Pokhara Bimarsha

Pokhara Bimarsha Welcome to Pokhara Bimarsha Media/news company official page in siddharthachowk,pokhara,Nepal

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ                                                                         ...
27/10/2025

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।

अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।

ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।

अस्ताउँदो सूर्यलाई अर्घ दिन राजधानीका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौंका विभिन्न स्थानमा पूजास्थल निर्माण गरिएको छ ।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । यसले सामाजिक सद्भाव र एकता कायम गरेको छ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाइ चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रुपमा पनि स्थापित भएको छ ।

१६ सय वर्षदेखि काठका खम्बाले थामिरहेको भेनिस सहर                                                               १६ सय ४ व...
27/10/2025

१६ सय वर्षदेखि काठका खम्बाले थामिरहेको भेनिस सहर १६ सय ४ वर्ष पूरानो यो सहर लाखौँवटा साना ठूला काठका खम्बाको जगमा बनेको छ । ती थामलाई जमिनमा यस्तो प्रकारले गाडिएको छ कि त्यसको तिखो चुच्चो भाग भुइँतर्फ छ ।

लार्च, ओक, एल्डर, स्प्रूस, एल्म तथा सल्लोजस्ता रुखका काठबाट बनेका ती थामको लम्बाई एक मिटरदेखि लिएर साडे ३ मिटरसम्म रहेको छ । तिनै खम्बाले सदियौँदेखि चट्टानका महल तथा अग्ला घण्टाघरहरुलाई थामिरहेका छन् ।

भेनिस सहरको त्यो संरचना इन्जिनियरिंगको यस्तो अद्भुत उदाहरण हो, जसमा प्रकृति तथा भौतिक विज्ञानका शक्तिलाई उत्कृष्ट ढंगले उपयोग गरिएको छ।

अहिलेको जमानाका आधुनिक भवनहरुमा बलियो जगका लागि स्टिल तथा कंक्रिटको प्रयोग गरिन्छ । तर त्यहाँ चाहीँ सोही उल्टो जंगलले सदियौँदेखि भेनिस सहरलाई थामिरहेको छ । वर्तमानका आधुनिक जगहरु भेनिसमा जस्तो लामो समयसम्म टिक्न पनि असम्भव हुन्छ ।

स्विजरल्याण्डको इटिएच विश्वविद्यालयमा जियो मेकानिक्स र जियोसिस्६म इन्जिनियरिंग विषयका प्राध्यापक अलेक्जेन्डर प्यूज्रिन भन्छन्, ‘आजकलका कंक्रिट वा स्टिलका जगहरु करीब ५० वर्षसम्म टिक्ने ग्यारेन्टीका साथ बनाइएको हुन्छ । वास्तवमा ती जग त्यो समयभन्दा धेरै अवधिसम्म टिक्छन् नै तर जब हामीले घर वा औद्योगिक पूर्वाधारहरु बनाउँछौँ, त्यसमा मानक आयू भनेको ५० वर्ष नै हुन्छ ।’

भेनिसका काठका जगको प्रविधि आफ्नो बनावट, सदियौँसम्म टिक्ने क्षमता तथा आफ्नो विशाल आयतनका कारण निकै रोचक छ ।

सहरको मुनि कूल् कतिवटा काठका खम्बा छन् भन्ने एकीन संख्या कसैलाई पनि थाहा छैन । रियाल्टो पुलको मुनि मात्रै १४ हजारवटा काठका खम्बा गाडिएका छन् भने सन् ८३२ मा निर्मित सेन्ट मार्क भेसिलिकाको मुनि १० हजारवटा ओकका रुखको प्रयोग गरिएको छ ।

कसरी गाडियो ती खम्बा ?

भेनिसका भवनहरुको जग निर्माणका लागि काठका खम्बाहरुलाई जतिसक्दो अधिकतम गहिराईसम्म गाडिएको थियो ।

त्यो काम संरचनाहरुको बाहिरी हिस्साबाट सुरु भएर केन्द्रतर्फ बढ्दथ्यो । आमरुपमा एक वर्गमिटरमा नौवटा खम्बा गोलाकार (स्पाइरल) ढाँचामा गाडिन्थ्यो ।

त्यसपछि खम्बाहरुको टुप्पो काटेर त्यसलाई एक समान सतहमा परिणत गरिन्थ्यो, जो समुद्रको स्तरभन्दा तल हुन्थ्यो ।

अनि त्यसमाथि काठकै तेर्सा संरचना राखिन्थ्यो त्यसलाई जत्तेरोनी या मादिएरी (काठका बिम तथा दलिन) भनिन्थ्यो । त्यसमाथि चाहीँ भवनका ढुंगा राखिन्थ्यो ।

सहर निर्माणका काठको चरम कटान भएसँगै भेनिस गणराज्यले छिटै नै आफ्ना जंगलहरुको रक्षा गर्न सुरु गर्यो ताकि पूर्वाधार तथा जहाज निर्माणका लागि पर्याप्त काठ उपलब्ध होउन् ।

इटालीको नेशनल काउन्सिल फर रिसर्चको बायो इकोनोमी इन्स्टिच्यूटका शोध निर्देशक निकोला मक्कियोनीका अनुसार भेनिसले नै काठको खेती अर्थात् सिल्भिकल्चरको अवधारणाको सुरुवात गरेको थियो ।

हुनत भवनहरुको जगका लागि काठका खम्बामा निर्भर रहेको सहर भेनिसमात्रै होइन । तर भेनिसका केही यस्ता कुरा छन् जसले उसलाई अनौठो बनाइदिएका छन् ।

एम्सटर्डम पनि यस्तै एक सहर हो जो आंशिक रुपमा काठकै खम्बामा बनेको छ ।

त्यहाँ र उत्तरी युरोपका केही सहरमा समेत जगको रुपमा प्रयोग गरिएका ती काठका खम्बा सिधै तलसम्म गएर ठोस चट्टान (बेडरक) लाई छुन्छन् अनि लामा खम्बा र टेबलका खुट्टाको रुपमा काम गर्दछन् ।

अमेरिकाको इलिनोइस विश्वविद्यालयका वास्तुकलाका प्राध्यापक थोमस लेस्लीका अनुसार चट्टानहरु पानीको सतहको नजिक हुँदा मात्रै यो तरिका सही हुन्छ ।

उनका अनुसार मिसिगन तालको किनारमा चट्टानहरु सतहभन्दा करीब १० फिट तल छन् ।

उनी भन्छिन्, ‘यति लामो आकारका रुख खोज्नु कठीन हुन्छ । भनिन्छ कि सन् १८८० को दशकमा शिकागोमा मानिसहरुले एउटा रुखको काण्डमा अर्को रुखको काण्डलाई राखेर जग बनाउने कासिस गरेका थिए । तर त्यो तरिकाले पनि काम गरेन । अन्ततः उनीहरुलाई थाहा भयो कि वास्तविक शक्ति माटो र खम्बाको बीचमा उत्पन्न हुने घश्रणमा रहेको छ ।’

उक्त सिद्धान्तको आधार हो माटोलाई बलियो बनाउनु । जतिधेरै खम्बा एक ठाउँमा गाडियो उति नै धेरै घश्रण पैदा हुन्छ र भवनको जगत बलियो हुन्छ ।

यो प्रविधिलाई वैज्ञानिक भाषामा हाइड्रोस्टाटिक चाँप भनिन्छ ।

थोमस लेस्लीका अनुसार जब धेरैवटा खम्बाहरु नजिक नजिक गाडिन्छ, तब माटोले ती सबैलाई कँसेर पक्रिन्छ ।

