22/08/2026
घिरिङ पोखरा सम्पर्क मञ्चको छैटौँ वार्षिक उत्सव सम्पन्न
पोखरा, भदौ ५। घिरिङ पोखरा सम्पर्क मञ्चको छैटौँ वार्षिक उत्सव तथा रक्त र दन्त परीक्षण कार्यक्रम पोखरास्थित सेकुवा घरमा भव्य रूपमा सम्पन्न भएको छ। घिरिङबाट पोखरामा आई विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई एकताबद्ध गर्दै सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा जन्मभूमि घिरिङको विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापना भएको मञ्चले वार्षिक उत्सवका अवसरमा स्वास्थ्य परीक्षण, सदस्य सम्मान तथा मानवीय सहयोगलगायतका कार्यक्रम आयोजना गरेको हो।
घिरिङ पोखरा सम्पर्क मञ्चका अध्यक्ष मानबहादुर आले मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा प्रमुख अतिथि तथा यूआरएल न्यूरोड पोखराका अध्यक्ष ठाकुरप्रसाद पन्त विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा संस्थाका सल्लाहकार तारामाया थापा, सूर्यकुमार श्रेष्ठ, घिरिङ गाउँपालिकाका अगुवा सुमनकुमार श्रेष्ठ, यूआरएल पोखराका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला, घिरिङ पोखरा नेवा गुठीका उपाध्यक्ष घनश्याम श्रेष्ठ, घिरिङ पोखरा मगर समाजका उपाध्यक्ष तथा सम्पर्क मञ्चका सल्लाहकार झकवीर थापा, नेपाल मगर संघ चाउथे कडम मार्गका अध्यक्ष श्रीबहादुर राना, नेपाल मगर संघ इकाई गगनगैडाका अध्यक्ष बहादुरसिंह थापा, नेपाल मगर संघ मेलमिलाप परिवर्तन टोलका अध्यक्ष तिलकसिंह राना तथा वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सम्पर्क मञ्चका प्रथम उपाध्यक्ष जीवनप्रकाश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै घिरिङ गाउँपालिकाले आयोजना गर्ने हरेक महत्वपूर्ण कार्यक्रममा घिरिङ पोखरा सम्पर्क मञ्चको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पोखरामा रहेका घिरिङवासीलाई जन्मभूमिसँग थप नजिक राख्न तथा गाउँको विकासमा उनीहरूको भूमिका बढाउन गाउँपालिकाले वार्षिक बजेटमार्फत समेत सम्पर्क मञ्च र यहाँ आबद्ध सदस्यलाई समेट्ने गरी कार्यक्रम तथा योजना ल्याउनुपर्ने धारणा राख्नुभयो।
उहाँले पोखरामा रहे पनि घिरिङप्रतिको माया, अपनत्व र जिम्मेवारी कायम राख्दै गाउँको विकासमा योगदान गर्ने वातावरण बनाउन स्थानीय सरकार र सम्पर्क मञ्चबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो।
वार्षिक उत्सवका अवसरमा आयोजित स्वास्थ्य शिविरमा ९० जनाले रक्त तथा दन्त परीक्षण गराएका थिए। सामाजिक सेवासँगै स्वास्थ्य क्षेत्रमा पनि मञ्चले आफ्नो भूमिका विस्तार गर्दै आएको कार्यक्रममा बताइएको थियो।
त्यसैगरी, मञ्चका १९ जना आजीवन सदस्यलाई सम्मान गरिएको थियो। मञ्चका सदस्य नारायणप्रसाद श्रेष्ठकी श्रीमती श्रीमाया श्रेष्ठ बिरामी रहनुभएकाले उहाँको उपचारमा सहयोग पुर्याउने उद्देश्यले मञ्चको तर्फबाट तथा व्यक्तिगत सहयोग गरी रु. ३२ हजार १४५ आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो।
घिरिङको विकासमा सहकार्य आवश्यक : अध्यक्ष थापा
