
08/11/2024
काठमाडौं । ललितपुर महानगरले जाडोमा न्यायो र गर्मीमा शितल हुने घर निर्माण गर्न स्थानीयलाई प्रेरित गर्दै काम थाल्ने भएको छ ।
स्वीच एसिया लगायतका संघसंस्थासँग सहकार्य गरी ललितपुर महानगरले उर्जा प्रभावकारी घर निर्माण सम्बन्धी बैठकमा महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरका लागि बिल्डिङ इनर्जी इफिसिएन्सी (बीईईएन) परियोजना महत्वपूर्ण रहेको बताए । उनले भने, ‘बीईईएनको बैठकले कार्यदिशा निर्धारण गरी हुने टेक्निकल पेपर तयार पारोस्, हामी त्यो पेपरलाई विधिपूर्वक कार्यान्वयन गर्ने छौं ।
पुसमा हुने नगरसभाले उर्जामैत्री भवन निर्माण सम्बन्धी कानून पास गर्ने प्रतिबद्धता व्यक्त गरे । महानगरका नगरबासीले सम्पदालाई प्राथमिकता दिएर घर निर्माण गर्न चाहे उनीहरुका लागि कस्तो सहुलित दिने त्यस सम्बन्धमा समेत छलफल गरेर निर्णय गर्ने उनको भनाई थियो । उनले भने,‘ नक्सापासमा ५० प्रतिशत छुट दिने कि वा १०० प्रतिशत नै दिने वा त्यो भन्दा थप कसरी गर्ने विषयमा छलफल गर्छौ ।
उर्जा प्रभावकारी घरलाई जाडोमा तातो बनाउन र गर्मीमा चिसो बनाउन कुलर प्रयोग गर्नुपर्दैन । यसले गर्दा घरमा हुने खर्च समेत कम हुन्छ । घर बनाउँदा प्रयोग हुने इँटा झ्याल , ढोको आकार, झ्याल ढोका राखिएको ठाउँले घर जाडोमा न्यानो र गर्मीमा शीलत हुने कुरा निर्धारण हुने विज्ञहरुले बताएका छन् ।
उर्जा प्रभावकारी घर निर्माणका लागि प्रोत्साहन गर्न जनचेतना आवश्यक भएको कार्यक्रमका सहभागीहरुको भनाई थियो । उनीहरुले उर्जा प्रभावकारी भवन निर्माणका लागि तालिम आवश्यक भएको बताए ।
शहरी विकास योजना महाशाखाका प्रमुख श्रीकुमार महर्जनले आफूसँग भएको स्रोत साधन प्रयोग गरी निर्माण गरिने उर्जा प्रभावकारी घर निर्माण गर्न जनचेतना आवश्यक भएको बताए । यस्तो घर निर्माण गर्न चाहनेलाई महानगरले गर्न सक्ने सहयोग र दिनुपर्ने सहुलियतका बारेमा छलफल गरिने बताए ।
आर्थिक विकास समितिका संयोजक तथा वडा नंं.२१का अध्यक्ष रविन्द्र महर्जनले नयाँ विषयलाई प्राथमिकता दिदाँ ललितपुरका बस्तीहरुको मौलिकता र पहिचानमा आँच पर्याउन नहुने बताए । सम्पदामा क्षेत्रमा रहेका व्यक्तिगत घरहरु पनि मन्दिरहरु सरहकै सम्पदा हुने धारणा राख्दै ती घरहरुको पनि ऐतिहासिक मौलिकता संरक्षण गर्नुपर्ने प्रष्ट पारे ।
यो परियोजना अन्तर्गत नेपालभरका ६० वटा स्थानीय तहमा उर्जा प्रभावकारी घर निर्माणका लागि सम्झौता भएको छ । यसैल १४ वटा स्थानीय तहले नियमावली तयार पारेको कार्यक्रममा जानकारी दिइएको छ।