20/06/2026
तमु समुदायमा प्रचलित एउटा महत्वपूर्ण भनाइ छ— ‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ...’ अर्थात् शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए... हराउँछ। यही सन्देशलाई आत्मसात् गर्दै विभिन्न तमु संघसंस्था तथा सामाजिक स्थलहरूमा यो वाक्यांश लेखिएको देख्न पाइन्छ। तर आजको सन्दर्भमा एउटा गम्भीर प्रश्न उठेको छ— के हामी वास्तवमै आफ्ना संस्कारहरूलाई शास्त्रअनुसार अवलम्बन गरिरहेका छौं?
विशेषगरी दाहसंस्कारको विषयमा यो प्रश्न अझ महत्वपूर्ण देखिन्छ। वर्तमान समयमा अधिकांश तमु समुदायले शवलाई नदी तथा खोलाको किनारमा निर्माण गरिएका घाटमा लगेर अग्निदाह गर्ने प्रचलन अपनाएका छन्। तर खेगीद्वारा वाचन गरिने तमु बोँ शास्त्रमा शव व्यवस्थापनसम्बन्धी उल्लेख भने फरक पाइन्छः
‘थेँमा तोरोँ थेँ? — मुए उँधोना क्होँ आङी । छ्युए उँधोना क्होँ आङी । च्ह्याए उँधोना क्होँ आङी । त्होए उँधोना क्होँ आङी । मीए उँधोना क्होँ आङी । सए उँधोर क्ह्युरजे थेँ ।’
यसको भावार्थ अनुसार मृत शरीरलाई न आकाशमा छोडिने, न पानीमा बगाइने, न झुण्ड्याइने, न आगोमा जलाइने; बरु आमाको गर्भमा रहेको शिशुलाई जस्तै पृथ्वीको काखमा सुरक्षित रूपमा राखिने व्यवस्था उल्लेख गरिएको छ।
यस सन्दर्भमा केही गम्भीर प्रश्नहरू उठाउन आवश्यक देखिन्छः
तमु समुदायको मौलिक शास्त्रीय परम्परा र वर्तमान अभ्यासबीच किन र कसरी भिन्नता आयो?
अग्निदाह संस्कार तमुहरूको मौलिक परम्परा हो कि पछि ग्रहण गरिएको अभ्यास?
यदि शास्त्रले पृथ्वीमा समाधिस्थ गर्ने विधिलाई निर्देश गर्दछ भने त्यसबारे समुदायमा पर्याप्त अध्ययन, छलफल र बहस किन भएको छैन?
मुस्लिम तथा क्रिश्चियन समुदायले आफ्नो धार्मिक परम्पराअनुसार शव व्यवस्थापन गर्न सकिरहेका छन् भने तमु समुदायले आफ्नै शास्त्रीय विधिबारे गम्भीर बहस र अभ्यास गर्न नसकिने हो र?
यी प्रश्नहरूको उत्तर खोज्नु केवल संस्कारको विषय मात्र होइन, तमु समुदायको सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको विषय पनि हो। त्यसैले अब भावनात्मक प्रतिक्रियाभन्दा माथि उठेर शास्त्र, इतिहास, व्यवहारिकता र समकालीन आवश्यकताका आधारमा खुला, गहन र जिम्मेवार बहसको थालनी गर्नुपर्ने समय आएको छ।
Send a message to learn more