06/07/2025
ठोरी गाउँपालिका साक्षर पालिका घोषणा, पर्सा जिल्लामै पहिलो
*******************************************
ठोरी – असार २१
ठोरी गाउँपालिका अब पर्सा जिल्लाकै पहिलो साक्षर पालिका बनेको छ । आज ठोरी–३, शिकारीबासमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीलाई साक्षर पालिका घोषणा गरेका हुन् ।
कार्यक्रमको अध्यक्षता अध्यक्ष श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन प्रसाद साह सोनार र विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहेका थिए ।
नेपाल सरकारले तोकेको १२ वटा साक्षरता सूचकहरूमध्ये कम्तीमा ८ सूचकहरू पूरा गर्न सक्ने १५ देखि ६० वर्ष उमेर समूहका जनसंख्यामध्ये ९८.८६ प्रतिशत व्यक्ति साक्षर रहेको तथ्यांकका आधारमा ठोरीलाई साक्षर पालिका घोषणा गरिएको हो । गाउँपालिकाभित्र रहेका ३,८०९ घरधुरीमा १५,६७८ जना १५–६० वर्ष उमेर समूहका नागरिक छन् । जसमध्ये १५,३२१ जनाले आधारभूत साक्षरताका सूचकहरू पूरा गरेका छन् ।
साक्षरता मूल्यांकनको जिम्मा लिएको आसमान नेपाल संस्थाले ठोरीका पाँचै वडामा घर–घर पुगेर सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणको प्रतिवेदन केही दिनअघि गाउँपालिकामा बुझाइएको थियो । शिक्षा शाखा प्रमुख भूपाल जोशीका अनुसार यही प्रतिवेदनको आधारमा पालिकालाई साक्षर घोषणा गर्न सकिएको हो ।
कार्यक्रममा साक्षरता अभियानमा विशेष भूमिका खेलेका शिक्षा प्रमुख जोशी, प्रतीक दैनिकका सम्पादक गोबिन्द प्रताप श्रेष्ठ, प्रतीककर्मी चिरञ्जीवी सापकोटा, धर्मेन्द्र चौरसिया, गणक समूहका सदस्यहरूलाई सम्मान गरिएको थियो । समारोहमा बोल्दै प्रमुख अतिथि साह सोनारले ठोरीले साक्षर घोषणा गरेर पर्साकै उदाहरणीय पालिकाको रुपमा आफूलाई उभ्याएको बताए । उनले अन्य पालिकाहरूले पनि ठोरीबाट प्रेरणा लिन सक्ने उल्लेख गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, उपाध्यक्ष गोकुली कुमारी रेग्मी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, वडाध्यक्ष अमृतकृष्ण सापकोटा, प्रधानाध्यापक नारायण लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगेन्द्र पौडेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत मन्तव्य शिक्षा प्रमुख जोशीले राखेका थिए भने सञ्चालन चिरञ्जीवी सापकोटाले गरेका थिए । यसै क्रममा आजै शिकारीबासमा जनताआवास कार्यक्रम अन्तर्गत पाँच वटा घरको शिलान्यास, तटबन्ध निर्माणको शिलान्यास, वृक्षारोपण कार्यक्रमको उद्घाटन, नागरिकता वितरण, छात्रछात्रालाई झोला र स्टेसनरी वितरण तथा सुधारिएको चुलो वितरण कार्यक्रम समेत सम्पन्न भयो ।
बिरगंजबाट आएका चिकित्सक टोलीको सहभागितामा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमा विभिन्न रोगका बिरामीहरूको परीक्षण गरी औषधि वितरण गरिएको ठोरी गाउँपालिकाले जनाएको छ । मधेस प्रदेशको सातौं साक्षर पालिका बन्न सफल ठोरी अब पर्सा जिल्लाको पहिलो साक्षर पालिका बनेको छ