28/10/2024
अब नखेल्ने भनेर अडान लिएका नेपाली खेलाडीहरु कसरी खेल्न तयार भए 😲 ?
रेफ्रीले गोल नदिएपछि नेपाली टीमले नखेल्ने अडान लिएपछि प्रशिक्षक र टीम म्यानेजरले पनि खेलाडीहरुलाई साथ दिए । अब एन्फाले अन्तिम निर्णय लिनुपर्ने अवस्था आयो । तर अहिले देशमा यस्तो महत्वपूर्ण प्रतियोगिताका भइरहेको बेला एन्फाका अध्यक्ष र महासचिव दुवै देशबाहिर छन् । साफ च्याम्पियनसीपजस्तो महत्वपूर्ण प्रतियोगिताका बेला उनीहरु दुवै एक कार्यक्रमका लागि कोरिया पुगेका छन् । रंगशालामा एन्फाका पदाधिकारीहरु थिए । उनीहरु द्वीविधाग्रस्त देखिए । खेलाडीलाई दबाब दिएर मैदानमा पठाउन सक्ने अवस्था थिएन । खेल हुन नसक्दा त्यसपछिको परिस्थितिको जिम्मेवारी उनीहरुले लिनुपर्थ्यो ।
स्रोतका अनुसार रंगशालामा रहेका एन्फाका पदाधिकारीले रंगशालाबाट कोरियामा रहेका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरेर सोधे । तर, उनले पनि कुनै निर्णय दिन सकेनन् । रंगशालामा उपलब्धहरुबीच नै छलफल गर्न सुझाव दिए । रंगशालामा भएका एन्फाका पदाधिकारीहरुबीच बारम्बार छलफल भए पनि निस्कर्ष निस्किन सकेन ।यसबीचमा एन्फाले नेपाली पुरुष फुटबल टीमका कप्तान किरण चेम्जोङ र खेलाडी संघका अध्यक्ष विक्रम लामासँग सहयोग मागे । किरण र विक्रम दुवै खेल हेर्न रंगशालामा गएका थिए । सावित्रा भण्डारीलाई बोलाएर उनीहरुसँग भेटाइयो। उनीहरुले धेरै बेरसम्म रेफ्रीको निर्णयलाई मान्नुपर्छ, समय अझै बाँकी छ, तिमीहरुले सक्छौ, यति धेरै दर्शकहरु आउनुभएको छ, आजको निर्णयले पछिसम्म असर गर्न सक्छ' भनेर साम्बालाई सम्झाएको थिए । त्यही कुरा सम्बाले टीममा गएर राखेपछि सबैजना खेल खेल्न कन्भिन्स्ड भएका थिए ।