भेनिसका काठका जग पनि यहीँ सिद्धान्तमा काम गर्दछन् । ती खम्बा कडा चट्टानसम्म पुग्दैनन्, मात्र माटाको घश्रणका कारणले गर्दा भवनहरुलाई थामेर राख्छन् । यो तरिका निकै पुरानो हो ।

पहिलो शताब्दीका रोमन इन्जिनियर तथा वास्तुकार भिट्रुभियसले पनि यो प्रविधिको बारेमा उल्लेख गरेका थिए । रोमनहरुले पुल बनाउनका लागि पानीमा डुबेका काठका खम्बाहरुको प्रयोग गर्दथे ।

चीनमा पनि जल द्धार अर्थात् वाटर गेट यहीँ प्रविधिबाट बनाइन्थ्यो ।

मेक्सिको सिटीमा एज्टेकहरुले सोही तरिका अपनाएका थिए । तर स्पेनिसहरुल्े उनीहरुको प्राचीन नगरलाई ध्वंस गरेर र त्यस ठाउँमा क्याथोलिक चर्च बनाए ।

प्युज्रिनका अनुसार एज्टेकहरु आफ्नो पर्यावरणमा निर्माण गर्ने काममा स्पेनिसहरुको तुलनामा धेरै पोख्त थिए । स्पेनिस मानिसहरुले पछि जो चर्च बनाए त्यो अहिले असमान रुपमा धस्सिइरहेको छ।

उनका अनुसार मेक्सिको सिटीको उक्त क्याथेड्रल तथा पूरै मेक्सिको सिटी जगसँग सम्बन्धित हरेक गल्तीको जिवन्त उदाहरण हो ।

किन कुहिँदैनन् काठ ?

डेढ हजार वर्षभन्दा धेरै समयसम्म पानीभित्र रहँदापनि भेनिस सहरका काठे जगहरु अहिलेसम्म बलियोसँग टिकिरहेका छन् । यद्यपि यी काठका खम्बाहरुमा कत्तिपनि क्षति नपुगेको चाहीँ होइन ।

करीब १० वर्षअघि पादोवा तथा भेनिस विश्वविद्यालयको एक टिमले सहरका जगहरुको स्थितिको अध्ययन गरेको थियो ।

उनीहरुले सन् १४४० मा बनेको फ्रारी चर्चको घण्टाघरको जगबाट जाँच सुरु गरे, जो एल्डर वनस्पतीको काठका खम्बाबाट बनेको थियो ।

फ्रारी घण्टाघर हरेक वर्ष करीब १ मिलिमिटरका दरले धस्सिइरहेको छ । अर्थात् अहिलेसम्म यो करीब ६० सेन्टिमिटर तल गैसकेको छ ।

मक्कियोनीका अनुसार चर्च वा अन्य भवनहरुको तुलनामा घण्टाहरुको वजन कम क्षेत्रमा केन्द्रित हुन्छ । जसका कारण घण्टाघरहरु तिव्र गतिमा धस्सिन्छन्, अग्लो हिल भएका जुत्ताजस्तै ।

शोधकर्ताहरुले अध्ययनको क्रममा केही काठमा क्षति पुगेको त फेला पारे तर पानी, माटो तथा काठ मिलेर बनेको उक्त प्रणालीले हालसम्म पनि त्यसलाई सम्हालिरहेको छ ।

साथै शोधकर्ताहरुले अक्सिजन रहित वातावरणका कारण काठ नकुहेको भन्ने मिथकलाई पनि खारेज गरिदिए ।

वास्तवमा ब्याक्टेरियाहरूले काठमा आक्रमण गर्दछन् चाहे त्यहाँ अक्सिजन किन नहोस् । तर ब्याक्टेरियाको असर धमिरा तथा किराको तुलनामा निकै सुस्त हुन्छ, जुन अक्सिजनको उपस्थित मा सक्रिय हुन्छन् ।

यसका अलावा पानीले काठका ती कोशिकाहरुलाई भरिदिन्छ, जसलाई ब्याक्टेरियाले खाली गराएका हुन्छन् । यसबाट काठको विद्यमान आकार कायमै रहन्छ ।

टिमका सदस्य इज्जो भन्छन्, ‘के चिन्ता लिनुपर्ने कुनै कुरा छ ? छ वा छैन पनि । तर यस्तो खालका शोधहरु चाही निरन्तर जारी राख्नुपर्दछ ।

उनका अनुसार दश वर्षअघि नमूना लिएपछि अहिलेसम्म नयाँ नमूनाहरु संकलन गरिएको छैन, किनकि यो प्रक्रिया निकै कठीन छ ।

मक्कियोनी भन्छन्, ‘यी जग अझै कति शताब्दी टिक्छन् भन्ने कुरा हामीलाई थाहा छैन । तर जबसम्म पर्यावरण अहिलेकै जस्तो रहन्छ, त्यसबेलासम्म यी टिक्नेछन् । यो प्रणालीले यसकारण पनि काम गर्दछ कि यो काठ, माटो तथा पानी तीनवटै तत्वको संयोजनको रुपमा रहेको छ ।

माटोले अक्सिजनलाई टाढा राख्दछ । पानीले काठका कोशिकाहरुको आकार कायम राखिदिन्छ भने काठले भवनलाई थामिराख्नका लागि आवश्यक घर्षण दिइराख्छ ।

निकै सुन्दर

१९ र २० औँ शताब्दीमा जग निर्माणका लागि काठको ठाउँ पूर्ण रुपमा सिमेन्टले लिएको थियो ।

तर हालैका वर्षहरुमा काठबाट निर्माणको चलन पुनः बढेको छ, यहाँसम्म कि अहिले काठका गगनचुम्बी भवनहरु पनि बनाउन थालिएको छ ।

प्राध्यापक लेस्लीका अनुसार वर्तमानमा काठलाई पुनः एउटा निकै विशेष तथा आधुनिक निर्माण सामाग्रीको रुपमा हेर्न थालिएको छ र यसका पछाडि तथ्इगत कारणहरु पनि छन् । काठले कार्बलाई सोस्दछ । यो प्राकृतिक रुपमा नष्ट हुन्छ र आफ्नो लचिलो संरचनाका कारणले यो भूकम्प प्रतिरोधी सामाग्री मानिन्छ ।

हुनत भेनिस काठको जगमा उभिएको एक्लो सहर होइन । तर यो एकमात्र यस्तो सहर हो जहाँ घर्षणमा आधारित प्रविधिलाई व्यापक स्तरमा प्रयोग गरिएको छ, जुन अहिलेपनि पूर्ण रुपमा सुरक्षित तथा अविश्वसनीय रुपमा सुन्दर छ ।

प्राध्यापक प्यूज्रिन भन्छन्, ‘यी भवनहरु ती मान्छेले बनाएका थिए जसले न माटोको मेकानिक्स पढेका थिए, न त जियो टेक्निकल इन्जिनियरिङ्ग। तरपनि उनीहरुले सदियौँसम्म टिक्ने यस्ता चिज बनाए जसलाई बनाउने कुरा हामीले आज केवल सपना देख्नमात्रै सक्छौँ। बीबीसीबाट

ऐतिहासिक कात्तिक नाच आजदेखि सुरु                                                                                        ...
27/10/2025

