेलना गरेको देखिन्छन् । पहिला मायादेवी मन्दिरमा निशुल्क प्रवेश हुन्थ्यो अनि सनातनीहरुले देवीको स्थान मानेर अर्चना गर्ने गर्थे । तर आज यसो प्रतीत हुन्छ कि मायादेवी मन्दिर एउटा वित्तीय संस्थान हो जहाँ केही प्रहरी ठड्याएर श्रद्धालु भक्तजनहरुलाई ताडना दिएर अनि दर्शन गर्न भित्र पठाइन्छ । अनि भित्र पसियो भने, त्यहाँ स्पष्ट भनिन्छ कि यदि तिमीले यो स्पर्श गर्यौ भने अपवित्र हुन्छ । यो त सरासर भगवान बुद्धको नाम र सिद्धान्तको सहारा लिएर धंधा गरिँदै आएको देखिन्छ । यो देख्दा त यहाँका उपस्थित जनताहरुको मनमा गहिरो ठेस पुगेको देखिन्छ ।
के तपाई सङ्ग पनि यस्तो घटना घटेको छ ??
यदि हो भने comment मा साझा गर्नुहोस ।