11/09/2026
बा
मेरा खुट्टाको ठेस
जोगाउन
चिरिएका औँला र
पटपट फुटेका
कुर्कुच्चाहरू—
कति बाटो हिँडे होलान्
मेरा लागि
बा का ती खाली खुट्टा…!
मेरा खुसी र भावनाका
पहाडहरू बोक्दाबोक्दै
शिरमा डामिएको
नाम्लाको डोब—
मैले सपना देखिरहँदा
बा को निधारबाट
कति पसिना बग्यो,
मैले कहिल्यै गनिनँ…।
मेरो भोक मेटिँदा
बा कति पटक
आफैँ भोकै सुते,
मेरो आङ न्यानो हुँदा
बा कति जाडा
चुपचाप काँपे—
त्यो हिसाब पनि
कहिल्यै सोधिएन…।
दिन बिते,
युग बिते,
मेरा खुट्टा आफैँ
हिँड्न सक्ने भए,
तर बा को काँध
कहिल्यै थाम्न सकिएन…!
आज
बा को ढाड अलि निहुरिएको छ,
कपालमा हिउँ परेको छ,
हिँडाइ सुस्त भएको छ—
तर मेरा खुसीहरू
मर्न नदिन
हजार चोट र दबाब
झेलेर अझै हाँसिरहन्छन्
बा र बाहरू…।
सायद
संसारका सबैभन्दा अग्ला पहाड
हिमाल मात्रै होइनन्—
सन्तानका दुःख छेक्दै
चुपचाप उभिइरहने
बा पनि हुन्…।
बा दिवसमा
ती सबै चिरिएका कुर्कुच्चा,
नाम्लाले डामेका शिर
र कहिल्यै नथाकेजस्तो गर्ने
थाकेका काँधहरूलाई
मेरो शिर झुकाएर प्रणाम।