24/05/2026
पोखराले सेतीनदी लुकायो, अहिले पोखरेलीले फिर्के खोला समेत पुरेर लुकाएछन् ।
खोलामै पिलर गाडेर भवन बनाइँदा सम्बन्धित निकाय र त्यतिबेलाका नेपाल कम्युनिष्ट पार्टी (एमाले)–नेपाली कांग्रेस र माओवादीका जनप्रतिनिधि किन मौन बसे ? यो एउटा प्रश्न चिन्ह खडा भएको छ ।
फिर्केखोलाको संरक्षण तथा सौन्दर्यकरण निर्माणको लागी फिर्के खोलाको वास्तविक अवस्था पत्ता लगाउन महानगरले सर्वेक्षक वासुदेव पौडेलको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको थियो । खोलाघरमा को को पर्छन त ?
नापजाँचका क्रममा फिर्के खोला समितिको रिपोर्ट अनुसार, खोलाघरभित्र व्यक्तिगत अस्थायी संरचना ९७ वटा छ । बाँकी स्थायी संरचना छन् । त्यसमा व्यक्तिगत ३५ वटा, संस्थागत र सरकारी १८ वटा संरचना छन् । संस्थागत थप १० वटा अस्थायी संरचना पनि निर्माण भएको पाइएको छ ।
प्रतिवेदनअनुसार वडा नम्बर १७ गाईघाटस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को तालिम केन्द्र भवन खोलाघरमै छ । यसैगरी, पोखरा इन्जिनियरिङ कलेजले झन्डै आधा संरचना खोला मिचेर बनाएको छ भने लिटल स्टेप बोर्डिङ स्कुलको भवन पनि खोलामै ठडिएका छन् ।
यसबाहेक कुँवर समाज घर, बराल समाज घर, सोंपाल तमु समाज घर, पुन मगर समाज, गिरी समाज घर, लायन्स क्लबको भवन, बगालेटोल र अर्चलबोटको किरियापुत्री भवन, फोटोग्राफर संघको भवन, राधाकृष्ण मन्दिर लगायत दर्जनौँ संरचना खोलामै बनेका छन् ।
पोखरा महानगरपालिकाले प्रतिवेदन बुझेपछि २०८० कात्तिक १० गते सूचना निकालेर फिर्केको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको थियो । तर, फिर्के तमु समाजसहित १३ जना निवेदकले आफूहरूले नक्सा पास गरेर संरचना बनाएको भन्दै अदालत गुहारेपछि कात्तिक २४ गते उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै महानगरको अभियानमा ब्रेक लगाएको थियो । तर, पुस १६ गते न्यायाधीशद्वय मिलनकुमार राई र उमेश कोइरालाको संयुक्त इजलासले उक्त रिट खारेज गरिदिएपछि महानगरलाई कानुनी बाटो पूर्ण रूपमा खुलेको छ ।
खोलाको पानी शुद्धीकरण गर्ने र खोलाको दायाँबायाँ हरियाली फुटपाथ सहितको फिर्के कोरिडोर निर्माण गरी पोखराको नयाँ पर्यटकीय गन्तव्य बनाउने महानगरको योजना छ ।