29/06/2025
नीति एकेडेमी पोखरा–९ को आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ७ को सहकार्यमा आयोजित “वेब डिजाइन एवं डेभलपमेन्ट ” सम्पन्न भएको छ।
आइतबार नीति एकेडेमीको सभाहलमा आयोजित समापन कार्यक्रममा वडाध्यक्ष राममोहन आचार्यले १० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरे ।
उक्त अवसरमा वडाध्यक्ष आचार्यले तालिममा सिकिएका सीपहरूलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न आग्रह गरे। उनले भने, ‘आजको युग डिजिटल युग हो। अब तपाईंहरू घरमै बसेर मेहनत गर्नुहोस्, केही नबुझे प्रशिक्षकसँग समन्वय गर्नुहोस्।
वडा कार्यालयले स्वरोजगार बनाउने उद्देश्यले धेरै प्रकारका तालिम सञ्चालन गरिरहेको उनले बताए । वर्तमान समयलाई ध्यानमा राखेर तालिम आयोजना गरिएको भन्दै उनले भने, “हामी अब डिजिटल युगमा छौँ, जहाँ सिप नै शक्ति हो, तालिममा सहभागी भएकाहरुले सिकेका सीपहरु भोलिका उद्यमी, डिजाइनर र विकासकर्ताको जग बन्नेछन् ।
डिजिटल प्रविधिको विकाससँगै प्राविधिक सीपमा दक्ष बन्न यस्ता तालिमहरू महत्वपूर्ण हुने विश्वास वडाध्यक्ष आचार्यले व्यक्त गरे।
नीति एकेडेमीका अध्यक्ष माधव पोखरेलले तालिमका लागि तालिम आयोजना नगरिएको भन्दै तालिमले विद्यार्थीलाई धेरै कुरा सिकाएको र अब व्यवसायिकतातर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे । उनले वर्तमान समयमा वेव डिजाइन तालिम जो कसैलाई आवश्यक पर्ने स्पष्ट पारे ।
पोखरा-७ का वडासदस्य अर्जुन भुजेल थापाले वडालाई प्रविधिसँग जोड्न तालिम आयोजना गरिएको र यसबाट विद्यार्थी निकै लाभान्वित भएको विश्वास व्यक्त गरेका छन् ।
वडासदस्य बसुन्धरा लामिछानेले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सकेमा मात्र तालिमको सार्थकता हुने बताइन् ।
वडाध्यक्ष राममोहन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा-७ का कार्यक्रममा वडा सचिव राजेन्द्र पौडेल, वडा सदस्यहरू बसुन्धरा लामिछाने, सुनिता सुनारर अर्जुन भुजेल थापाको उपस्थिति रहेको थियो।
नीति एकेडेमीले ग्राफिक डिजाइन, वेव डिजाइनिङ, डिजिटल मार्केटिङ, वेसिक तथा डिप्लोमा कम्प्युटर ट्रेनिङ, सफ्टवेयर डेभलपमेन्ट र आरजे एवं भीजे ट्रेनिङ गर्दै आएको छ ।
हालसम्म नीति एकेडेमीले करिब ८ सय विद्यार्थीलाई शिक्षा प्रदान गरी रोजगार दिन सफल भएको छ ।