01/09/2026
सार्वजनिक सुनुवाइको निहुँमा वडा अध्यक्षमाथि मोबिल , ‘वडा बजेटको सुनुवाइ गर्नैपर्ने कानुनी आधार खोइ ?’अध्यक्ष ओस्ती
भदौ १७, वालिङ
स्याङ्जा । चापाकोट नगरपालिका–१ का वडा अध्यक्ष भुपराज वोस्तीमाथि सार्वजनिक सुनुवाइ नगरेको आरोप लगाउँदै केही युवाले पेट्रोल जस्तो पदार्थ छ्यापेका अरोप लगायेका छन्। सार्वजनिक सुनुवाइको मागलाई लिएर आफूलाई अपमानित गरिएको भन्दै वडा अध्यक्ष वोस्तीले घटनाप्रति असन्तुष्टि जनाउँदै आफूले कानुनविपरीत काम गरेको भए कानुनी प्रक्रियाबाट प्रश्न उठाउन सकिने तर पेटोलियम पदार्थ छ्यापेर अपमान गर्ने कार्य कुनै पनि हिसाबले उचित नभएको बताएका हुन्। वोस्तीका अनुसार सार्वजनिक सुनुवाइ गर्ने विषयमा स्थानीयस्तरमा छलफल र सहमति भएको भए पनि वडा अध्यक्षले वडा बजेटको छुट्टै सार्वजनिक सुनुवाइ गर्नैपर्ने स्पष्ट कानुनी व्यवस्था आफूले नदेखेको बताए। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहमा सार्वजनिक परीक्षण, सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइको व्यवस्था गरेको भए पनि त्यसलाई वडा अध्यक्षको व्यक्तिगत दायित्वका रूपमा व्याख्या गर्न नमिल्ने उनको भनाइ छ। “मैले सार्वजनिक सुनुवाइ गर्नैपर्दैन भनेको होइन। सार्वजनिक सुनुवाइ पारदर्शिता र जवाफदेहिताका लागि आवश्यक विषय हो। तर वडा अध्यक्षले आफ्नो वडा बजेटको छुट्टै सार्वजनिक सुनुवाइ नगरेकै कारण कानुन उल्लंघन भयो भन्ने आधार के हो ?” वोस्तीले प्रश्न गरे। उनले आफू जनप्रतिनिधि भएकाले वडाका नागरिकप्रति जवाफदेही रहेको बताउँदै वडाको बजेट तथा योजनाका विषयमा नागरिकले प्रश्न उठाए त्यसको जवाफ दिन आफू तयार रहेको बताए। तर कुनै विषयमा असहमति भए संवाद र कानुनी प्रक्रियामार्फत समाधान खोज्नुपर्ने उनको भनाइ छ। “वडाको कामका विषयमा प्रश्न गर्नुस्, कमजोरी भए देखाउनुस्, आवश्यक परे नगरपालिकामा उजुरी गर्नुस्। तर जनप्रतिनिधिमाथि पेटोलियम पदार्थ छ्यापेर समस्या समाधान हुँदैन,” वोस्तीको भनाइ छ। यता, सार्वजनिक सुनुवाइको विषयलाई लिएर उठाइएको माग र त्यसको कार्यान्वयनका विषयमा भने अब नगरपालिकाले समेत स्पष्ट पार्नुपर्ने देखिएको छ। सार्वजनिक सुनुवाइ स्थानीय सरकारलाई पारदर्शी र जवाफदेही बनाउने महत्वपूर्ण माध्यम भए पनि त्यसको कानुनी जिम्मेवारी कुन तहको हो र कुन बजेट तथा कार्यक्रमको सार्वजनिक सुनुवाइ कसरी गर्ने भन्ने विषय स्पष्ट हुनुपर्ने देखिन्छ।
‘सार्वजनिक सुनुवाइ नगरेको भए कानुनी बाटोबाट प्रश्न उठाउनुपर्छ’
वोस्तीले सार्वजनिक सुनुवाइ नभएको विषयमा असन्तुष्टि भए सम्बन्धित निकायमा उजुरी गर्ने, नगरपालिकासँग जवाफ माग्ने वा अन्य कानुनी बाटो रोज्न सकिने बताए। तर त्यसको सट्टा व्यक्तिगत रूपमा पेटोलियम पदार्थ छ्याप्ने कार्यले स्थानीय तहमा संवाद र सहमतिको वातावरण बिगार्ने उनको भनाइ छ।
“ममाथि कानुनविपरीत काम गरेको आरोप छ भने छानबिन होस्। मैले गल्ती गरेको प्रमाणित भए कारबाही भोग्न तयार छु। तर आरोप प्रमाणित गर्ने प्रक्रिया छोडेर सार्वजनिक रूपमा अपमान गर्ने अधिकार कसैलाई हुँदैन,” उनले भने।
प्रहरी अनुसन्धानतर्फ
घटनापछि इलाका प्रहरी कार्यालय चापाकोटले घटनाको प्रकृति तथा संलग्न व्यक्तिहरूबारे अनुसन्धान गर्ने तयारी गरेको छ। पेटोलियम पदार्थ छ्याप्ने क्रममा हातपात, धम्की, गालीगलौज, जबर्जस्ती, सार्वजनिक शान्तिमा असर वा अन्य गैरकानुनी गतिविधि भएको भए त्यसको प्रकृतिअनुसार प्रहरीले प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाउन सक्नेछ।
घटनामा संलग्न व्यक्तिको पहिचान, घटनासम्बन्धी भिडियो, प्रत्यक्षदर्शीको बयान तथा सम्बन्धित पक्षको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउने सम्भावना छ। अनुसन्धानपछि मात्र कुन कानुनी प्रावधान आकर्षित हुन्छ भन्ने टुंगो लाग्नेछ।