ऐतिहासिक कात्तिक नाच आजदेखि सुरु ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि प्रदर्शन हुँदैछ । विगत तीन सय ८५वर्षदेखि हरेक वर्ष कात्तिक महिनामा प्रदर्शन हुँदै आएको ऐतिहासिक उक्त सञ्चालनका लागि यस वर्षको सबै तयारी पूरा भएको जनाइएको छ ।

आज साँझदेखि १९ गतेसम्म साँझ ७ बजेसम्म नियमित रूपमा नाच सञ्चालन हुने र त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए ।

‘यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ, त्यसैले १० दिनसम्म सञ्चालन हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिलाअनुसार नाच देखाइन्छ,’ उनले भने, ‘यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक वर्ष कात्तिक महिनामा सञ्चालन हुँदै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ नाच चलाएको जनविश्वास छ ।’

नेपाल संवत् ७६१ अर्थात् १६९७ सालमा ‘कात्तिक नाच’ को प्रारम्भ भएको इतिहास छ । यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर देखाउनु हो ।

अध्यक्ष चित्रकारका अनुसार मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको इतिहास रहेको उनले जानकारी दिए ।

अध्यक्ष चित्रकारले भने, ‘यो नाच सुरुमा पाँच दिन प्रदर्शन भएको बताइन्छ । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पुर्‍याएका पनि इतिहास छ । हाल यसको विशेषता बुझेका कलाकार र नाच सञ्चालनका लागि आर्थिक अभावमा १० दिनमा मात्रै सीमित गरिएको छ ।’

यो नाच नेपालको अमूर्त सम्पदा र परम्परागत संस्कृति भएकाले हालसम्म नरोकिएको कात्तिक नाच प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायले बताए ।

‘कार्तिक नाच धार्मिक र तान्त्रिक महत्त्वसँग पनि जोडिएको छ । यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि लिइन्छ, जुन जातीय सद्भाव कायम राख्ने माध्यम बनेको छ,’ उनले भने ।

मल्लकालीन समयमा कात्तिक नाचमा मैथिली भाषामा संवाद गरिन्थ्यो । मैथिली भाषा नेवार समुदायमा नबुझिने भएकाले पछिल्लो समय नेपाल भाषामा उल्था गर्न थालिएको जानकारहरू बताउँछन् । यो नाच संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा चिनिएको राजोपाध्यायको भनाइ छ ।

‘२७ दिनसम्म नाच सञ्चालन हुने भएकाले संसारको सबैभन्दा लामो नाट्य महोत्सव भएको इतिहासमा उल्लेख छ, तर हाल यसलाई १० दिनमा खुम्च्याइएको छ । २००७ सालको जनक्रान्तिपछि यो नाटकलाई केही दिनमा खुम्च्याइयो । २००८ सालदेखि २०३७ सालसम्म दुई दिन मात्रै देखाइयो । यी दुई दिनमा बराह र नरसिंह अवतार देखाइन्थ्यो,’ राजोपाध्यायले भने ।

कात्तिक नाच प्रबन्ध समिति गठन भएपछि २०३८ देखि २०६९ सालसम्म प्रत्येक वर्ष आठ दिन नाच प्रदर्शन भएको राजोपाध्याय बताउँछन् ।

‘२०७० सालमा दुई दिन वस्त्रहरण र बौद्ध लीला थपेर १० दिन र २०७१ देखि २०७६ सालसम्म १२ दिन सञ्चालन भएको थियो । २०७७ सालमा कोभिड महामारीका कारण दुई दिन मात्रै नाच देखाइएको थियो । यस वर्ष १० दिन देखाइँदैछ, २००६ सालयता २७ दिन नै नाच हुन सकेको छैन । सबै २७ दिन गर्न एक वर्ष समय खर्चिनुपर्छ । नाचका लागि अभ्यासमा धेरै समय लाग्छ,’ उनले भने ।

नाच संरक्षण समितिले नाचलाई निरन्तरता दिन संस्थागत रूपमा १० करोड रुपैयाँको अक्षयकोष स्थापना, कलाकारलाई व्यावसायिक रूपमा अगाडि बढाउने र नयाँ पुस्तालाई भाषागत रूपमा सबल बनाउन प्रशिक्षण दिने लक्ष्य लिएको जनाएको छ ।

You can also follow on Instagram to see more.
27/10/2025

You can also follow on Instagram to see more.

बिहारमा चुनावको मुखैमा जेडियूले गर्‍यो १६ नेतालाई पार्टीबाट निस्कासन                                    बिहार बिधानसभा न...
27/10/2025

बिहारमा चुनावको मुखैमा जेडियूले गर्‍यो १६ नेतालाई पार्टीबाट निस्कासन बिहार बिधानसभा निर्वाचनको मुखैमा जनता दल युनाइटेड (जेडियू)का १६ नेता पार्टीबाट निस्कासित भएका छन्।

पार्टीविरूद्ध गतिविधि गरेको आरोपमा मुख्यमन्त्रीसमेत रहेका अध्यक्ष नितिश कुमारले १६ जनालाई पार्टीबाट निस्कासन गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

एनडिटिभीका अनुसार विधानसभाका दुई जना बहालवाला सदस्य र पूर्वमन्त्रीसहितका नेताहरूलाई जेडियूले पार्टीबाट निस्कासित गरेको हो।

उनीहरूलाई पार्टीमाथि षड्यन्त्र रचेको र पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको आरोप लगाइएको छ। जेडियूले यसअघि पनि पूर्वमन्त्री शैलेशकुमारसहित ११ जनालाई कारबाही गर्दै पार्टीबाट निस्कासन गरेको थियो।

अहिले निस्कासित भएकाहरूमा बहालवाला विधानसभा सांसद नरेन्द्र निरज एलियस गोपाल मण्डल पनि छन्।

यसपालिको विधानसभा चुनावमा पार्टीले उम्मेदवार नबनाउने निश्चित भएपछि मण्डलले पटनास्थित मुख्यमन्त्री निवासमा धर्ना दिएका थिए। यद्यपि पार्टीले उनको स्थानमा आरजेडीबाट आएका बुलो मण्डललाई टिकट दिएको थियो। पाँचौंपटक विधानसभा सदस्य चुनाव लड्न पार्टीले नदिएपछि मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

जेडियूले निस्कासन गरेका अन्य नेताहरूमा विधान परिषद् सदस्य सञ्जीव श्याम सिंह, पूर्वमन्त्री हिमराज सिंह, पूर्वसांसद महेश्वरप्रसाद यादव, प्रभात किरण लगायत रहेका छन्।

पार्टीले टिकट नदिएपछि विधान परिषद् सदस्य सञ्जीव श्याम सिंह प्रशान्त किशोरको जनसुरज पार्टीबाट उम्मेदवार बनेका छन्। हिमराज सिंहले भने स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यसरी पार्टीलाई नोक्सान पुर्‍याउने गरी गतिविधिमा संलग्न भएको भन्दै जेडियूले उनीहरुलाई कारबाही गरेको हो।

२४३ सदस्यीय बिहार विधानसभा निर्वाचन दुई चरणमा हुनेछ।

पहिलो चरणको मतदान नोभेम्बर ६ (कात्तिक २० गते) मा र दोस्रो चरणको मतदान नोभेम्बर ११ (कात्तिक २५) मा हुनेछ।

