08/09/2026
भदौ २३ : सम्झना, चेतावनी र जिम्मेवारी
आज भदौ २३। एक वर्षअघि आजकै दिन देशको इतिहासमा एउटा पीडादायी अध्याय लेखिएको थियो। सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको माग गर्दै नवयुवाहरूले सडक र डिजिटल सञ्जालमार्फत आफ्नो आवाज उठाएका थिए। तर त्यो आवाज सुन्ने र सम्बोधन गर्ने ठाउँमा दबाउने प्रयास हुँदा निर्दोष युवाहरूले ज्यान गुमाउनुपर्यो। कयौँ युवाहरू गम्भीर घाइते भए भने कतिपयले जीवनभर अपांगताको पीडा बोकेर बाँच्नुपर्ने अवस्था आयो।
यस दुःखद घटनामा ज्यान गुमाएका सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। घाइतेहरूप्रति सम्मान व्यक्त गर्दै उनीहरूको स्वास्थ्य, पुनर्स्थापना र सम्मानजनक जीवनका लागि राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।
त्यो आन्दोलन केवल सडकमा उत्रिएका युवाहरूको आक्रोश मात्र थिएन। त्यो राज्य व्यवस्था, राजनीतिक नेतृत्व र शासन प्रणालीप्रति उठेको गम्भीर प्रश्न थियो। जेनजी आन्दोलनले एउटा स्पष्ट सन्देश दिएको छ—सुशासनबिना कुनै पनि राजनीतिक शक्ति वा संसदीय गणितले देशमा वास्तविक स्थिरता कायम गर्न सक्दैन।
संसद्को दुई तिहाइ बहुमतले सरकार बलियो देखाउन सक्छ, तर जनताको विश्वास जित्न सक्दैन। राजनीतिक स्थायित्व संसदीय अंकगणितले मात्र होइन, शासकको चरित्र, कार्यशैली, इमानदारी र जनताप्रतिको उत्तरदायित्वले निर्धारण गर्छ। भ्रष्टाचार नियन्त्रण, विधिको शासन, पारदर्शिता र नागरिकको सम्मान सुनिश्चित हुन सके मात्र लोकतन्त्र बलियो हुन्छ।
त्यस क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भयो। हाम्रा राष्ट्रिय सम्पदा र धरोहरहरूमा समेत अपूरणीय क्षति पुग्यो। राष्ट्रको जीवनमा लागेको त्यो घाउ सजिलै पुरिने छैन। त्यसैले इतिहासको यो पीडादायी दिनबाट सबैले पाठ सिक्नुपर्छ—जनताको आवाजलाई समयमै सुन्ने, समस्या समाधान गर्ने र असन्तुष्टि विस्फोट हुने अवस्था आउन नदिने जिम्मेवारी राज्य र राजनीतिक नेतृत्वको हो।
आज, जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै हामी फेरि भोटेकोसी बाढीको अर्को पीडादायी परिस्थितिबाट गुज्रिरहेका छौँ। प्रकृतिको प्रकोप र राष्ट्रिय पीडाको यस घडीमा हामीलाई आरोप–प्रत्यारोपभन्दा बढी आवश्यक छ—धैर्य, जिम्मेवारी, सहकार्य र एकता।
एकअर्काको सहारा बनौँ। पीडितको घाउमा मल्हम लगाऔँ। विपद्को सामना ऐक्यबद्ध भएर गरौँ। र सबैभन्दा महत्वपूर्ण कुरा, भदौ २३ जस्तो पीडादायी दिन फेरि कहिल्यै दोहोरिन नदिने प्रतिबद्धता गरौँ।
सहिदहरूको बलिदानलाई केवल सम्झनामा सीमित नराखौँ। सुशासन, जिम्मेवार राजनीति र नागरिकको सम्मान सुनिश्चित गरेर मात्र उनीहरूप्रति सच्चा श्रद्धाञ्जली दिन सकिन्छ।