
14/11/2024
वैज्ञानिकहरूले दक्षिणपश्चिम प्रशान्त महासागरमा अहिलेसम्म थाहा भएकामध्ये सबैभन्दा ठूलो मुगा फेला परेको जनाएका छन्। ससाना मुगाहरू जोडिई बनेको यो संरचना ३०० वर्षभन्दा अझ पुरानो भएको ठानिन्छ।
वैज्ञानिकहरूले यो मुगा सबैभन्दा विशाल जीव 'ब्लू ह्वेल'भन्दा ठूलो भएको बताएका छन्।
जलवायु परिवर्तनका कारण प्रशान्त महासागरका दुर्गम भागमा परेको प्रभावको अध्ययन गर्न गएको 'न्याश्नल जीओग्राफिक'को पानीजहाजमा कार्यरत एक भिडिओग्राफरले उक्त 'कोरल' फेला पारेका हुन्।
"म गोता लगाउँदै नक्सामा एउटा जहाजको भग्नावशेष भएको जनाइएको ठाउँमा पुगेँ। त्यहाँ मैले केही देखेँ," मानु सान फेलिक्सले भने। उनले आफूसँगै गोता लगाएका आफ्ना छोरा इनिगोलाई बोलाए। उनीहरू दुवै जना मिलेर त्यो के हो भनेर जाँचे।
सोलोमन टापुको क्षेत्रमा उक्त मुगा देख्दा आफूलाई "पानीमुनि गिर्जाघर" देखे जस्तो लागेको उनी बताउँछन्।
वैज्ञानिकहरूका अनुसार उक्त मुँगा ३२ मिटर लामो, ३४ मिटर चौडा र ५.५ मिटर अग्लो छ।
जलवायु परिवर्तनका कारण विश्वभरि मुगा सङ्कटमा परेको छ। यो मुगा समुद्रको गहिरो ठाउँमा भएकाले समुद्री सतहमा पानीको तापक्रम बढेको भए पनि जोगिएको ठानिएको छ।
अजरबैजानको राजधानी बाकुमा जलवायु सम्मेलन चलिरहेको बेला यो मुगा फेला परेको घोषणा गरिएको हो।