मतगणना नोभेम्बर १४ (कात्तिक २८) मा हुनेछ। बिहारमा ७ करोड ४२ लाख मतदाता छन्।

यो निर्वाचन दुई वटा गठबन्धनबीच भिडन्त हुनेछ।

राष्ट्रिय जनता दल (आरजेडी) नेतृत्वको 'महागठबन्धन'मा कंग्रेस, भारतीय कम्युनिस्ट पार्टी, कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी), कम्युनिस्ट पार्टी अफ इन्डिया (माले) र विकासशील इन्सान पार्टी सामेल छन्।

यो महागठबन्धनले तेजस्वी यादवलाई मुख्यमन्त्री घोषणा गरेको छ। ३५ वर्षीय यादव बिहारका बहुचर्चित नेता लालुप्रसाद यादवका कान्छा छोरा हुन्। पछिल्लो समय उनी बिहारको प्रतिपक्षी दल आरजेडीका नेता हुन्।

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको 'एनडिए' गठबन्धनले जनता दल (युनाइटेड) का नितिश कुमारलाई आफ्नो तर्फबाट भावी मुख्यमन्त्री घोषणा गरेको छ।

नितिश कुमार दसौंपटक मुख्यमन्त्री बन्ने दौडमा छन्।

उनी पछिल्लो पटक महागठबन्धन त्यागेर भाजपाकै समर्थनमा नवौं पटक मुख्यमन्त्री बनेका थिए। पटक पटक गठबन्धन फेरिरहने भएकाले उनलाई विपक्षीहरू 'पल्टुराम' भन्छन्।

धनी देशमा निको हुने क्यान्सरले गरिब देशमा किन लिन्छ ज्यान?                                                              ...
27/10/2025

धनी देशमा निको हुने क्यान्सरले गरिब देशमा किन लिन्छ ज्यान? गरिब तथा विकासोन्मुख देशका महिलाले विभिन्न क्यान्सर संक्रमण बारे ढिलोगरी मात्रै थाहा पाउने र मृत्युदर पनि बढी हुने एक अध्ययनले प्रष्ट पारेको छ ।

द लासेन्ट जर्नलमा प्रकाशित एक नयाँ अध्ययनले कम र मध्यम आय भएका देशहरूमा महिलाहरूलाई हुने स्तन क्यान्सर र सर्वाइकल क्यान्सर अर्थात् गर्भाशयको मुखमा हुने क्यान्सरको अवस्थाबारे गम्भीर तथ्यहरू उजागर गरेको हो ।

रिपोर्टका अनुसार, क्यान्सर पहिचानमा ठूलो असमानता रहेको देखिएको छ । गरिब तथा विकासोन्मुख देशहरू स्तन र गर्भाशयको मुखमा हुने क्यान्सरबाट पीडित २० प्रतिशतभन्दा कम महिलामा मात्र रोगको पहिचान शुरुवाती चरणमा हुने गरेको छ।

विकसित/उच्च आय भएका देशहरू यसको तुलनामा, प्रत्येक पाँचमध्ये दुई महिला (अर्थात् ४० प्रतिशत वा सोभन्दा बढी) को क्यान्सर प्रारम्भिक अवस्थामै पत्ता लाग्छ।

अध्ययनअनुसार, कम आय भएका देशहरूमा अधिकांश क्यान्सरका घटनाहरू रोग निकै बढिसकेपछि मात्र पत्ता लाग्छ। यसले गर्दा यी देशका महिलाहरूको जीवित रहने सम्भावना विकसित देशका महिलाहरूको तुलनामा धेरै कम हुन्छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार, स्तन क्यान्सरजस्ता आक्रामक ट्युमरहरूको निदान ६० दिनभित्र हुनुपर्छ र उपचार ९० दिनभित्र सुरु हुनुपर्छ। तर, न्यून तथा मध्य आय भएका देशमा समयसीमाको गम्भीर उल्लङ्घन भएको पाइएको छ ।

विकसित देशमा धेरैजसो प्रारम्भिक चरणको क्यान्सरको व्यवस्थापन १ महिनाभित्रै सुरु हुन्छ। तर, गरिब/विकासोन्मुख देशमा पाठेघरको मुख र डिम्बाशयको क्यान्सरको निदान तथा उपचार सुरु गर्न ४ महिनासम्म ढिलाइ हुने गरेको छ।

त्यस्तै, स्तन क्यान्सरको निदान तथा उपचार सुरु गर्न १ वर्षसम्म पनि लाग्न सक्छ, जसले गर्दा बिरामीको रोग धेरै बढिसकेको हुन्छ।

अनुसन्धानले उपचारको प्रोटोकलमा पनि ठूलो अन्दर रहेको देखाएको छ । प्रारम्भिक स्तन क्यानरको हकमा फ्रान्समा शल्यक्रिया र रेडियोथेरापी ८२ प्रतिशत महिलाले गर्दा जर्जियामा यो संख्या १३ प्रतिशत मात्र रहेको छ ।

क्यानडाका ९० प्रतिशत महिलाले पाठेघरको मुखको क्यान्सरमा केमोथेरापीबाट उपचार गर्दा मंगोलियामा यो संख्या १८ प्रतिशत मात्र रहेको अनुसन्धानबाट खुलासा भएको हो ।

त्यस्तै, मेटास्टेटिक डिम्बाशयको क्यान्सरमा अमेरिकाका ५३ प्रतिशत महिलाले शल्यक्रिया र केमोथेरापीबाट उपचार गर्दा क्युबामा यो संख्या ९ प्रतिशत मात्र रहेको छ ।

गरिब देशमा उपचार बीचमै छाड्ने समस्याले पनि मृत्युदर बढाएको देखिएको छ ।

लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रोपिकल मेडिसिनको ‘वीनसक्यान्सर’ परियोजना अन्तर्गत गरिएका यस अनुसन्धानले ढिलो पहिचानका लागि जिम्मेवार केही प्रमुख कारकहरू पहिचान गरेको छ ।

जसअनुसार, प्राथमिक स्वास्थ्य संरचनाको कमीका कारण नागरिकहरू आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन पुग्छन् ।

स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर जस्ता जाँच गर्ने सुविधाहरूको कमीका कारण पनि रोग ढिलो पत्ता लाग्ने गरेको छ ।

स्वास्थ्य सेवामा पहुँच, चेतनाको कमी, र महिलाहरूलाई क्यान्सर जाँच गराउनबाट रोक्ने अन्य सामाजिक-सांस्कृतिक चुनौतीहरूले पनि यो दर बढाइरहेको अनुसन्धानमा प्रतिवेदनमा उल्लेख छ ।

शोधकर्ताहरूले ३९ देशका २ लाख ७५ हजारभन्दा बढी महिलाहरूको तथ्याङ्क को विश्लेषण गरेर यो निष्कर्ष निकालेका हुन् । यसमा निदान, उपचार र अन्तर्राष्ट्रिय दिशानिर्देशहरूको पालनासँग जोडिएका प्रवृत्तिहरूको मूल्याङ्कन गरिएको थियो।

तिहारका झिलिमिली सम्झना                                                                                                 ...
24/10/2025

तिहारका झिलिमिली सम्झना गाउँको तिहार त धेरै भयो छुटेको । न उतिबेलाको देउसी भैलो, न त्यस समयको तास जुवा । समयले कता कता धकेलेर लग्यो । उमेरले डाँडो काट्दै गयो । १. यो मौसमको हावै मत्याइलो
हाम्रो घर पूर्व–उत्तर ढल्केको पाखोमा समुद्री सतहबाट झण्डै ९०० मिटर जतिको उचाइमा छ । मकैखोलाको काउरे टोलका सुवेदीहरूको पाँचौं पुस्तामा म जन्मेको हुँ । हामी हुर्कंदा गाउँमा २४ घर जति सुवेदीहरू र दुई घर क्षेत्रीका थिए ।

