14/08/2025
सहकारी व्यवस्थापक बम्रेल पक्राउ पाल्पाका चार पालिका एक हजार वचतकर्ता विचल्ली
पाल्पा – सहकारीको करिब तीन करोड रकम अपचलन भएपछि वचतकर्ता विचल्लीमा परेका छन् । रम्भा, पूर्वखाेला, माथागढी र बगनासकालीका १ हजार वचतकर्ता विचल्लीमा परेका हुन् ।
रम्भा गाउँपालिका–४, हुमिनस्थित लालीगुँरास वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बम्रेल पक्राउ परेपछि वचतकर्ता दिनहुँ रकम फिर्ताका लागि सहकारीमा धाउने गरेका छन् ।
पक्राउ परेका बोमरेलले संस्थाको दुई करोड ८७ लाख ५७ हजार रकम अपचलन गरेको आरोप लागेको छ । सहकारी संस्थाबाट फर्जी ऋणी तयार गरेर रकम हिनामिना गरेको आरोप बम्रेलमाथि छ ।
संस्थाको संचालक समितिका अध्यक्ष सुवी विकले दिनुभएको उजुरीका आधारमा बोमरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो । बम्रेललाई पाल्पा रम्भा–४, हुमिनस्थित घरबाटै पक्राउ गरिएको उहाँले बताउनुभयो ।
व्यवस्थापक बोमरेलले रकम हिनामिना गरेको सञ्चालक समितिका अध्यक्ष सुवि विकले बताउनुभयो । २०८१ माघमा आफू अध्यक्षमा निर्वाचित भएपछि रकम हिनामिना गरेको थाहा पाएको विकले बताउनुभयो । सहकारी संस्थाले रम्भा, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिकामा वचत तथा ऋणको कारोबार गर्दै आएको थियो ।
त्यस क्षेत्रका करिव एक हजार वचतकर्ता अलपत्र परेका छन् । वचतकर्ताका पाँच करोड रकम फिर्ता गर्न बाँकी छ । यस्तै राष्ट्रिय सहकारी बैँकको एक करोड रकम फिर्ता गर्न बाँकी भएको सहकारीले जनाएको छ ।