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङ गाउँपालिकाको विकास र समृद्धिका लागि घिरिङ पोखरा सम्पर्क मञ्चलगायत पोखरा तथा देशका विभिन्न स्थानमा रहेका घिरिङवासीसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले घिरिङको सामाजिक, आर्थिक तथा पूर्वाधार विकासका लागि स्थानीय सरकार, विभिन्न संघ–संस्था तथा घिरिङवासीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। घिरिङ प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै उहाँले स्थानीय स्रोत–साधनको उचित परिचालन, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनामा सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
गाउँमै रहेका नागरिकसँगै पोखरा तथा देश–विदेशमा रहेका घिरिङवासीको ज्ञान, सीप, अनुभव, प्रविधि र लगानीलाई जन्मभूमिको विकाससँग जोड्न सके घिरिङको विकासले थप गति लिने उहाँको भनाइ थियो।
स्वास्थ्य क्षेत्रमा सहकार्य निरन्तर रहने : पन्त
विशिष्ट अतिथि ठाकुरप्रसाद पन्तले घिरिङ पोखरा सम्पर्क मञ्च र यूआरएलबीच हुँदै आएको सहकार्यलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताउनुभयो। स्वास्थ्य तथा सामाजिक क्षेत्रमा मञ्चसँग थप सहकार्य गर्न आफूहरू इच्छुक रहेको उल्लेख गर्दै उहाँले मञ्चका सदस्यहरूका लागि स्वास्थ्य परीक्षणमा छुट दिने सम्बन्धमा भएको सम्झौता नवीकरणसमेत गरिएको जानकारी दिनुभयो।
उहाँले सामाजिक संस्थाले आफ्ना सदस्य तथा समुदायको हितमा सञ्चालन गर्ने यस्ता कार्यक्रमले आपसी सहयोग, सद्भाव र मानवीय भावना थप बलियो बनाउने बताउनुभयो।
घिरिङ र पोखराको सम्बन्ध थप प्रगाढ बनाउनुपर्ने
कार्यक्रममा बोल्दै मञ्चका सल्लाहकार तारामाया थापा र सूर्यकुमार श्रेष्ठले सम्पर्क मञ्चले गर्दै आएका सामाजिक तथा मानवीय सेवाका कार्यको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न शुभकामना दिनुभयो।
घिरिङका अगुवा सुमनकुमार श्रेष्ठले घिरिङ र पोखराबीचको सम्बन्ध ऐतिहासिक तथा भावनात्मक रूपमा जोडिएको उल्लेख गर्दै आगामी दिनमा पनि यो सम्बन्ध अझ प्रगाढ र मजबुत बन्दै जाने विश्वास व्यक्त गर्नुभयो। पोखरामा रहे पनि घिरिङप्रतिको माया, अपनत्व र जिम्मेवारीलाई निरन्तर कायम राख्नुपर्ने उहाँको भनाइ थियो।
मञ्चका सल्लाहकार झकवीर थापाले घिरिङ पोखरा सम्पर्क मञ्च स्थापना गर्दाको उद्देश्य र अवस्थाबारे चर्चा गर्दै मञ्चलाई सबै जातजाति, समुदाय तथा वर्गलाई समेट्ने साझा संस्थाका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। विभिन्न जातजातिका आफ्ना–आफ्ना सामाजिक संस्था भए पनि घिरिङबाट पोखरा आएर बसोबास गर्ने सबैलाई साझा रूपमा जोड्ने संस्था सम्पर्क मञ्च आवश्यक रहेको उहाँले बताउनुभयो।
घिरिङ पोखरा नेवा गुठीका उपाध्यक्ष घनश्याम श्रेष्ठले आफूहरू पोखरामा रहे पनि घिरिङप्रतिको माया, अपनत्व र भावनात्मक सम्बन्ध सदैव कायम रहेको बताउनुभयो। घिरिङको विकास र सामाजिक एकताका लागि पोखरामा रहेका घिरिङवासीले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उहाँको भनाइ थियो।
