07/11/2025
रंगेलीका ‘टोले गुण्डा’ लिलाराज खरेल पक्राउ, के हो मुद्दा ? (पढ्नुहोस् पूरा समाचार)
विराटनगर । रंगेलीमा ‘टोले गुण्डा’ भनेर चिनिने लिलाराज खरेल पक्राउ परेका छन् । रंगेली–२ बेतौना घर भएका खरेललाई मोरङ प्रहरीको टोलीले बिहीबार विराटनगरबाट पक्राउ परेको हो ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक कवित कटुवालले खरेललाई पक्राउ गरिएको पुष्टि गरे । उनले खरेललाई अभद्र मुद्दामा पक्राउ गरिएको पूर्वी टाईम्सलाई जानकारी दिए । ‘अभद्र मुद्दामा पक्राउको अनुमति आएपछि विराटनगरबाटै उनलाई पक्राउ गरिएको हो ।’ प्रहरी उपरिक्षक कटुवालले भने,‘प्रमाणहरु छन् । अहिले अनुसन्धानको क्रममा छौँ । सवै कुरा खुलाउन मिल्दैन । सरकारी जग्गा किर्तेको मुद्दा पनि छ भन्ने कुरा सुनिएको छ ।’
खरेलले फोनमार्फत धम्कि दिँदै आपत्तिजनक शब्द प्रयोग गरि कसैलाई गाली गलौज गरेको प्रमाणसहित मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेसका कार्यकर्ता समेत रहेका उनले राजनीतिक आडमा खुलेआम गुण्डागर्दी गर्दै आएको स्थानीयले बताएका छन् । उनले रंगेली र सो आसपासमा राजनीतिक आडमा गुण्डागर्दी गर्दै आतंक मच्चाउने गरेकाले कानुन बमोजिम कडा कारबाही गर्न स्थानीयले माग गरेका छन् । स्थानीयका अनुृसार खरेल रंगेलीमा निरन्तर विवादित व्यक्ति हुन् । उनी झण्डै डेढ वर्ष अघि कार्यालय समयमा रंगेली नगरपालिका भित्रै प्रवेश गरि हुलहुज्जत गर्दै तोडफोडमा समेत संलग्न रहेको बताइएको छ ।
खरेलविरुद्ध २०७५ सालमा रंगेली नगरपालिकाका कर्मचारीलाई कुटपिट तथा अभद्र व्यवहारमा मुद्दा चलेको थियो । उनलाई रंगेली–७ का वडाध्यक्ष रामचन्द मण्डललाई हातपात गरेको मुद्धा पनि छ । अहिले पक्राउ परेका खरेलको अभद्रमा यो तेस्रो मुद्दा भएको बताइएको छ ।
खरेल पटके गुण्डागर्दी गर्दै आएका व्यक्ति रहेको स्थानीयको भनाई छ । त्यस्तै, केही समय अघि आन्दोलनको नाममा घुसपैठ गरि रंगेली नगरपालिकामा तोडफोड, आगजनी र लुटपाटमा समेत खरेल मुख्य मूमिकामा रहेको स्थानीयले जानकारी दिएका छन् ।
उनीमाथि रंगेली–२ बबियाविर्ताको १ बिघा १९ धुर सरकारी ऐलानी (फिल्ड बुकमा कुलो/जंगल लेखेको) जग्गा बुबाको नाममा किर्ते कागजात तयारी गराई २०८२ साल असारमा रंगेलीस्थित मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा नयाँ जाली पुर्जा बनाई आफ्नो श्रीमती र सालीको नाममा नामसारी गर्दै सार्न लगाएर बिक्रि गरि किर्ते गरेको समेत आरोप छ ।
सो जग्गा नविन पुरीलाई बिक्रि गरि सरकारी जग्गा किर्ते गरेको अभियोगमा अदालतबाट खरेलसहित, उनका बाबु, श्रीमती, साली र मालपोतका कर्मचारीहरुसमेत विरुद्ध पक्राउपुर्जी जारी भएको एक प्रहरी अधिकृतले जानकारी दिए । सो प्रकरणमा मालपोतका केही कर्मचारीलाई पक्राउ गर्नका लागि कार्यालयले नाम दिन आलटाल गर्दै अनुसन्धानमा असहयोग गरिरहेको समेत बुझिएको छ । सो जग्गा किर्ते मुद्दाको ईलाका प्रहरी कार्यालय रंगेलीमा अनुसन्धान चलिरहेको स्रोतले जनाएको छ ।