02/04/2026
Suhang Nembang
यसो लेख्नुहुन्छ ।
आदरणीय अग्रज
प्रिय कमरेडहरू,
अभिवादन !
यहाँहरुलाई थाहा छ, हाम्रो प्रिय पार्टी नेकपा (एमाले) को संसदीय दलको हिजोको बैठकपछि निर्वाचन प्रक्रियामार्फत् आदरणीय उपाध्यक्ष कमरेड रामबहादुर थापा ‘बादल’ दलको नेतामा निर्वाचित हुनुभएको छ । उहाँलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको सुखद शुभकामना व्यक्त गर्दछु ।
संसदीय दलको निर्वाचन प्रक्रियाका दौरान मैले आफ्ना स्पष्ट मान्यता र दृष्टिकोणहरू राखिसकेको छु । म आफ्ना विचार र मान्यताहरूलाई पार्टीको सम्बन्धित आन्तरिक कमिटी र विधिभित्रै राख्नुपर्छ भन्नेमा दृढ छु । तर, बैठकपछि सामाजिक सञ्जाल र सार्वजनिक रूपमा अभिव्यक्त प्रतिक्रियाहरूलाई मध्यनजर गर्दै थप प्रष्ट पार्नु म आफ्नो कर्तव्य ठान्दछु ।
आदरणीय अग्रजहरू,
मलाई थाहा छ, ‘पार्टीको मार्गदर्शक सिद्धान्त, संगठनात्मक सिद्धान्त र हाम्रो आन्दोलनले स्थापित गरेका ऐतिहासिक मूल्य–मान्यता र अभ्यास ।’ यी मूल्य र आदर्शहरूप्रति मेरो गहिरो प्रतिबद्धता र निष्ठा रही आएको छ । मैले सधैँ जोड दिँदै आएको छु— ‘अग्रजहरूको अनुभव र ज्ञान एवं युवाहरूको ऊर्जा’ नै पार्टी निर्माणको मुख्य आधार हो ।
यहाँहरूलाई लाग्न सक्छ, ‘यो उम्मेदवारीमा हतारो भयो ।’ तर हामी सबैलाई थाहा छ, ‘हामी अहिले सामान्य अवस्थामा छैनौँ ।’ नेपाली राजनीतिमा ‘प्याराडाइम सिफ्ट’ भएको छ । नयाँ मानक, बिम्ब एवं मूल्यहरू निर्माण भएका छन् । के ती नयाँ मानक, बिम्ब र मूल्यहरु हामीले निर्माण गरेका हौं ? धेरै लामो समयसम्म बाँचिरहने ती मानक, बिम्ब र मूल्यहरुसँगको हाम्रो आन्दोलनको सम्बन्ध र साइनो कस्तो छ, रहनेछ ?