चारपाखे घरमा पूर्र्वोत्तर फर्केको र तीनतिर मात्र गाह्रो छेकबार भएको खुला बार्दलीमा हामी दाजुभाइ सुत्ने ओछ्यान थियो । कात्तिकमा पर्ने तिहारको मौसम प्राय: घमाइलो हुन्थ्यो ।

जेठमा भट्टेडाँडाबाट उदाउने घाम दक्षिणतिर सर्दैै छापाडाँडाबाट पनि ओरालो लागिसकेको हुन्थ्यो । छापडाँडा र गिलुङको चुचुरोको कापबाट तिरिरी सूर्यका राता किरणहरू सिधै बार्दलीसम्म आउँथे । सिरकमा गुटुमुट भएर सुतिरहन मन लाग्थ्यो तर आमाले घाम झुल्केपछि सुत्न हुन्न भन्ने कुरा बारम्बार सुनाउने र उठाउन पनि आइहाल्ने हुँदा हामी झुल्के घामको दृश्य हेर्र्दैै उठिसकेका हुन्थ्यौं ।
कात्तिकको दोस्रो सातासम्म घरबाट ठिक पारिपट्टि तासे, हिले, ठाडो हिले, रयाले, तकौली, कयारे, मकागी, भट्टेगामतिर पहेंलै पाकेको धानखेतहरू देखिन्थे । पात्ले, ठिमाहा र आँगा जस्ता धान काटिसकिएको हुन्थ्यो । हाम्रो बेसीतिर भने पाखे जर्नेली, मधिसे, मानामुरी र मन्सरा या गुर्दी धान छ भने कहिले काटिएको हुन्थ्यो र कहिले काट्ने समय आइरहेको । अलि तल कुलो लाग्ने खेततिर जेठोबुढो, गौरिया, थुम्सीकोटे गौरीया, मार्सी, रातो र सेतो अनदी, विरम्फुल, जर्नेली, थापाचिनी, एक्ले जस्ता धान कात्तिकको २० देखि मंसिरको एक दुई गतेसम्ममा काट्ने गरिन्थ्यो । तिहार कहिले पर्छ त्यसका आधारमा या त धान काटिएको या काट्दै गरेको या तिहार सकेर धान काट्ने तरखर गरिएको समय पर्थ्यो ।

बारीका कान्लाहरूमा हरियो घाँस र गराहरूमा पसाउँदै गरेको कोदोबारी शीतले लछप्पै भिजेको र घामका कलिला किरण परेपछि टल्केको दृश्यले मोहित बनाउँथ्यो । आँगन र बारीका डिलहरूमा सयपत्री, भुजुरी, मंगले, तिहारे र मखमली फूलहरू असरल्ल फुलेका हुन्थे । बारीका कान्लामा बेलौंतीका केही पाक्दै गरेका बोट र आँगनका डिलतिर छिप्पिदै गएका सुन्तला र कतै कतै निबुवा पेल्ने बेलाका हुन्थे । हाम्रो आँगन मुनिको गरामा भने या त आलु लगाइएको हुन्थ्यो भर्खर या त बाले काँचापात या लामपाते सुर्तीको खेती सपारिरहेका दृश्य हुन्थे ।

पारिपट्टिका गाउँमा धान पाकेसँगै कान्लाका घाँस पनि रातो खैरो देखिन थाल्थे । हाम्रो पाखो अलि सेपिलो हुनाले बारीका कान्लामा हरियो र छोटो बन्सो घाँस हुन्थ्यो । अलि हतार भयो र बन्सो काट्न भ्याइएन भने कान्लामा हुर्केका कुट्मिरो झारेपछि काम चल्थ्यो । सुन्नुभएकै होला नि :

घर.. भैंसी भोकै,

कुट्मिराको काइनाले,

बोलाउँ के को साइनाले ?

छिटो परेको तिहार छ भने वनमा पर्याप्त कटुस पाइन्थ्यो । ढिलो परेको छ भने पनि वनले आफ्नो पोल्टामा हाम्रा लागि केही न केही खानेकुरा जतन गरेर राखेको हुन्थ्यो । गाईबाख्रा चराउन त तिहारको टिको होस् कि दशैंको कोही न कोही नगइहुन्नथ्यो । गाउँको पूर्व दक्षिणतिरको पाखोमा उपल्लो खाडी, तलेत्रो र तल्लो खाडीका पहिरो भएका भागहरूसँगै पाताल, तिजुको गहिरो, बसेरी, एकहातेको पाखो जस्ता गाई चराउने वनपाखोमा यतिबेला गोल्यानु, गोवानु, भकिम्लो जस्ता फलफूल लटरम्म हुन्थे ।

भ्याकुर पाक्थ्यो र कतै कतै अर्चल बाँकी रहन्थ्यो । उता हल्लुँडेको पहिरो या पँधेराको खोलातिर गयो भने चैं झरेर पनि सुकेका कटुससँगै वनसिलाम पाकिरहेको हुन्थ्यो । सिलमका बाला हातमा माड्यो, फुकेर भुस उडायो र मुखमा हाल्यो झ्वाम्मै मिठो लाग्थ्यो । दहीचाम्ले त यतिबेला जताको वनमा पनि पाइने भइहाल्यो । सालघारीतिरको वनमा गएको छ भने राफिलो हुन्थ्यो, एकलास र झ्याउँकिरीको एकोहोरो आवाजले मन उदास बन्थ्यो एकतमासले ।

देउसीबाट उठेको सुका मोहर भाग लगाएर आफ्नो भागमा पर्ने दुईचार पैसाले सत्र खेल्थ्यौं । त्यो पैसा एकैछिनमा सकिन्थ्यो अनि अरूले खेलेको हेर्न या फुको तास खेल्न थाल्थ्यौं । गोठालो जाँदा सिकेको तास खेल्ने बानी निकै पछिसम्म रह्यो ।
धान छाडेर लप्सी भन्ने उखान त उता पनि छ । तर लप्सी हाम्रो गाउँ वरपर थिएन, गोर्जेतिर या भट्टेडाँडा, तोगीतिर पुग्नुपर्थ्यो त्यहाँसम्म पुग्न कसैलाई फुर्सद मिल्दैनथ्यो । रयालेको खोल्सामा एउटा दमौराको अग्लो बोट थियो । हामी हात गल्ने गरी झटारो हानेर दमौरा झार्ने असफल प्रयास गर्दै निराश हुन्थ्यौं । दुई चारवटा खसिहाले भने त्यसैले सन्तुष्ट भएर फर्कन्थ्यौं ।

खोला किनार र बगरतिर फुलेको काँसले प्रकृतिलाई नै रंगाइरहेको हुन्थ्यो । बर्खाभरि मात्तिएर धमिलो बग्ने बुम्ले र मौरी खोला भेलबाढीको उत्तेजना निख्रेपछि शान्त र कलकल गरेर मायालाग्दो गरी बगिरहन्थे ।

मकैखोलाको सुसाइले वातावरणलाई चकमन्न बनाउन र आफ्नै मनको अन्तरमा चियाउन सहयोग गर्थे । भञ्ज्याङदेखि डाँडाचौतारीसम्म जाँदा तल टाढाबाट आउने मादीको सुसाइले जीवनका कहिल्यै पूरा नहुने सपनाहरू देख्न, नदेखिएका ठाउँमा पुग्ने रहर गर्न र पूरा हुन सक्ने नसक्ने सम्भावनामा जीवन खोज्न प्रेरित गर्थ्यो ।

