10/07/2026
छोरा जन्मँदैमा पुरुष नै हुन्छ भन्ने छैन; ऊ तेस्रो लिङ्गी पनि हुन सक्छ। नेपालको परम्परा र लोकविश्वासमा जैविक रूपमा पुलिङ्गि जन्मिएका व्यक्तिहरूले अजिमा, माता वा अन्य आध्यात्मिक स्वरूप धारण गर्ने चलन पनि विभिन्न ठाउँमा पाइन्छ।
आजका दिनमा केही (नेपालमा करिव ४०-५० जना) तेस्रो लिङ्गी व्यक्तिहरूले माता वा देवीको रूप धारण गरिरहेका छन्। तर को वास्तविक आध्यात्मिक माता हो र को केवल जिविकोपार्जनका लागि अभिनय गरिरहेको छ भन्ने छुट्याउने कुनै निकाय छैन, प्रमाणपत्र हुँदैन। अन्ततः व्यक्तिको आचरण, अनुशासन, साधना र समाजमा उसको योगदानले नै उसको विश्वसनीयता निर्धारण गर्छ।
यदि कसैले केवल आर्थिक लाभ, प्रसिद्धि वा व्यक्तिगत स्वार्थका लागि धार्मिक आस्था र माताको आवरण प्रयोग गर्छ भने त्यसले व्यक्तिको आलोचना निम्त्याउन सक्छ।
हामीले यो पनि स्वीकार गर्नुपर्छ कि सबै पुरुष साधु, भिक्षु, सन्यासी, महिला साध्वी वा धार्मिक व्यक्तित्वहरू पनि समान रूपमा निष्ठावान् हुँदैनन्। हरेक लिङ्ग्का समुदायमा असल र खराब दुवै प्रकारका व्यक्ति हुन्छन्। त्यसैले मूल्याङ्कन व्यक्तिको कर्मका आधारमा हुनुपर्छ, उसको लिङ्ग वा लैङ्गिक पहिचानका आधारमा होइन।
आस्था, आध्यात्मिकता र समुदायको सम्मान जोगाउने जिम्मेवारी सबैको हो।
- सुशिलबाबु पन्त