७६ वर्षे कम्युनिस्ट इतिहासको सबैभन्दा कठिन समयमा हामी उभिएका छौं । सबथोक भएको हामीसँग अहिले के–के बाँकी छन् ? हाम्रो अगाडि असाधारण संकट छ । हामीमाथि अनेकन प्रश्नहरू छन् । हामी यी प्रश्नहरुबाट भागेर वा प्रश्नहरुलाई पन्छाएर पार्टीलाई नयाँ जिवन दिनै सक्दैनौं । वर्तमान निराशा र हताशाले हामीलाई पलायनतर्फ लैजाने डरलाग्दो खतरा छ । सामान्य समयमा हिजोको मूल्य, आदर्श र मान्यताका आधारमा नियमित अभ्यास गर्नु स्वाभाविक होला, तर यतिबेला हामी यस्तो असाधारण समयमा छौँ कि हाम्रा साधारण अभ्यासले मात्र समस्याको निरूपण हुनै सक्दैन । चौतर्फी घेराबन्दी, वैचारिक अन्योलता र कार्यकर्ता पंक्तिमा व्याप्त चरम निराशाका बीच आन्दोलनलाई जीवन दिनु र पार्टीलाई पुनः जागृत गराउनु हामी सबैको साझा जिम्मेवारी हो ।
तसर्थ, हाम्रा अग्रजहरूको दशकौँ लामो कष्टसाध्य संघर्ष, रगत–पसिना र बलिदानबाट निर्मित यो पार्टीको भविष्यप्रति हामी युवाहरू चिन्तित हुनुलाई अग्रजहरूले अन्यथा मान्नुहुन्न भन्ने मेरो गहिरो विश्वास छ । मैले जुन पुस्ताको प्रतिनिधित्व गरिरहेको छु, उहाँहरुको भावना र परिवर्तनको चाहनालाई मैले गहिरो गरी अनुभूत गरेको छु ।
यसै आधारमा भन्न सक्छु— ‘हामीले आन्दोलनलाई पुनर्जीवन दिन अब नियमित कर्मकाण्डी संगठनात्मक अभ्यासले मात्र पुग्दैन, जंगी परिवर्तन जरुरी छ ।’ हाम्रो विचार, संगठनात्मक अभ्यास, कार्यशैली र मान्यताहरुको आमूल परिर्वतन पहिलो शर्त हो ।
प्रिय साथीहरू,
मेरो उम्मेदवारी कुनै पदको तृष्णा वा व्यक्तिगत महत्वाकांक्षा थिएन । बरु, यो पार्टीभित्र नयाँ आशा, उत्साह र गति पैदा गर्ने एउटा प्रयास थियो । म जानकार छु, हाम्रो मनोविज्ञान र गरीआएको अभ्यासका आधारमा मेरो यो कदम व्यक्तिगत रूपमा फाइदाजनक नहोला । मलाई यो पनि बोध छ, ‘बाक्लो अँध्यारो चिरेर उज्यालो ल्याउन कोही न कोही त स्वयं मैनबत्ती बनेर जल्नैपर्छ ।’ मजस्तै हजारौँ युवाहरूको मनमा सल्किएको चिन्ताको आँधीबेहरी देखेर मैले ‘कालकूट विष’ पिएको हुँ । प्राविधिक परिणाम जे–जस्तो आए पनि पार्टी र आन्दोलनलाई जीवन्त राख्न यस्ता अभ्यासहरू जारी राख्नुपर्छ भन्नेमा म अविचलित छु ।
त्यही बुझाइ र बोधका साथ नयाँ आशा सिर्जना गर्न सकिन्छ भन्ने निचोडसहित मैले दलको नेतामा उम्मेदवारी दिने निधो गरेको थिएँ । प्रयास सफल भएन । अबको समयमा सबैले संयमता अपनाएर अग्रजहरूको ‘अनुभव र ज्ञान’ को सम्मान गर्दै युवाहरूले आफ्नो ऊर्जा पार्टीको हितमा खर्चिनुपर्छ । सामाजिक सञ्जालमा एकअर्काप्रति लक्षित नकारात्मक टिप्पणीले हाम्रो साझा प्रयासलाई मात्र कमजोर बनाउँछ । म पुनः विनम्रताका साथ पार्टी, नेतृत्व र नेताहरूका विरुद्ध आवेगपूर्ण टिप्पणी नगरिदिनु हुन अनुरोध गर्दछु ।
मैले हिजो पनि भनेको छु, ‘पार्टीलाई नयाँ जिवन दिने अभियान अन्त्य भएको होइन, सुरु मात्रै भएको हो ।’ मप्रति शुभेच्छा राख्नु हुने आदरणीय अग्रज र प्रिय साथीहरुप्रति हार्दिक आभार प्रकट गर्दै उत्तेजना वा आवेगबाट होइन विवेक, संयम र जिम्मेवारीबोधका साथ प्रस्तुत हुन बिनम्र अनुरोध गर्दछु ।
सुहाङ नेम्वाङ
१९ चैत २०८२