फूल मात्र होइन, घाँस र काँसदेखि मासभट्ट, टाँकी, धान र कोदोसम्म फुल्ने पाक्ने यो मौसम । जाडो नआइसकेको न त गर्मी नै बाँकी रहेको यो मौसम । वातावरणमा फैलने फूलहरूको गन्धले कतै न कतै मनलाई काउकुती लगाइरहन्थे । उल्लास र खुशीका लागि यो आफैं काफी थियो । समग्रमा तिहार शान्त प्रकृतिको सुन्दरतासँगै गाउँमा प्रवेश गर्थ्यो ।

२. पर्वतमारा कि आसामारा

कैले पर्वत मारा,

कैले चुरोट पान्मारा,

सक्छौ भने मेखमार ….।

जति काम भए पनि, दिनभर धान काट्न या बिटा बाँध्न र कुन्युँ लगाउन परे पनि, मासभट्ट समेलेर बोक्नु परे पनि या सानोतिनो दाइँ नै गर्नुपरे पनि राति र टीकाको दिनभर चैं तास जुवा खेल्नैपर्छ भन्ने जस्तो मान्यता, परम्परा थियो । बा, हजुरबा पुस्ताकाहरू बाँकटे भोटो या आस्कोट (इस्टकोट) को खल्तीमा पट्याएर राखेका केही रूपैयाँ लिएर तासको या कौडाको खालमा बस्थे । उमेर र गच्छे अनुसारका खालमै सबै मगनमस्त ।

कौडामा भने खेल्ने, च्याँखे थाप्ने र रमिते गरेर तीनथरीले मनोरञ्जन लिन्थे । हामीले थाहा पाउँदा गोकर्ण स्यानाबा (काका) को धन्सारमा तास जुवाको खाल जम्थ्यो, कौडा भने आँगनमा खेल्थे । लाल्टिनको उज्यालोमा स्यानाबा खालेहरूको छेउमा केही पेटी चुरोट राखेर बस्थे । यस्तो चुरोट पर्वत मारा र आसामारामध्ये कुनै एउटा हुन्थ्यो ।

जुवामा पैसा हैन चुरोटको बट्टा राख्ने र खेल्ने गरिन्थ्यो खासगरी सत्र खेल्दा (मैले कहिल्यै थाहा पाइनँ कि तास जुवामा चुरोटको प्रयोग किन गरिन्थ्यो) । पेटीका पेटी चुरोट जुवा खेलेर जित–हार हुन्थ्यो । कौडामा भने पैसा नै राखेको देखिन्थ्यो । दाउ लागेर डब्लाउँदै पैसा थापेकाहरूलाई जिल्याउँदै पैसा सोहोरेको देख्दा अलिअलि लोभ र रहर लाग्थ्यो । थोरैले मनोरञ्जनका लागि मात्र खेल्थे केही चैं जित्नकै लागि भनेर कस्सिन्थे । किन हो थोरैले मात्र जित्थे र धेरैले हारिरहेका हुन्थे ।

हामी चैं देउसीबाट उठेको सुका मोहर भाग लगाएर आफ्नो भागमा पर्ने दुईचार पैसाले सत्र खेल्थ्यौं । त्यो पैसा एकैछिनमा सकिन्थ्यो अनि अरूले खेलेको हेर्न या फुको तास खेल्न थाल्थ्यौं । गोठालो जाँदा सिकेको तास खेल्ने बानी निकै पछिसम्म रह्यो ।

१६ वर्षको उमेरपछि राजनीतिको चस्का लाग्यो र तास खेल्न हुन्न भनेर मैले खेल्न छाडें । स्कूले भइन्जेल त जुनेली रातमा आँगन, परालका भारी, गोठमा ढोड बालेर र गाउँ डुलेर पनि फुक्लो दहरमारा खुब खेलियो । पित्री दाइ यसमा रौसे थिए रमाइलो गरिरहन खेल्नुपर्ने ।

सत्तरी कटे पनि उनको बानी उस्तै छ । सत्रबाट सुरु गरेर जुटपत्ती, साइटन, दहलमारा, ट्वान्टी नाइन, रमी, पप्लुसम्म खेल्न सिकियो । तास खेल्न छाडेको बीसौं वर्षपछि कहिलेकाहीं भाइहरूसँग म्यारिजको खालमा पनि बसियो तर खेल्ने खासै ढंग आएन । अहिले खेल्ने रहर र जाँगर दुवै लाग्दैन ।

तास जुवा खेल्ने पेशेवरहरू पनि थिए । मकैखोलाको स्कूलमा शिक्षकहरू र गाउँमा अलि फुर्सदिला पुरुषहरू जहिले पनि स्कूल समयपछि त्यतै वरपर बसेर तास खेलिरहेका हुन्थे । प्राय: पुरुषहरू मात्रै तास खेलेर दिन बिताउँथे । त्यसमा सामेल हुने एक जना महिला मैयाँ भनिने हेम कुमारी हुनुहुन्थ्यो । सक्रिय सामाजिक कार्यकर्ता र प्रगतिशील विचारधाराकी महिला । कोही भने रातभर अरुले तास खेलेको हेरर अथवा उ लघुशंका गर्न गयो भने उसका तास हेरिदिएर अनिदो बस्ने पनि हुन्थे ।

तिहार र एकादशीमा जुवा तास खेलेर फलानोले यति ऋण बोक्यो भन्ने खबर सुनिन्थे । जुवाले टाट पल्टन्थे । जुवा हारेकैले जीवनको लय भत्केर तिनका सन्तानसम्म दुर्दशा तन्केको पनि देखिन्थ्यो । तैपनि मानिसहरू त्यसमा लोभिएकै हुन्थे ।

तिहारको जुवा फूलतार्ने एकादशीसम्म चल्थ्यो । एकादशीको बजार लाग्थ्यो थुम्सीकोटमा । मादीको उत्तरी किनारामा लामो चौर थियो । वार्दी र मादीको दोभानमा एकादशीमा फूल तारिन्छ । गाउँमा कसै न कसैले एकादशीको चौमासे व्रत लिएको हुन्छ ।

फूलको लामो लट्ठो बाटेर बाजागाजा सहित फूल तार्छन् । फूल तार्ने चलन त अहिले पनि चलिरहेकै छ तर एकादशीको बजार जुन लाग्थ्यो त्यो चैं चालीस वर्ष अगाडि गुण्डागर्दी र दादागिरीको शिकार भएर बन्द भयो ।

देउसी खेलेर जम्मा गरेको पैसाले बनेको विद्यालय र पालिएका शिक्षकले पढाएर हामी पढेका हौं ।
बन्द हुनु अगाडि यो बजार त्यस भेगको चर्चित एकादशी मेलामा पर्थ्यो (विस्तारमा हेर्न मेरो उपन्यास आधा जून पढ्न नबिर्सनुस् है) । काठमाडौं, भैरहवा, बन्दीपुर, नारायणगढदेखि स्याङ्जा, पोखरा र थाकखोलाबाट समेत जुवाडेहरू (यो ठाउँ हामीले थाहा पाउँदा लमजुङमा पर्थ्यो), जुवामा ऋण लगानी गर्नेहरू र ऋण लिएर भए पनि जुवा खेल्नेहरू आउँथे । सात दिनसम्म पनि जुवाका खाल चल्थे ।

