24/10/2025
---
गायिका नितु पौडेलको निधन: परिवारले हत्या भएको दाबी गर्दै जाहेरी दर्ता:
२०८२ कात्तिक ७ गते, १४:०२
काठमाडौं – केही दिनको संघर्षपछि, लोकप्रिय गायिका नितु पौडेल ले आज बिहान ८:२० बजे किर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा अन्तिम सास फेरेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले उनको मृत्यु भएको पुष्टि गरेका छन्।
नितुको निधनपछि उनका दाई गणेश पौडेल जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन्। अनलाइनखबरसँगको कुरा गर्दै गणेशले बताए, “म जाहेरी लिएर प्रहरी कार्यालयमा पुगेको छु। अब जाहेरी दर्ता गरेर गायक बाबुल गिरीमाथि अनुसन्धान अघि बढाउनुपर्छ।”
गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा गायक गिरीविरुद्ध कारबाही माग गरेका छन्। उनका अनुसार, विगत ८–९ वर्षदेखि नितु र गिरी प्रेम सम्बन्धमा थिए। घटनाको दिन, दुईजनामात्रै भएको कोठाभित्र नितुलाई जलाइएको दाबी गणेशले गरेका छन्।
गायिका नितु पौडेलले १ कात्तिकमा स्टुडियोमा गएर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। उक्त स्टुडियो गायक बाबुल गिरीको हो। प्रारम्भिक अनुसन्धान अनुसार, नितुले शरीरमा आगो लगाइपछि बुझाउने प्रयास गर्दा गिरी पनि सामान्य घाइते भएका थिए। प्रहरीले भने घटनाबारे अझै खुलासा गरेको छैन र अनुसन्धान जारी रहेको जनाएको छ।
नितु पौडेलको एक हप्ताको उपचारपछि आइतबार बिहान उनको निधनले संगीतक्षेत्र मात्र नभएर उनका प्रशंसक, परिवार र साथीभाइमा गहिरो शोक छाएको छ।