त्यस्तै, नेपाल मगर संघ इकाई गगनगैडाका अध्यक्ष बहादुरसिंह थापाले गाउँबाट पोखरा आएर विभिन्न क्षेत्रमा रहेका घिरिङवासी एकजुट भई संगठित हुन पाउनु खुसीको विषय भएको बताउनुभयो। उहाँले सामाजिक एकता र आपसी सहयोगमार्फत आफ्नो जन्मभूमि घिरिङका लागि योगदान गर्न सकिने धारणा राख्नुभयो।
पर्यटन र स्थानीय सम्भावनाको प्रवर्द्धनमा जोड
कार्यक्रममा घिरिङको विकासका सम्भावनाबारे समेत चर्चा गरिएको थियो। घिरिङ प्राकृतिक सौन्दर्य, ग्रामीण जीवनशैली, मौलिक संस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदा र स्थानीय परम्पराले सम्पन्न क्षेत्रका रूपमा रहेको उल्लेख गर्दै यस्ता सम्भावनालाई संरक्षण र प्रवर्द्धन गर्दै पर्यटनसँग जोड्नुपर्नेमा जोड दिइएको थियो।
घिरिङका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई व्यवस्थित रूपमा प्रचार–प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने र त्यसबाट स्थानीयस्तरमा रोजगारी तथा आर्थिक गतिविधि बढाउन सकिने सम्भावना रहेको बताइएको थियो। स्थानीय कृषि उत्पादन, घरेलु तथा हस्तकलाका सामग्री, मौलिक संस्कृति र ग्रामीण पर्यटनलाई समेत प्रवर्द्धन गर्न सके घिरिङको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने सहभागीहरूको धारणा थियो।
पोखरा तथा अन्य शहरमा रहेका घिरिङवासीले आफ्नो जन्मभूमिको पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा सहकार्य गर्न सके समग्र विकासमा थप योगदान पुग्ने बताइएको थियो। साथै, गाउँको मौलिक संस्कृति र पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो जन्मभूमिसँग जोडिराख्न समेत घिरिङ पोखरा सम्पर्क मञ्चजस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने सहभागीहरूले बताएका थिए।
सामाजिक एकता र जन्मभूमिप्रतिको जिम्मेवारी
घिरिङ पोखरा सम्पर्क मञ्चले विगतदेखि नै घिरिङ र पोखराबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै सामाजिक सेवा, स्वास्थ्य, मानवीय सहयोग तथा आपसी एकताका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
मञ्चले घिरिङमा रहेका नागरिक र पोखरालगायत विभिन्न स्थानमा रहेका घिरिङवासीबीच सहकार्यको वातावरण निर्माण गर्दै जन्मभूमिको विकासमा योगदान पुर्याउने उद्देश्यलाई प्राथमिकतामा राखेको जनाएको छ। आगामी दिनमा शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, कृषि, रोजगारी तथा सामाजिक विकासका क्षेत्रमा समेत योगदान पुर्याउने गरी कार्यक्रमलाई निरन्तरता दिने मञ्चको भनाइ छ।
कार्यक्रमको सञ्चालन सम्पर्क मञ्चका सचिव पूर्णकुमार श्रेष्ठले गर्नुभएको थियो। वार्षिक उत्सवमा संस्थाका पदाधिकारी तथा सदस्यहरूका साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सम्पर्क मञ्चको छैटौँ वार्षिक उत्सवले पोखरामा रहेका घिरिङवासीलाई एउटै साझा मञ्चमा जोड्नुका साथै जन्मभूमि घिरिङको विकास, पहिचान, संस्कृति, पर्यटन र सम्भावनालाई प्रवर्द्धन गर्न सामूहिक रूपमा अघि बढ्ने प्रतिबद्धतालाई थप बलियो बनाएको छ।