हामी भने सुका मोहर पपिटनमा दाउ लगाएर हारेपछि जात्रा हेर्दै डुल्थ्यौं, दोहोरी गीत या रोइला गाएको सुन्थ्यौं अथवा कौडाका खालमा पुगेर जुवाडेको हातबाट कौडा खस्ने वित्तिकै कसरी दाउ चिन्ने र मिलाउने भन्ने माथापच्ची गरेर रमाउँथ्यौं । उज्यालो हुनु अगाडि चिसोमा काम्दै सालघारीको बाटो उकालो लाग्थ्यौं ।

भोलिपल्ट अनिंदो र थकित शरीर लिएर धान काट्न, कुन्युँ हाल्ने बिटा ओसार्न या गाई चराउन जानु त छँदै थियो ।

३. देउसी, भैलो र वाचनालय

देउसी हाम्रो संस्कृतिको मौलिक विशेषता भएको रमाइलो पाटो हो । सामाजिक कार्यहरूका लागि, विद्यालय या मन्दिर या बाटोघाटो बनाउन अथवा साँघु हाल्न पनि देउसी खेलेर रकम जम्मा गर्ने चलन थियो । अझै छ । देउसी खेलेर जम्मा गरेको पैसाले बनेको विद्यालय र पालिएका शिक्षकले पढाएर हामी पढेका हौं ।

पैसा उठाएर वनभोज गर्नेदेखि खेलकुदका सामान किन्ने या संगीतका सामग्री जोड्ने युवा युवतीहरू पनि हुन्छन् । यसै चन्दा माग्दा नदिनेले पनि देउसी भैलोमा मागेपछि केही न केही दिइपठाउँछन् । खेल्ने उद्देश्यमा र दिनेहरूमा पनि अनेक आडम्बर र विकृति नभएका हैनन् । मलाई साना साना नानीहरू दुई चार जना मिलेर, एक्लै पनि भैलो र देउसी भन्दै आएको देख्दा आफ्नै बाल्यकालको याद आउँछ ।

एकपटक देउसी खेल्दै हिंड्यौं गाउँभरि । धेरै दिनेले त पाँचदेखि दश पैसासम्म दिंदा हुन् । दुईपैसा एकपैसा पनि चल्थ्यो । ४८ पैसा जम्मा भएछ । कति जना थियौं बाँड्यौं र तास खेल्न बस्यौं । कान्छी हजुरआमा (आँवै) कहाँ खेल्न जाँदा उठ्दै उठ्नुभएन । पछि के ठानेर हो हामी तास खेलिरहेको ठाउँमै आएर चार पैसा दिएर जानुभो । त्यो पनि तासै खेल्यौं । कसले जित्यो त सम्झन्न तर रमाइलो त्यसको पनि लिइयो । कम्तीमा ५६ वर्ष पहिलेको कुरा हो । अहिले सम्झँदा पनि रमाइलो नै लाग्छ ।

ती भैलो देउसी खेलेका घर या त अब अस्तित्वमा छैनन् या मान्छे छैनन् । हामीले भैलो देउसी खेल्दाका हजुरआमा पुस्ताका त सबै सकिए आमा–बा पुस्ताका पनि अब तीन चार जना मात्र जीवित छन् । गाउँमा त माइलीआमा मात्र हुनुहुन्छ त्यो पुस्ताको ।

गाउँ उराठलाग्दो गरी रित्तिंदै छ । कोही मधेश झरे कोही पोखरा या विदेशतिर पुगे । हामी केही यता काठमाडौंमा पनि आइपुग्यौं । अहिले जो गाउँमा हुर्कंदै छन् एकाध जना, तिनको बालापनका खुुशीहरू के केमा समेटेर तिनीहरू हुर्कंदै होलान् भन्ने सम्झेर गम खान्छु ।

अर्को एउटा सम्झना छ, २०४३ सालको तिहारको । म सैमराङको राष्ट्रज्योति निमाविमा पढाउँथें र अनि विदा र साँझरात पार्टी राजनीति गर्थें । शिक्षक संगठन, पार्टी, विद्यार्थी संगठन लगायत सबै कामको त्यस इलाकाको काम गर्नुपर्थ्यो । त्यसै वर्ष भएको निर्वाचनमा सोमनाथ अधिकारी प्यासीलाई कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित गरिएको थियो ।

हाम्रो प्रभाव कास्कीका गाउँ–गाउँमा फैलिइरहेको थियो । हाम्रो ध्याउन्न नै कसरी पार्टी बलियो बनाउने र पञ्चायतसँग लड्ने भन्ने मात्र हुन्थ्यो । तर एकोहोरो राजनीतिका कुराले जनमत ढल्काउन सजिलो थिएन । त्यसका लागि गाउँमा एउटा वाचनालय बनाउने र नियमित रूपमा पत्रपत्रिका पढ्ने एउटा केन्द्र बनाउनुपर्छ भन्ने लाग्यो । त्यसका लागि स्रोत जुटाउने उपाय पनि देउसी भैलो नै हुन्थ्यो । हरिभक्त, लोकनाथ, बद्री र मेराबीच भैलो खेल्नेबारे सल्लाह भयो (खेल्न साथ दिने सबै भाइहरूको नाम अहिले सम्झनामा छैन, सम्झेका नाम मात्र राख्दा नाम नपर्नेहरूले दु:ख मान्लान भन्ने पिर भएकोले कसैको पनि राखिएन) । कयरे, मकैखोला, कम्दी, तासे र काउरेका भाइहरू सामेल भए । ब्याकअपमा जशबहादुर दाइ थिए आनन्द भाइ शायद जेलमा पुगिसकेको थियो ।

तीन दिन हामीले लगातार भैलो देउसी खेल्यौं । मकैखोला, कम्दी, कयारे, ढोडेनी, तासे र काउरेमा भैलो खेलियो । चिनेका घरपरिवार हुन्थे । हामी सबै उनीहरूका भाइ–भतिजा सरह थियौं । दिन गाह्रो माने पनि या सहज माने पनि हामी जाने ठाउँ तिनै थिए । यो केवल स्रोतका लागि मात्र पनि थिएन राजनीतिक प्रचार गर्नु थियो । त्यसलाई जनवादी गीतहरू र भैलोमा भट्याउने भनाइहरूका माध्यमबाट घरघरमा लगियो । संकल्प परिवारका गीतहरू धेरै सुनाइयो । यिनीहरू राजनीतिक व्यक्तिहरू हुन्, गलत उद्देश्यले आएका हैनन् भन्ने सन्देश दियौं ।

म अव्यावहारिक मान्छे हुँ कि जस्तो पनि लाग्छ । त्यतिको भैलो खेलेका साथीभाइलाई एक पटक सँगै बसेर चिया खाजा खुवाउने होश पनि आएन । त्यस्तो घटना पछि २०४६ सालको तिहारमा पनि भयो । पोखरामा अनेरास्ववियुको व्यानरमा भैलो देउसी खेलियो– बाटुलेचौरदेखि वैदामसम्म चिनेजानेका साथीभाइहरूकहाँ पुगेर । टीकाको दिन केही साथीहरू टीका लगाउने सल्लाह गर्दै थिए । किन किन त्यो रमाइलो गर्न मेरो ध्यान पुगेन । सामुहिक टीको कार्यक्रम गरेको भए कति रमाइलो सम्झना बिर्सना हुने थियो । मैले मन मारें र त्यो कार्यक्रम भएन । अहिले पनि थक्कथक्क लाग्छ ।

