14/07/2025
उदयपुरमा ९ करोड लागतको झोलुङ्गे पुलको शिलान्यास, हजारौं स्थानीयवासी लाभान्वित हुने अपेक्षा ।
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं १० स्थित शिवनगर र इक्राहा जोड्ने त्रियुगा खोलामा निर्माण हुने झोलुङ्गे पुलको शिलान्यास गरिएको छ। झण्डै ९ करोड रुपैयाँ लागतमा निर्माण हुने यो झोलुङ्गे पुलले दुई वस्तीबीचको आवागमनमा दीर्घकालीन सहजता ल्याउने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रम संघीय सांसद तथा निवर्तमान परराष्ट्रमन्त्री डा। नारायण खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका निवर्तमान नगर प्रमुख खगेन्द्र राई नगर उपप्रमुख मणिका देवी दुलाल विशेष अतिथिको रूपमा उपस्थिति रहेको थियो। विभिन्न स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
पुल निर्माणपछि त्रियुगा खोलाले वर्षायाममा ल्याउने अवरोध अन्त्य हुने जनाइएको छ। खासगरी विद्यार्थी, कृषक, वृद्धवृद्धा र दैनिक यात्रुहरूलाई सहज हुने विश्वास गरिएको छ। पुलले शिवनगर र इक्राहाबासीको शैक्षिक, स्वास्थ्य, सामाजिक तथा आर्थिक गतिविधिमा ठूलो सहुलियत ल्याउने अनुमान गरिएको छ।
कार्यक्रममा बोल्दै डा। खड्काले “सडक र पुल जस्ता पूर्वाधारले मात्रै विकास सम्भव हुन्छ। यो पुलले दुबै बस्तीलाई जोड्ने मात्र होइन, विकासको गतिलाई पनि जोड्नेछ,” भन्ने धारणा राख्नुभयो।
स्थानीय तहका जनप्रतिनिधिहरूले पनि निर्माणकार्य गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए। पुल निर्माणले भविष्यमा क्षेत्रीय पर्यटन र कृषि उत्पादनको सहज बजार पहुँच समेत विस्तार गर्ने सम्भावना रहेको बताइएको छ।