09/08/2026
बालेन पक्षलाई जानकारी ‘मैले त कालो चश्मा खोलेँ है !’
बालेन पक्षलाई जानकारी ‘मैले त कालो चश्मा खोलेँ है !’
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको आन्तरिक गुट र द्वन्द्व क्रमशः सामाजिक सञ्जालमार्फत् प्रकट हुन थालेको छ । सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन साह समूहबीचको अघोषित टकरावलाई नेताहरुले नै घुमाउरो भाषामा अभिव्यक्त गर्न थालेका छन् । कालो चश्मा लगाउने र नलगाउने नेताहरुबीच कित्ताकाट चलेको प्रष्ट देखिन्छ ।
प्रतितिधिसभाको अस्तिको बैठकमा पार्टीका पूर्व प्रवक्ता समेत रहेका सांसद मनिष झाले प्रधानमन्त्री बालेन शाहलगायतलाई कालो चश्मा खोलेर जनतामा बढ्दै गएको निराशा र आक्रोश हेर्न आग्रह गरेका थिए । उनले भनेका थिए, ‘हामीले गाडीको कालो सीसा र कालो स्टिकर त हटायौँ, तर अब सायद कालो चश्मा पनि हटाउनुपर्छ ।’
झाको अभिव्यक्तिपछि कालो चश्मा हटाउने अभियान यतिबेला दीपक बोहरासम्म पुगेको छ । फेसबुकमा आफ्नो फोटो शेयर गर्दै उनले लेखेका छन्, ‘मैले त कालो चश्मा खोलेँ है !’
सभापति लामिछानेको ‘दाहिने हात’ मानिने बोहराको उक्त स्टाटसले विशेषगरी बालेन समूहलाई गम्भीर सन्देश दिएको धेरैको बुझाई छ । ‘हिजो कालो चश्मामा नायक देखिने व्यक्ति आज त्यही चश्मामा खलनायक देखिँदैछ’, रवि समर्थक एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘समस्या चश्मामा थिएन, तर अहंकारले तपाईंको आँखा चश्माभन्दा कालो बनायो, प्रधानमन्त्रीज्यू, खोल्नुस् चश्मा अब, सुध्रिनुस्, समय बिग्रिसकेको छैन ।’
हिजोदेखि समाजिक सञ्जालमा रवि समूहका नेता तथा कार्यकर्ताले ‘कालो चश्मा खोलियो’ भन्दै धमाधम फोटो पोस्ट गरिरहेका छन् । प्रधानमन्त्री शाहसहित भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुदन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल संसदभित्र, बाहिर सबैतिर कालो चश्मामा देखिन्छन् । संसद बैठकमा लगाइएको कालो चश्माले संसदको गरिमा खस्किएको निष्कर्षसहित सभामुख डिपी अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत् सबै दलका प्रमुख सचेतक र सचेतकहरुलाई आफ्ना सांसदहरुबाट संसदको ड्रेसकोड पालना र कालो चश्मा अनिवार्य हटाउन निर्देशन दिएका थिए ।