गाउँको भैलोको क्रममा एक जना गाउँकै सज्जन व्यक्तिकहाँ पुगेका थियौं । सबैकहाँ जाँदा त्यो घर छाड्न मिल्दैनथ्यो । तर उनी उठेनन् । हामी एकछिन चिच्यायौं र हिंड्यौं । त्यतिबेलासम्म पहिलेको सुका मोहर या रूपैयाँ दिनेहरू दश बीस रूपैयाँ दिने भएका थिए । हामीले आफ्नो उद्देश्य पनि आधा मात्र खुलाएका थियौं । भैलोबाट उठाएको पैसाको हिसाब पार्टीमा दिनुपर्थ्यो । पार्टीसँग मैले आधा मात्र पार्टीमा बुझाउने र आधाबाट वाचनालय खोल्ने अनुमति लिएको थिएँ ।

अघिल्लो दिन देउसीमा जाँदा पैसा नदिने ती सज्जन भोलिपल्ट मलाई खोज्दै आए र एक रूपैयाँ दिए । उनी हाम्रो राजनीतिक झुकावका बारेमा असहमत थिए । तर भैलोमा अलिअलि दानदक्षिणा या सहयोग दिनु सामान्य शिष्टाचार जस्तो पनि हुन्छ । गाउँमा कसैले केही भन्यो होला । उनलाई के लाग्यो र भोलिपल्ट त्यसरी पुर्‍याउन आएका थिए । तर उनले दिन लागेको एक रूपैयाँ हाम्रो अपमान जस्तो हो भन्ने लाग्यो मैले लिन मानिनँ ।

उठेको पैसा आधा पार्टीलाई बुझाएपछि बाँकी पैसाले पोखरा पुगेर हाम्रो वाचनालयका लागि त्यतिबेलाका साप्ताहिक पत्रिका दृष्टि/प्रकाश र विमर्श पत्रिकाको ग्राहक बनें । केही अरू पत्रिका पनि किनें । हुलाक मार्फत आउने बनाइयो । हाईस्कूलको एउटा भवनको खाली कोठामा टेबुल र बेञ्च राखेर वाचनालय बनाइयो । पत्रपत्रिका ढिलो गरेर भए पनि आउन थाले । प्राय: म आफैं जान्थें र पत्रिका टेबुलसम्म पुग्ने निश्चित गर्थें । हुलाकी हरिकृष्ण दाइ र भाउजु सहयोगी खालकै थिए । उनीहरूले पत्रिका जतन गरिदिन्थे पनि ।

तर ६ महिनाको अनुभव पछि मलाई लाग्यो यो प्रयासले कुनै उपति दिनेवाला छैन । पाठक एकदम थोरै थिए । नियमित स्कूलमा आउने माविका शिक्षकहरू पनि प्राय: पढ्दैनथे । यसो पाना पल्टाइहाले भने पनि कहिल्यै पूरा पत्रिका पढेको र त्यहाँ भएका विषयमा छलफल गरेको थाहा पाइनँ । अर्को वर्षको लागि ग्राहक बन्ने पैसा थिएन ।

म आफैं पनि बन्न सक्थें होला तर लगानी गरेर फाइदा होला झैं लागेन । मलाई चाहिएका पत्रिका त म पोखरा गएर पनि ल्याइरहेकै हुन्थें । २०४४ मंसीरबाट त म फेरि विद्यार्थी आन्दोलनमा सहभागी हुन पृथ्वीनारायण क्याम्पसतिर पुगिहालें । अनि त्यो वाचनालयको सपना सधंैको लागि हरायो । शायद अहिले स्मार्ट फोनको जमाना आएपछि चैं सबैले आफ्नो हातमा आएका पत्रिकाबाटै वाचनालयको उपभोग पनि गर्दै होलान् ।

४. टीका र सम्झना

तिहारका सम्झना आउने केही बिम्बहरू स्मृतिमा छन् । काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइटीका । गाई तिहार या औंसीका दिन विशेष रमाइलो हुन्थ्यो । बिहानै हामी आमाले बाटेका हत्यौरीमा वरपरबाट पीपल र बरका पात, फूलपाती र फुलहरू जम्मा पारेर उन्थ्यौं । घरको तगारोमा लामो तोरण बनाएर टाँस्थ्यौं ।

गाईहरूलाई पनि माला लगाउने, टीका लगाइदिने चलन थियो । भिजाएको चामलको पिठोमा ठेकीको बिर्को चोपलेर गाई भैंसी र गोरुको निधार र शरीरका विभिन्न भागमा ढ्याप ढ्याप पार्दै टीका लगाउने गरिन्थ्यो । गाईहरूलाई रोटा खान दिने गरिन्थ्यो । गाईको पुच्छरले अभिषेक गर्दै बाले पानी छ्याप्नुहुन्थ्यो । घरका सबै मान्छे जम्मा भएर यी सबै काम गर्दाका रमाइला सम्झना छन् ।

साँझ माटाका पाला या तामाको दियोमा तोरीको तेल राखेर आफूले कातेका बत्ती बाल्नुहुन्थ्यो आमाले । हामीले घरको दैलो, आँटी, पिंढी, तुलसीको मठ र गोठमा पनि लगेर राख्थ्यौं । केही बेर घर झिलिमिली हुन्थ्यो । त्यसले एउटा उत्साह भनौं खुशी दिएर जान्थ्यो ।

हामी चार दाजुभाइ मात्र भयौं दिदीबहिनी थिएनन् । तर हुर्कंदादेखि नै माइलाबा (बावुबा) की छोरी शुभद्रा दिदीसँग टीका लगाइयो । कस्तो भने शुभद्रा दिदी ठुलाबाकी छोरी हुन् र हामी दिदीबहिनी नभएकाले टीका लाउन गएका हौं भन्ने कहिल्यै फिल भएन । धेरै पछि बुझ्ने भएर मात्र थाहा भयो । त्यसमाथि जेठाबातिर पनि छोरी रहेनछन् ।

जेठाबातिरका दुवै दाजुहरू, हामी चार भाइ, माइलाबातिरको एउटा भाइ र फुपू आएको बेला बाहरू दुई भाइ गरी ९ जना आँगनमा बसेर टीका लगाउँदा रमाइलो लाग्थ्यो । पछि अनुकूलता प्रतिकूलताले जता जो भेटियो उतै धेरै बहिनीसँग (सरला, सीता, राधिका, वेदकुमारी (कापm्ले), गीता, विमला (अधिकारी) लगायतसँग) टीका लगाइयो । अहिले पनि शुभद्रा दिदीसँग टीका लगाउँदा नै तिहार जस्तो फिल हुन्छ । अब त ठुलाबातिरका दुवै दाजुहरू बिते । हामी पनि यताउता छरियौं । फुपूहरू र बाहरू सबै बित्नुभयो । र धेरै अघि छुटे घाँस, गाईभैंसी अनि एकाते र बसेरीका पाखाहरू ।

गाउँको तिहार त धेरै भयो छुटेको । न उतिबेलाको देउसी भैलो, न त्यस समयको तास जुवा । समयले कता कता धकेलेर लग्यो । उमेरले डाँडो काट्दै गयो । तिहारको पुरानो रमाइलो खोजेर कहाँ पाउनु ?

उहिलेकालाई उहिलेकै रमाइलो अहिलेकालाई अहिलेकै !

Address

Siddharthachowk
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Pokhara Bimarsha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pokhara Bimarsha:

Share